कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनको असर : बगानमै हुर्कियो 'फस्टफ्लस'

चैत पहिलो सातादेखि चियापत्ती टिपाइ सुरु हुने भए पनि लकडाउनका कारण कृषक र कारखाना समस्यामा परेका छन्।
विप्लव भट्टराई

इलाम — चियापत्ती उत्पादनको पहिलो सिजनमा नै लकडाउनको सामना गर्नुपरेपछि गुणस्तरीय उत्पादन ‘फस्टफ्लस’ बगानमा नै हुर्किएको छ। चैतको पहिलो सातादेखि चियापत्ती टिपाइ सुरु हुने भए पनि लकडाउनले कृषक र कारखाना समस्यामा परेका छन्।

लकडाउनको असर : बगानमै हुर्कियो 'फस्टफ्लस'

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार वार्षिक साढे ४ अर्ब वैदेशिक मुद्रा भित्र्याउने नेपालको चिया क्षेत्रको सुरुवाती यो अवस्थाले राज्यलाई समेत गम्भीर नोक्सानी हुने देखिएको छ।


प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चैत्र १९ गते नै चिया टिप्न, संकलन गर्न, प्रशोधन गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग सहकार्य गर्न पत्राचार गरेको थियो। सम्बन्धित स्थानीय तहलाई चिया टिप्न, संकलन, ढुवानी, प्रशोधन र उद्योग सञ्चालनका लागि मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमनसमेत गर्न मन्त्रालयले भनेको थियो।


सोहीबमोजिम जिल्लामा धेरै अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकाले आवश्यक सुरक्षाका उपायसहित १८ बुँदे मापदण्ड बनाउँदै चिया टिप्न र प्रशोधनका लागि वातावरण सहज बनाउने प्रयास गरेको छ। तर उद्योगीहरुले यो विषम परिस्थितिमा प्रशोधन गर्न नसकिने जनाएका छन्।


सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनमा आबद्ध उद्योगहरुले विश्व स्वास्थ्य संगठनले माहामारी फैलन नदिन जारी गरेको निर्देशन तथा नेपाल सरकारले लकडाउन जारी गरेको अवस्थामा सुरक्षाकै कारण कारखाना सञ्चालन गर्न नसकिने जनाएका हुन्। ‘चिया टिपाइमा दुरी कायम गरेर जोगिन सकिए पनि ढुवानी र प्रशोधनमा त्यो अवस्था रहँदैन,’ एसोसिएसनमा सचिव गोपाल कट्टेलले भने, ‘चहलपहल बढी हुने र उद्योगमा ठूलो संख्यामा श्रमिकले काम गर्नुपर्ने भएकाले पनि भरपर्दो सुरक्षाको प्रबन्ध नभएसम्म प्रशोधन गर्न कठिन छ।’


यता स्थानीय तहले भने तत्कालीन समस्या समाधान गर्न उद्योग सञ्चालन गर्नमा जोड दिएका छन्। ‘आवश्यकता र समस्यालाई हेरेर नै चिया उद्योग सञ्चालन गर्नुपर्ने अवस्था छ,’ जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले भने, ‘सुरक्षाका उपाय अपनाएर उद्योग सञ्चालनको वातावरण बनाउनुपर्छ।’


थलिए कृषक श्रमिक र उद्योगी


चियाको मुना टिप्ने सुरुवाती सिजनमा लम्बिँदै गएको लकडाउनका कारण चिया क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको छ। चिया उत्पादन हुने अधिकांश क्षेत्रमा चियाका मुना टिप्न लायक भइसकेका छन्। तर कारखाना बन्द भएका कारण कृषकले लहलह मुना हेरेर भोको पेट बस्नुपर्ने अवस्था आएको हो।


चियाको पहिलो टिपाइ (फस्टफ्लस) गुणस्तरको हिसावले अब्बल मानिन्छ। यति बेलाको उत्पादनले कतिपय कारखानाले पश्चिमा बजारमा पहुँचसमेत बनाउने गरेका थिए। भारत तथा पश्चिमा बजारमा तयारी चिया निर्यात गर्ने कारखानाको हालत पनि दयनीय छ। पश्चिमा र भारतीय व्यापारीहरु यति बेला पहाडी क्षेत्रका बगान चहार्दै भेटिन्थे। उनीहरुले आफूले वर्षभरि बिक्री गर्ने चिया यही बेला अर्डर गर्ने अभ्यास थियो। तर कोरोना महामारीकै कारण यी सबै प्रक्रिया ठप्प छन्। इलामसहित देशभरका डेढ सय हाराहारीका चिया कारखाना बन्द छन्।


