सूर्यबहादुर थापा प्रतिष्ठानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
धनकुटा — सूर्यबहादुर थापा प्रतिष्ठानले कोरोना भाइरस नियन्त्रणका लागि धनकुटाका विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानबाट औद्योगिकग्राममा रहेको आइसोलेसन तथा क्वारेन्टाइन, जिल्ला अस्पताल सहित जिल्लाका ११ स्वास्थ्य संस्थाका लागि ७४ थान पीपीई, एम्बुलेन्स चालकका लागि २२ सेट पञ्जा, सेनिटाईजर, साबुन, मास्क लगायतका सामाग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले जानकारी दिए ।
सामाग्री प्रतिष्ठानका निर्देशक मदन घिमिरेले प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीलाई हस्तान्तरण गरेका थिए । विपत् व्यवस्थापन समितिमार्फत सामग्री सम्बन्धित संस्थामा वितरण गरिने प्रजिअ विमलीले बताए ।
यसैगरी, प्रतिष्ठानका अध्यक्ष थापा र नेपाल उद्योग वाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य संघलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको नाममा खोलिएको प्रतिष्ठानले वितरित सामग्री हेलिकप्टरबाट ढुवानी गरि धनकुटा पुर्याइएको थियो ।
प्रकाशित : चैत्र २५, २०७६ १९:०६