कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का ७ जिल्लामा संक्रमण पुष्टि

विराटनगर/उदयपुर — प्रदेश १ का आधा जिल्लामा कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिएको छ । प्रदेशका १४ मध्ये ७ वटा जिल्लामा संक्रमण पुष्टि भएको हो । वैशाख ५ गते उदयपुरमा पहिलोपटक संक्रमित भेटिएका थिए ।

प्रदेश १ का ७ जिल्लामा संक्रमण पुष्टि

एक महिना बित्दा ६ जिल्लामा संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशभर संक्रमितको संख्या अब ५९ पुगेको छ ।

उदयपुरपछि झापा, भोजपुर, मोरङ, धनकुटा, खोटाङ र सुनसरीमा संक्रमित पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । सुरूका दिनमा अधिकांश भारत र अरु देशबाट आएकाहरुमा देखिएको संक्रमण केही दिनयता पुष्टि भएकामा स्थानीयमा पनि पाइएको छ ।

विराटनगरका सफाइकर्मी, धनकुटा जिल्ला अस्पतालकी नर्स, उदयपुरका एक सञ्चारकर्मी, सुनसरीका सुरक्षाकर्मीलगायतमा संक्रमण पुष्टि भएको छ । इटहरीका एक स्थानीय युवकमा पनि संक्रमण पाइएको छ ।

पछिल्लो पटक धनकुटाका ५ जनामा संक्रमण पुष्टि भएको छ । दुई दिनअघि जिल्ला अस्पतालकी एक नर्समा संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्कमा रहेकाहरुको स्वाब नमुना परीक्षण गर्दा थप पाँचजनाको पुष्टि भएको हो ।

सम्पर्कमा रहेका भनिएका ८३ जनाको नमुना संकलन गरेर धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएकामा पाँचजनामा संक्रमण पाइएको प्रदेश १ सरकारले जनाएको छ । अरुको रिपोर्ट आउन बाँकी छ । संक्रमित भएकामा ती नर्सको परिवारका एक सदस्य, तीनजना अस्पतालकै स्वास्थ्यकर्र्मी र अर्का एकजना सुरक्षाकर्मी रहेका छन् ।

यसअघि विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार झापाको केचनाका ९ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएका त्यही ठाउँका एक युवकमा सोमबार संक्रमण पुष्टि भएको थियो । उनीसँगै भारतबाट आएका समूहका अरुको स्वाब नमुना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

मंगलबारै सुनसरीका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा दुईजनामा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएकामा इटहरी उपमहानगरपालिका वडा २ का १८ वर्षीय युवक र अर्का एकजना सुरक्षाकर्मी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसअघि सोमबार सुनसरीको गढी गाउँपालिकाका एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी केही दिनअघि भारतको नयाँ दिल्लीबाट आएका थिए ।

प्रदेश १ मा पहिलोपटक उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा वैशाख ५ गते १२ जनामा संक्रमण पुष्टि भएको थियो । उदयपुरमा भेटिएका संक्रमितमध्ये १२ भारतीय, ४ विराटनगर, १ सप्तरी र १५ जना स्थानीय हुन् । तीमध्ये ६ जना महिला छन् ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार पहिलो पटक मस्जिदमा बसेकाहरुमा संक्रमण पाइएपछि त्यससँगैको बस्तीका अरुमा पनि देखिएको थियो ।

प्रदेश सरकारका अनुसार मंगलबारसम्म प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ । उदयपुरका ३३, झापाका १२, धनकुटाका ६, मोरङ ३, सुनसरीका ३, भोजपुर १, खोटाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिँदै आएको छ । त्यहाँ राखिएका २६ जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । पछिल्लो तथ्यांक अनुसार प्रदेश १ मा करिब १३ हजार जनाको परीक्षण गरिएको छ । जसमध्ये करिब ३ हजार २ सयजनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

आरडीटी विधिबाट करिब १० हजारजनाको परीक्षण भएको प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । प्रदेश १ मा तीन ठाउँबाट पीसीआर परीक्षण भइरहेको छ ।

प्रदेश १ का विभिन्न स्थानीय तहमा राखिएका क्वारेन्टाइनमा बस्नेको पछिल्लो संख्या करिब १२ सय छ । साढे ८ हजारभन्दा बढी होम क्वारेन्टाइनमा रहेको जनाइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?