कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा २ सय ३७ को प्रारम्भिक जाँच

आइसोलेसनमा रहेका १२ मध्ये ११ डिस्चार्ज। आफैं पुगेर ४१ जनाले परीक्षणका लागि नमुना दिए
माधव घिमिरे

विराटनगर — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामीको स्वाब नमुना परीक्षणबाट हालसम्म कसैलाई पनि संक्रमण नभएको पाइएको छ।

बीपी प्रतिष्ठानमा २ सय ३७ को प्रारम्भिक जाँच

प्रतिष्ठानमा प्रदेश १ का विभिन्न जिल्लाका शंकास्पद बिरामीको स्वाब नमुना परीक्षणका लागि लैजाने गरिएको छ। कतिपय बिरामी आफैं प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबमा पुगेर नमुना परीक्षणका लागि दिने गरेका छन्।


प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद १२ जना बिरामीमध्ये ११ जना उपचारपछि डिस्चार्ज भएका छन्। एक जनाको उपचार भइरहेको छ। भर्ना भएका कसैमा पनि संक्रमण नदेखिएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा हालसम्म २ सय ३७ जनाको प्रारम्भिक जाँच गरिएको छ। तीमध्ये १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। अरुलाई जाँचपछि सामान्य अवस्था रहेको भन्दै घरमै क्वारेन्टाइनमा बस्न पठाइएको छ।


प्रतिष्ठानमै पुगेका ४१ जनाको स्वाब नमुना संकलन गरी परीक्षण गरिएको छ। तीमध्ये २६ जनामा संक्रमण पाइएको छैन। १५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रतिष्ठानको कोभिड हेल्थ डेस्कले जनाएको छ।


यसैगरी प्रदेशका विभिन्न जिल्लाबाट नमुना संकलन गरी ८३ जनाको स्वाब ल्याइएकामा ६५ जनाको परीक्षण रिपोर्ट आइसकेको छ। ती सबैमा संक्रमण नदेखिएको प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले जनाएको छ। बाँकी १८ जनाको रिपोर्ट आइसकेको छैन।


अघिल्लो आइतबारदेखि प्रतिष्ठानमा कोरोना संक्रमण भए, नभएको परीक्षण गर्न थालिएको हो। प्रदेशका विभिन्न जिल्लामा रहेका अस्पताल र अन्य स्थानमा गरी ४ सय ३८ आइसोलेसन शय्या छन्।


४ हजार ३७ वटा शय्या रहेको क्वारेन्टाइन तयारी अवस्थामा छ। हालसम्म ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको छ। भारतलगायत मुलुकबाट आएका झन्डै तीन हजार जना होम क्वारेन्टाइनमा बसिरहेको जनाइएको छ। प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भावित संक्रमितलाई राखेर उपचार गर्नका लागि आइसीयूसहितको ४४ वटा शय्या तयार छ।


मन्त्रिपरिषद् कार्यालयका अनुसार संघीय सरकारबाट प्रदेश १ का लागि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री ५ सय ५३ वटा आएको छ। आईआर थर्मोमिटर २७ वटा, मास्क ४२ हजार १ सय, एक्जामिनेसन ग्लोब्स ८० हजार ५ सय आएको छ।


यसैगरी ह्यान्ड सेनिटाइजर २ हजार १ सय ३९, पीपीई गाउन १ हजार ८ सय ९६, नेबुलाइजन ४०, सर्जिकल ग्लोब्स ८ सय, एन ९५ मास्क ४ सय ८० वटा आएको जनाइएको छ। ती सामग्री विभिन्न जिल्लाका स्वास्थ्यकर्मीहरुका लागि पठाइएको प्रदेश सरकारले जनाएको छ।

प्रकाशित : चैत्र २६, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?