विपन्नको स्वास्थ्य जाँच गराउँदै युवा

माधव घिमिरे

विराटनगर — दैनिक ज्यालादारीबाट निर्वाह गर्दै आएका विपन्न समुदायलाई खाना खुवाउँदै आएको युवा समूहले उनीहरूको स्वास्थ्य जाँचसमेत गराएको छ । सडकमै बसिरहँदा संक्रमण र अरू स्वास्थ्य समस्या हुन सक्ने भन्दै जाँच गरिएको हो ।

विपन्नको स्वास्थ्य जाँच गराउँदै युवा

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको सहयोगमा उनीहरूको स्वास्थ्य जाँच गरिएको हो । समूहका अगुवा पेरिस सुवेदीका अनुसार मागेर गुजारा गर्ने, मजदुरी गर्ने र सडकआसपास बस्दै आएका १ सय ५९ जनाको स्वास्थ्य जाँचिएको छ । स्थानीय अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले यसमा सहयोग गरेका थिए ।

उनीहरूलाई खाना पनि खुवाइएको थियो । सुरक्षित रहन मास्क दिइएको सुवेदीले बताए । १० दिनअघि सुरु भएको विपन्नलाई खाना खुवाउने कार्यक्रम अझै निरन्तर छ । बिहीबार बिहानसम्म गरी १ हजार २ सय ५ जनालाई उक्त समूहले खाना खुवाएको छ ।


लकडाउनका बेला काम गर्न नपाएकाहरू भोकभोकै परेको देखेपछि समूहले दाताहरूबाट प्राप्त सहयोगले विपन्न वर्गलाई खाना खुवाइरहेको छ । उनीहरूले खास गरी दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरूलाई बसिरहेकै ठाउँमा पुगेर खाना दिने गरेका हुन् ।


विराटनगर महानगरका विभिन्न वडा, बसपार्क क्षेत्र, कलेज रोड, हाटखोला, कोसी अस्पताल आसपास, गुदरी बजार, हनुमान मन्दिर, कोसी राजमार्ग आसपास बसिरहेका विपन्नलाई खाना खुवाइएको सुवेदीले बताए ।


सुवेदीको समूहमा स्वयंसेवी युवाहरू आभा अनुपमा, रञ्जित अग्रवाल, मोहम्मद जियाउद्दिन, मोहम्मद नसिम, मोहम्मद जाइज, सरफराज खानलगायत छन् । उनीहरुले महानगर र आसपासका १२ वटा मुसहर बस्ती, १४ वटा सुकुम्बासी बस्ती, वृद्धाश्रम, मानव सेवा आश्रममा बसिरहेकाहरूलाई पनि सहयोग दिएका छन् ।


बिरामी र कुरुवालाई खाना

विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी, तिनका आफन्त र कुरुवालाई खाना सहयोग गरिएको छ । प्रदेश १ की सांसद बिन्दिया कार्कीको अगुवाइमा विभिन्न संस्थाले खाना खुवाएका हुन् ।


कोरोना संक्रमणको जोखिमका कारण देश लकडाउनमा गएपछि अस्पतालमा अन्य रोगको उपचारका लागि भर्ना भएका बिरामी र कुरुवासमेत समस्यामा परेकाले खाना खुवाइएको हो ।


अस्पतालको क्यान्टिनले बिरामीबाहेकलाई माग भएजति खाना खुवाउन नसक्ने अवस्था आएपछि खाना खुवाउन थालिएको सांसद कार्कीले बताइन् । पहिलो दिन दुई सय जनालाई खाना खुवाइएको थियो । लकडाउन पालना गराउन विराटनगरमा खटिने सुरक्षाकर्मीका लागि पनि खाना खुवाउने तयारी भइरहेको जनाइएको छ । खाना खुवाउने अभियानमा तरुण दल विराटनगरलगायत संस्थाको सहभागिता छ ।

प्रकाशित : चैत्र २७, २०७६ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?