कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमितका परिवारका १४ सदस्य क्‍वारेन्टाइनमा

डिल्लीराम खतिवडा

उदयपुर — कोरोना भाइरस संक्रमित त्रियुगा नगरपालिका–३ भुल्केका प्रभावित परिवारका सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको छ । शनिबार संक्रमण पुष्टि भएका ४ परिवारका १४ सदस्यलाई त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्‍वारेन्टाइनमा राखिएको हो ।

कोरोना संक्रमितका परिवारका १४ सदस्य क्‍वारेन्टाइनमा

उनीहरुलाई सोमबार बेलुका नै क्‍वारेन्टाइनमा लगिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले बताए । ‘घर हेरचाहका लागि परिवारका एक सदस्यलाई घरमै छोडियो’, प्रमुख सुवेदीले भने, ‘परिवारको एक सदस्य घरमा भएपछि उनी पनि होम क्‍वारेन्टाइनमा हुने भयो ।’

संक्रमित भेटिएको स्थानका बासिन्दाको स्वाब पुन: परीक्षण गर्दा थप ४ संक्रमित भेटिएपछि उनीहरुका परिवारका सदस्यलाई क्‍वारेन्टाइनमा राखिएको उनले बताए ।

संक्रमित क्षेत्रका बासिन्दा घरमै बस्दा कोरोना संक्रमण नियन्त्रणमा समस्या भएको भन्दै संक्रमण रोक्न र समुदायमा नफैलियोस भनेर क्वारेन्टाइनमा राख्ने योजना बनाइएको हो । परिवारका सदस्य र उनीहरुबाट अन्य संक्रमण फैलिन नदिन क्वारेन्टाइनमा राखिएको त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका उपसंयोजक अवधनारायण चौधरीले बताए । मोतिगढाको क्‍वारेन्टाइनमा विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएका ५ जना पनि छन् । उनीहरु १४ दिन बसेपछि स्वाब परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आएमा घर पठाइने प्रमुख सुवेदीले बताए ।

भुल्केमा मात्रै कोरोना संक्रमित संख्या ३२ छ । त्यसमध्ये १४ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५ जना मोतिगढामा छन् । अन्यलाई ८ जनालाई विराटनगर रानीस्थित मजरकको क्‍वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?