कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रयोगशालाबाट निस्केपछि होटलमा बस्छन् स्वास्थ्यकर्मी

'कोरोना संक्रमण देखिन थालेपछि व्यस्तता बढेको छ। निजी र पारिवारिक जीवन सकियो, दिनरात ध्यान प्रयोगशालामै हुन्छ।’
जितेन्द्र साह

विराटनगर — विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा चैत २७ देखि पीसीआर परीक्षण सुरु भयो। अस्पतालको प्रयोगशाला र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ८ जनाको संयुक्त टोली कोरोनाका शंकास्पद बिरामीको परीक्षणमा खटिएका छन्। बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर परीक्षण गर्दा हुन सक्ने जोखिम त छँदै छ। यसबाहेक परिवारबाट टाढा रहेर काम गर्नुपरिरहेको छ। उनीहरु काम सकेपछि घर जान पाउँदैनन्। एक सफाइ कर्मचारीसहित ५ जना स्वाब परीक्षणपछि बासका लागि सोझै होटेल पुग्छन्। 

प्रयोगशालाबाट निस्केपछि होटलमा बस्छन् स्वास्थ्यकर्मी

यो टोलीका ३ जनाले प्रशिक्षण, बन्दोबस्ती र रिर्पोटिङसम्बन्धी बाह्य व्यवस्थापन हेर्छन्। अस्पताल संघीय सरकारअन्तर्गत परे पनि परीक्षणदेखि कर्मचारी व्यवस्थापन र आवागमनका लागि वाहनलगायत सम्पूर्ण खर्च प्रदेश १ सरकारले बेहोरिरहेको छ।

‘यहाँबाट सोझै होटेल पुग्छौं। अलगअलग कोठामा सेल्फ–क्वारेन्टाइनमा बस्छौं,’ प्रयोगशालाका वरिष्ठ प्राविधिक निरीक्षक ललित चौधरीले भने। परिवार एवं समाजलाई भयभीत हुन नदिन र पूर्वसावधानीका लागि यस्तो गर्नुपरेको उनको भनाइ छ। श्रीमती र बच्चासँग फोन र म्यासेन्जरमै कुरा हुने गरेको उनले सुनाए।

‘शतप्रतिशत सही रिपोर्ट निकाल्नमा सारा ध्यान केन्द्रित छ,’ प्रयोगशालाका अर्का प्राविधिक निरीक्षक शेखर मिश्रले भने, ‘यति ठूलो जिम्मेवारी छ कि आफ्नोबारेमा सोच्नै सकिन्न ।’

कोरोना संक्रमण देखिन थालेपछि उनीहरुको व्यस्तता बढेको छ। ‘निजी र पारिवारिक जीवन सकियो, बढी समय प्रयोगशालामै बित्छ,’ अस्पतालका निर्देशक जयवेन्द्र यादवले भने, ‘हाम्रो टोलीले अहोरात्र काम गर्नुपर्ने अवस्था छ, कहिले राति १० बजे र कहिले बिहान ५ बजेदेखि काममा लाग्नुपर्छ, संकटको यो घडीमा ड्युटी अवधि निश्चित हुन्न।’

कोसीको प्रयोगशालामा बुधबार बिहानसम्म उदयपुरको भुल्केका ६९ जनासहित २ सय ५३ जनाको स्वाबको परीक्षण भयो। जसमा २१ जनामा कोरोना पोजिटिभ देखियो।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक यादवसहितको यही टोलीले झुल्केमा शनिबार बेलुकी ४ देखि ७ बजेसम्म ३ घन्टा लगाएर मस्जिदमा बस्ने जमातीको सम्पर्कमा आएका स्थानीयको स्वाब संकलन गरेको थियो। तीमध्ये ८ जना यहाँको प्रयोगशालाबाट भएको परीक्षणमा संक्रमित देखिएका थिए। प्रदेश १ मा फेला परेका कुल संक्रमितको संख्या देशभर फेला परेकाको आधा हो। हाल प्रदेश १ मा मात्र संक्रमितको संख्या २४ पुगेको छ।

