कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानी नागरिक स्वास्थ्य परीक्षणपछि क्वारेन्टाइनमा

माधव घिमिरे

विराटनगर — सुनसरीका मस्जिदमा केही समययता पाकिस्तानी र भारतीय नागरिक बस्दै आएको पाइएपछि प्रहरीले उनीहरूलाई स्वास्थ्य जाँच गराएर सुरक्षित बस्न भनेको छ ।
सुनसरीको पकलीमा शनिबार सात पाकिस्तानी बसिरहेको जानकारी पाएपछि उनीहरूको स्वास्थ्य परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

इलाका प्रहरी कार्यालय, इटहरीका नायब उपरीक्षक (डीएसपी) धर्म भण्डारीका अनुसार उनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा डेढ महिनाभन्दा अघि आएको पाइएको छ । स्वास्थ्य अवस्था ठिक रहेको पाइएको उल्लेख गर्दै भण्डारीले उनीहरूलाई सुरक्षित भएर बस्न भनिएको बताए ।


यसै गरी हरिनगर गाउँपालिकास्थित जामिया मस्जिदमा भारतको मुम्बईका १४ जना नागरिक भेटिएका छन् । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य पाइएपछि प्रहरीले सुरक्षित भएर मस्जिदमै बस्न भनेको छ ।


सुनसरीका विभिन्न गाउँमा मुस्लिम समुदायको बाक्लो बसोबास छ । ती स्थानमा मस्जिद र मदरसा पनि छन् । कतिपय भारतीय र पाकिस्तानी नागरिक ती स्थानमा आएर बसेको भन्ने स्थानीय बासिन्दाको सूचनाका आधारमा प्रहरीले सोधखोज गरी स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा बस्न लगाउने गरेको छ ।


केही स्थानीयले भारतको नयाँ दिल्लीमा हालै भएको मुस्लिम समुदायको भेलाका सहभागीहरू पनि रहेको आशंका गर्दै प्रहरीमा सूचना दिएका छन् । त्यसका आधारमा प्रहरीले निगरानी गरिरहेको जनाएको छ ।

प्रकाशित : चैत्र २३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?