‘चियामा निर्भर अन्तु, कन्यामलगायत क्षेत्रका कृषकलाई यो अवस्था लम्बिए ठूलो समस्या हुन्छ,’ अन्तुका कमल घिमिरेले भने। इलामको सूर्योदय नगरपालिका, इलाम नगरपालिका, रोङलगायत क्षेत्रमा चियाको व्यावसायिक उत्पादन गर्ने कृषक धेरै छन्। ‘अरु खेतीबाली जस्तो चिया उत्पादन उठाएर बजार पर्खिने खेती होइन,’ साँखेजुङका गायत्री बस्नेत भन्छन्, ‘कम्तीमा सुरक्षाका सबै उपाय अपनाएर चिया टिप्ने अनि कारखानामा प्रशोधन गर्नेसम्मको व्यवस्था तत्काल मिलाउनुपर्छ।’ एकपटक मुना हुर्किएर गए बुटालाई पनि लामो समयसम्म असर पुर्‍याउने प्राविधिकहरुको भनाइ छ। ठिक समयमा चिया नटिप्दा लामो बाँझी बस्ने र बाँझीपछि पर्याप्त मुना पलाउँदैन।

इलाममा मात्र अर्थोडक्स चियामा आश्रित कृषक मात्र २० हजार छन्। झापा, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, ललितपुर, संखुवासभभा, उदयपुरलगायत जिल्लामा पनि चियाखेती विस्तार हुँदै गएकाले कृषकको संख्या थपिँदो छ।

दूध, सागसब्जी लगायतलाई प्रशासनले पनि ओसारपसार र बिक्रीमा छुट दिएको छ। ‘वैदेशिक मुद्रा आर्जनमा राज्यको अब्बल सूचीमा रहेसँगै कृषक, श्रमिक र उद्योगीको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको चियालाई विषम अवस्थामा नराम्ररी थला पारेको छ,’ आफै उद्योगसमेत सञ्चालन गर्दै आएका बस्नेत भन्छन्, ‘यो अवस्थामा राज्य र सरोकारवाला निकायले हेलचेक्रयाइँ गर्न हुँदैन।'


केही वर्षअघिसम्म ठूला कारखानामा मात्र चियापत्ती बिक्री गर्दै आएका कृषक पछिल्लो समय आफै मालिक बन्ने होडमा छन्। वित्तीय संस्थाबाट कर्जा लिएर उनीहरुले कारखाना सञ्चालन गरेका हुन्। उनीहरुको बैंकलाई नियमित किस्ता बुझाउने एक मात्र माध्यम चिया नै हो। कात्तिकदेखि चियाको मुना पलाउने मिति कुरेर बसेका उनीहरु यही समयमा भएको लकडाउनले नराम्रोसँग थलिएका हुन्।


केन्द्रिय चिया सहकारी संघमा आबद्ध साढे ८ हजार कृषक छन्। सहकारीमा इलाममा १३, झापामा ५, पाँचथरमा ३, धनकुटा, तेह्रथुम, संखुवासभामा २/२ र उदयपुरमा एउटा चिया प्रशोधन कारखाना छन्। यीबाहेक व्यक्तिगत लगानीका सानाठूला चिया कारखाना छन्।


चियामा लगानी भएको ठूलो धनराशी र कृषक र श्रमिकको दैनिक ज्यालादारी कायम गर्नका लागि सुरक्षाका सबै उपाय अवलम्बन गर्दै सहज बनाउनुपर्ने आवश्यकता रहेको संघका सचिव रविन राई बताउँछन्। ‘त्यसै पनि अनिश्चित बजारका कारण चिया क्षेत्र अन्योलमा नै छ,’ उनले थपे, ‘यो अकल्पनीय अवस्था आउँदा सम्बन्धित सबैलाई के गर्ने के नगर्ने भन्ने चिन्ता थपिएको छ।’


नेपाल चिया विकास निगमअन्तर्गत इलाम र झापामा ७ वटा ठूला चिया बगान छन्। ती यतिबेला बन्द छन्। निगमसहित इलामका अन्य निजी बगान र कारखानामा गरी ५ सयजति नियमित श्रमिक रहेको कन्यामका चिया श्रमिक अगुवा उमेश रेग्मीले जानकारी दिए। उनले भने, ‘एकातिर उद्योगीसँग सेवा सुविधाका लागि सधै तनाव खेप्नुपरेको तिक्तता बोकेका मजदुर फेरि कोरोना बाहनामा रोजीरोटी नपाइने हो कि भन्ने चिन्तामा छन्।'


यो हिउँदमा पर्याप्त वर्षा भएका कारण चियामा नियमित समयमा नै मुना पलाइसकेको छ। इलामसहित मूलुकभरमा वार्षिक ५५ लाख किलो तयारी अर्थोडक्स चिया उत्पादन हुने चिया तथा कफी विकास बोर्डको तथ्यांक छ। यसमा ग्रिन टी, ब्ल्याक टी, वाइटी, ओलाङ टी लगायतका दर्जन बढी प्रकार तयार हुन्छन्। नेपालमा उत्पादित अर्थोडक्स चियामध्ये १० प्रतिशत आन्तरिक बजारमा खपत हुन्छ। ८० प्रतिशत भारतीय बजार र बाँकी १० प्रतिशत पश्चिमा बजारमा निर्यात हुने गर्छ।

प्रकाशित : चैत्र २३, २०७६ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?