‘राम्ररी स्वाब संकलन गरिएन भने संक्रमित भए पनि रिपोर्ट नेगेटिभ आउन सक्छ,’ निर्देशक यादवले भने, ‘हाम्रो लक्ष्य संक्रमित पता लगाउने भएकाले परीक्षणमा चाहिने गरी पर्याप्त मात्रामा स्वाबको नमुना संकलन गर्छौं। कति घोचेको र कति भित्र हालेको भन्दै बिरामीले गुनासो पनि गर्छन्। अलिक पीडा महसुस गर्नुपरे पनि सही रिपोर्टका लागि यो जरुरी हो।'

भारतसँगको खुला सीमाका कारण प्रदेश १ संक्रमणको उच्च जोखिममा छ। त्यही भएकाले पनि अन्य ठाउँको तुलनामा प्रदेश १ मा फेला पर्ने संक्रमितको संख्या उच्च भएको हुन सक्ने उनको बुझाइ छ। ‘रिपोर्ट सही आउनुमा नमुनाको उचित संकलन पनि मुख्य हो,’ यादवले भने, ‘परीक्षणपहिलेको अवस्था, परीक्षणको बेला र यन्त्रमा देखिएको डाटाको सही विश्लेषणबाट अन्तिम रिपोर्ट निकालिन्छ।’ वैज्ञानिक विधिअनुरुप नमुना संकलन, परीक्षण र विश्लेषणमा निकै सतर्क हुनुपर्ने उनी बताउँछन्। 'कुनै खाले सन्देह नरहने गरी आफ्नै निगरानीमा दिनरात परीक्षण गरिरहेका हुन्छौं,' उनले भने, 'नमुना संकलन, व्यवस्थापन, वैज्ञानिक छलफल र पुनः परीक्षणपछि मात्र अन्तिम रिपोर्ट आउने हो।'

अमेरिका, युरोप, फ्रान्स र जर्मनीमा पोजिटिभ रिपोर्ट आइसकेपछि पनि कुनै शंका रहन नदिन पुनः परीक्षणका लागि अर्को ल्याबमा पठाउने गरिन्छ।

अस्पतालको परीक्षणमा सुरुमा एकैपटक १२ जनामा पोजिटिभ देखिए पनि थप पुष्टिका लागि नमुना काठमाडौं पठाइएको थियो। दोस्रोपटक ८ जनामा पोजिटिभ देखिएपछि धरान पठाइयो। दुवैपटक अस्पतालको पीसीआर रिपोर्ट सही ठहरियो।

लकडाउन सुरु हुनुअगाडि नै निर्देशक यादवले प्रदेश १ भरिका प्रयोगशालामा कार्यरत ५० जना प्राविधिकलाई स्वाब संकलन, संरक्षण, परीक्षण एवं विश्लेषणसम्बन्धी तालिम दिएका थिए। यसमा परीक्षणपूर्व, परीक्षणको बेला र परीक्षणपछि गर्नुपर्ने कामको बारेमा जानकारी दिइएको उनले बताए। चिसो बाक्समा नमुनालाई कसरी जोगाएर राख्ने र प्रयोगशालासम्म कसरी लाने भन्नेबारे ल्याब टेक्निसियनलाई प्रशिक्षण दिइएको थियो। उनीहरुलाई यसकालागि भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडिया) रसायनमा स्वाब लिन कुशल बनाइएको यादव बताउँछन्।

यादव प्रमुख भएकै बेला एचआईभी/एड्स संक्रमित एवं अन्य जटिल रोगको परीक्षणसमेत हुने गरी डेढ वर्षअघि अस्पतालको प्रयोगशाला परिमार्जन गरिएको थियो। ‘हुन त कोरोना परीक्षणका लागि बायोकेमेस्ट्री सेफ्टी लेभल टु ल्याब चाहिन्छ, त्यो यहाँ छैन तर त्यो बेला यतिको पूर्वाधार बनाउँदा अहिले कम्तीमा परीक्षणमा ठूलो सहयोग पुगिरहेको छ,’ उनले भने,‘यन्त्र छँदै थियो, केन्द्र र प्रदेश सरकारबाट परीक्षणका लागि रसायन जुटेपछि कोभिड–१९ को परीक्षण सुरु गर्न सक्यौं।’

प्रकाशित : वैशाख १०, २०७७ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?