कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत कोषमा फुङलिङ नगरपालिकाको २८ लाख

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिकाले कोरोना भाइरस रोकथाम, उपचार तथा राहत कोषमा २८ लाख रुपैयाँ जम्मा गरेको छ । नगरपालिकाकाको तर्फबाट २० र नगरपालिकाका सबै जनप्रतिनिधिको एक महिनाको सेवा सुविधावापतको ८ लाख रुपैयाँ गरी उक्त रकम जम्मा गरिएको हो ।

नगरप्रमुख छत्रपति प्याकुरेलका अनुसार कोषको रकमबाट पहिलो चरणमा विपन्नहरुका लागि खाद्यान्न वितरण गरिनेछ । त्यसका लागि तथ्यांक संकलनको काम वडाध्यक्ष र सदस्यहरुले गरिरहेका छन् । रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्ति तथा परिवारलाई दैनिक उपभोग्य वस्तु उपलब्ध गराइनेछ । चार जनासम्मको परिवारका लागि चामल १५ केजी, दाल दुई केजी, तेल एक लिटर र नुन एक केजी दिइनेछ । चार जनाभन्दा बढी सदस्य भएका परिवारलाई चामल २५ केजी, दाल तीन केजी, तेल दुई लिटर र नुन दुई केजी उपलब्ध गराइनेछ । चैत २० देखि वितरण गरिने यो राहत प्याकेज चैत २५ सम्म बाँडिने नगरपालिकाले जनाएको छ ।


नगरपालिकाले इच्छुकले यो कोषमा सहयोग गर्न सक्ने पनि स्पष्ट पारेको छ । नगर क्षेत्रभित्र स्थापना गरिएका क्वारेन्टाइनमा आवश्यक सामग्री र खाद्यान्नको व्यवस्थापन मिलाएको नगर प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । नगर क्षेत्रभित्र ३५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । उद्योग वाणिज्य संघको भवनको दोश्रो र तेश्रो तलामा क्वारेन्टाइन स्थापना गरिएको छ । सो भवन अपुग भए सदरमुकामस्थित नेपाल रेडक्रस सोसाइटीको भवन र पाथीभरा क्षेत्र विकास समितिको सुकेटारको भवन प्रयोगमा ल्याइने बताइएको छ ।


काफ्लेले कोषमा जम्मा गरे ५ लाख

पाँचथर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा कांग्रेस पाँचथरका उपसभापति मित्रप्रसाद काफ्लेले कोरोना भाइरस रोकथाम कोषमा पाँच लाख एक हजार रुपैयाँ जम्मा गरेका छन् ।


काफ्लेले कोषमा जम्मा गरेको रकमको भौचर प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मालाई बुझाएका हुन् । भौचर बुझाउन उनी छोरा राजनसँगै प्रशासन कार्यालय पुगेका थिए । ‘हाम्रो सहयोगले भाइरसको संक्रमण रोकथाममा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य राखेको छु,’ उनले भने । महामारीको बेला सरकारलाई सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको उनले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?