कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लकडाउनले युरिया मल अभाव

देवनारायण साह

मोरङ — लकडाउनका कारण कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले मल वितरण नगर्दा युरिया मल अभाव भएको छ । किसानलाई अहिले मकै, तरकारी र चैते धानबालीको लागि युरिया मलको हाहाकार भएको हो ।

लकडाउनले युरिया मल अभाव

मोरङको जहदा गाउँपालिका—२ भाथिगछका किसान राजेन्द्र साहले यस वर्ष पाँच बिघामा मकै खेती गरेका छन् । उनले लगाएको मकै बाली राम्रो फस्टाएको तर अहिले घोगा लाग्ने समयमा युरिया मल हाल्न नपाएको बताए । ‘यतिबेला मकैमा युरिया मल नहाल्दा उत्पादन घट्छ,’ उनले भने, ‘उत्पादन घट्दा लगानी खेर जाने भएकाले स्थानीय प्रशासनले मलको व्यवस्था गरिदिनु पर्छ ।’


कटहरी—४ का कोपिन्द्र सिंहले पनि चार बिघामा मकै खेती गरेको तर अहिले युरिया मल नपाएको बताए । ‘कृषि सामग्री संस्थान विराटनगरले लोड गर्न नमानेकाले किसानलाई युरिया मलको अभाव भएको छ,’ उनले भने, ‘अहिले तरकारी बालीका साथै चैते धान खेतीका लागि पनि युरिया मल आवश्यक छ ।’


कृषि ज्ञान केन्द्र मोरङ इकाइका प्रमुख रामदेव सिंहले गतवर्ष मोरङमा ५ हजार १ सय ५० हेक्टरमा मकै खेती गरिएको तर चालु आर्थिक वर्षमा पकेट क्षेत्र विस्तार गरेर १० हजार हेक्टर पुर्‍याउने लक्ष्य रहेको बताए ।


साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले आफूहरुले अहिले दैनिक नुन वितरण गरिरहेकाले युरिया मल वितरण गर्न समस्या भएको बताए ।


‘अहिले स्थानीय तह, संघ, संस्था, डिलरहरुबाट दैनिक नुनको माग अत्यधिक आउने गरेकाले त्यही वितरण गर्दैमा समय बित्ने गरेको छ,’ उनले भने । सोनापुर गोदाममा अहिले युरिया मल ३ लाख २३ हजार १ सय ४३ बोरा रहेपनि लकडाउनले वितरण गर्न नसकेको उनले बताए ।


कृषि सामग्री संस्था लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख राजेन्द्रबहादुर कार्कीले लक डाउन अघिसम्म युरिया मल सहकारीहरुलाई वितरण गरेको तर त्यसपछि मन्त्रालयबाटै वितरणमा रोक लगाएको बताए ।


‘लकडाउनको समयमा २५ जनाभन्दा बढी भेला हुन सरकारले प्रतिबन्ध लगाएकाले मल वितरण गर्न समस्या भएको हो,’ उनले भने, ‘मलवितरणका लागि गाडीमा लोड गर्न २५/३० जना कामदार, चालक, सहकारीका प्रतिनिधि र कर्मचारीहरु भेला हुँदा ५० जनाभन्दा बढी एकै ठाउँ भेला हुनुपर्ने भएकाले पनि समस्या भएको छ ।’


कार्कीका अनुसार युरिया मल १ हजार ४ सय मेट्रिक टन र डीएपी २ हजार ५ सय मेट्रिक टन गोदाममा छ । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मन्त्रालयले नै वितरण नगर्न निर्देशन दिएको बताए । उनले किसानलाई युरिया मल अभाव रहेको पाइए वितरणको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

प्रकाशित : चैत्र २०, २०७६ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?