कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विपन्‍नलाई राहत दिँदै स्थानीय तहहरू

माधव घिमिरे

विराटनगर — कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधि बढाइएसँगै विपन्न वर्ग र दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । उनीहरुलाई लक्षित गरी प्रदेश १ का कतिपय स्थानीय तहहरुले राहत सामग्री वितरण गर्न सुरु गरेका छन् ।

विपन्‍नलाई राहत दिँदै स्थानीय तहहरू

मोरङ, उदयपुर, झापा, सुनसरी, इलामलगायत जिल्लामा यसरी विपन्नका लागि राहत सामग्री वितरण गर्न थालिएको हो । इलाम नगरपालिकाले राहत वितरण सहज बनाउन ऐनले दिएको अधिकार प्रयोग गर्दै ‘इलाम नगरपालिका, स्थानीय तह आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।


आपूर्ति सहज बनाइने

कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको अवधि बढाइएसँगै इलाममा उपभोग्य सामग्री आपूर्ति व्यवस्थित रुपले अघि बढाउने प्रयास थालिएको छ । लक डाउन चैत २५ गतेसम्मका लागि थप गरिएको छ । यसले गर्दा उपभोग्य सामग्री अभाव हुन सक्ने भन्दै यस्तो गरिएको हो ।


इलाम नगरपालिका र उद्योग वाणिज्य संघ इलामबीच आपूर्ति व्यवस्थापनलाई सहज बनाउने निर्णय भएअनुसार छिमेकी जिल्लाका सरोकारवाला संस्थाबीच समन्वय गरी काम भइरहेको छ । खाद्यान्न आपूर्ति व्यवस्थालाई सहज बनाउन इलाम उद्योग वाणिज्य संघले झापा उद्योग वाणिज्य संघलगायत अरु संस्थासँग समन्वय गर्ने निर्णय भएको जनाइएको छ ।


इलाम नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम ‘इलाम नगरपालिका, स्थानीय तह आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७६’ स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


रोजगारको अभावमा गुजारा चलाउन नसक्ने असंगठित क्षेत्रका मजदुर तथा व्यक्तिहरुलाई राहत प्याकेज उपलध गराउनका लागि वडा कार्यालयमार्फत लगत संकलन भइरहेको नगरपालिकाले जनाएको छ । यसका लागि वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधि सक्रिय भएको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताए ।


विपन्नलाई राहत

उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका विपन्न र दैनिक ज्यालादारी गरेर खाने मजदुरहरुलाई राहत वितरण सुरु गरेको छ । नगरका १४ वटा वडाका विपन्न र मजदुरका लागि खाद्यान्नलगायत सामग्री वितरण गरिएको हो । मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार वडाहरुले संकलन गरेको तथ्यांकका आधारमा राहत सामग्री वितरण भइरहेको छ ।


प्रदेश १ को राजधानी रहेको विराटनगर महानगरपालिकाले पनि विभिन्न वडाका विपन्न वर्गलाई राहत वितरण गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि राहत कोष स्थापना गरिएको छ । समस्यामा परेका नगरक्षेत्रका अति विपन्न, गरिब, सुकुम्बासी परिवारलाई प्राथमिकता दिएर सहयोग कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।


महानगरको विपद् व्यवस्थापन कोषका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानका अनुसार समस्यामा परेका समुदायको वडा कार्यालय, जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा तथ्यांक संकलन गर्ने काम भइरहेको छ । खाद्य संस्थानबाट १५ सय क्वीन्टल चामल खरिदका लागि प्रक्रिया अघि बढाइएको तर संस्थानबाट स्वीकृति आउन बाँकी रहेको उनले बताए ।


उता, सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन विदेशबाट फर्केर आएकाहरुको तथ्यांक संकलन गरिरहेको छ । कतिपय गाउँमा आएकाबारे जानकारी हुन नसक्ने भन्दै गाउँपालिकाले विदेशबाट आएका व्यक्तिबारे जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार दिने घोषण गरेको छ ।


मोरङमा पनि विदेशबाट फर्कनेहरुको खोजी भइरहेको छ । यसक्रममा चैतयता विदेशमा रहेका ८ सयभन्दा बढी आएको पाइएको छ । उनीहरुमध्ये ८५ जनालाई सम्बन्धित स्थानीय निकायले टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइन र केहीलाई आफैले स्थापना गरेको क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेका छन् ।


यसैबीच, इलाममका समाजसेवी डम्बर खड्काले मजदुर र विपन्न वर्गलाई २० हजार किलो चामल र अरु राहत सामग्री वितरण गर्ने घोषणा गर्दै सहयोग हस्तान्तरण गर्न थालेका छन् । स्थानीय तहका जनप्रतिनिधिमार्फत् सहयोग हस्तान्तरण भइरहेको छ । विभिन्न स्थानका बासिन्दालाई सुरक्षित रहनका लागि मास्क पनि वितरण भइरहेको छ । यसका लागि २० हजारवटा मास्क तयारी अवस्थामा राखिएको खड्काले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?