कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हलेसी क्षेत्रमा अनिकालको संकेत

गत वर्षको धान तथा मकै खडेरी र फौजी किराले सखाप पारेको थियो । अन्न उब्जनी नहुँदा समस्यामा परेका स्थानीयमा लकडाउनले खाद्यसंकट निम्त्याएको छ ।
डम्बरसिं राई

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा गतवर्ष वर्षेबालीमा खडेरी लाग्यो, हिउँदेबालीमा फौजी किरा । अन्न उब्जनी नहुँदा समस्यामा परेका यहाँका बासिन्दामा लकडाउनले थप संकट निम्त्याएको छ । 

हलेसी क्षेत्रमा अनिकालको संकेत

लामो समयसम्मको लकडाउनले नगरक्षेत्रभित्रका मजदुरले काम गर्न पाएका छैनन् । वैदेशिक रोजगार तथा अन्य रोजगारमा संलग्नहरुका परिवारमा पनि समस्या उस्तै छ । पैसा भए पनि किन्ने ठाउँ नभएपछि भोकै बस्नुपर्ने अवस्था आएको हलेसी तुवाचुङ–५ दुर्छिमका खडेन्द्र राईले बताए ।

नगरपालिकाका ५८ सय ३६ घरपरिवारलाई खाद्य संकट भएको नगरप्रमुख इवन राई बताउँछन् । ११ वटा वडा रहेको उक्त नगरपालिकामा गत वर्षको धान तथा मकै खडेरी र फौजी किराले सखाप पारेपछि अनिकाल खेप्नुपरेको राईले सुनाए । ‘प्रदेश र संघीय सरकारलाई पटकपटक समस्या सुनाउँदा पनि सुनुवाइ भएन,’ उनले भने । बिउसमेत नरहेपछि नगरपालिकाले यो वर्ष मकैको बिउ वितरण गरेको छ । उनका अनुसार प्रतिघर ४ केजीको दरले बिउ वितरण गरिएको हो । तर पर्याप्त नभएको स्थानीयको गुनासो छ ।

कतिपय ठाउँमा बिउ उपलब्ध गराउन नसकेर प्रतिकेजी ९० रुपैयाँका दरले ४ केजीको ३ सय ६० रुपैयाँ दिइएको स्थानीयले बताए । उक्त रकम मकैको बिउ खरिद गर्न होइन रक्सी खाएर सकिएको उनीहरुले बताए ।

‘सरकार घरभित्रै बस भन्छ,’ नगरपालिका–६ मंगलटारका अकिलकुमार राई भन्छन्, ‘घरभित्र खाने कुरा छैन । अब पनि सरकारले लकडाउन खोलेन भने समस्या विकराल भएर जानेछ ।’

लकडाउनको बेला नगरपालिकाले आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेको छ । वडा नं २ डिकुवा, वडा नं ५ दुर्छिम, वडा नं ७ हलेसी, वडा नं १० अर्खौले र वडा नै ११ राजापानीलाई डेढ लाख, वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ६ मंगलटार र वडा नं ८ धितुङलाई एक लाख तथा वडा नं ४ बडहरे र वडा नं ९ सल्लेलाई ७५ हजार रुपैयाँका दरले राहत रकम विनियोजन गरिएको हो । उक्त रकमले ३ जनाभन्दा कम परिवार भएकालाई १५ केजीका दरले र ३ जनाभन्दा बढी भएकालाई ३० केजीका दरले चामल उपलब्ध गराइएको थियो । यो राहत पनि सकिएकाले अबको दिन संकटग्रस्त भएको दुर्छिमका खडेन्द्र राईले बताए ।

त्यसो त ६ वर्षअघि नै यो क्षेत्रलाई सुक्खा क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि पम्पिङ प्रविधिको बृहत् खानेपानी योजनाबाहेक अन्य विकासका योजना सञ्चालन नभएको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुभन्ज्याङका अमेम्बर राईले बताए । पम्पिङ प्रविधिको खानेपानी राष्ट्रिय गौरवका आयोजना भए पनि सकिनुपर्ने अवधिमा अपुरै छ । उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख राईले भने आगामी असारसम्ममा सकिनुपर्नेमा लकडाउनका कारण म्याद थप्नुपर्ने अवस्था देखिएको बताए ।

प्रकाशित : वैशाख २१, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?