कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना प्रकोप : विषादी छिट्दा पिठ्यूँ जल्यो, उपचार पाएनन्

पर्वत पोर्तेल

काँकडभिट्टा — कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि कीटाणुनाशक रसायन छिट्ने क्रममा मेचीनगर–६ सुनखरी टोलका १५ वर्षीय अभिनाश सुवेदी घाइते भएका छन् । ट्यांकीबाट विषादी चुहिएर उनको पिठ्यूँको अधिकांश भाग जलेको हो । ‘चुहिने ट्यांकी रहेछ थाहै पाइएन,’ उनले भने, ‘विषादीले पिठ्यूँ त पुरै डढेछ ।’ 

कोरोना प्रकोप : विषादी छिट्दा पिठ्यूँ जल्यो, उपचार पाएनन्

मेचीनगर नगरपालिकाले १५ वटै वडाका टोल–टोलमा डिसइन्फेक्टेन्ट (ब्लिचिङ पाउडर’को घोल छिट्ने काम सुरु गरेको छ । त्यही क्रममा अभिनाश घाइते भएका हुन् । टोल विकास समितिले उनलाई विषादी छिट्न प्रयोग गरेको थियो । पारिश्रमिक दिने भनेर काम लगाए पनि हालसम्म पैसा नपाएको हजुरबुवा कृष्णप्रसाद सुवेदीले जनाए । ‘ज्याला त दिएनन्, बाबुको अवस्था बुझ्न पनि कोही आएका छैनन्,’ सुवेदीले गुनासो पोखे । अभिनाश स्थानीय काँकडभिट्टा माविमा कक्षा ९ मा पढ्छन् ।


विषादी छिट्नेका लागि ज्यालाका लागि मेचीनगरको कोरोना विपद् व्यवस्थापन कोषमार्फत ३० हजार रकम उपलव्ध गराइएको छ । जसमा वडा नम्वर ६ का वडाध्यक्ष ललित तामाङले १० हजार र वडा सदस्य देवी सुवेदीले २० हजार रकम बुझेको विपद व्यवस्थापन समितिका संयोजक टिकाराम मंग्रातीले जानकारी दिए । ‘विषादी छिट्ने श्रमिकको ज्यालालगायत अन्य कामका लागि उक्त रकम उपलव्ध गराइएको हो,’ मंग्रातीले भने ।


वडा कार्यालयले विषादी छिट्न खटाएका अर्का स्थानीय दिलिप मल्लिकले पनि ज्याला नपाएको बताएका छन् । केही टोल विकास समितिका प्रतिनिधिहरुले भने सम्बन्धित घरधनीले नै विषादी छिट्नु पर्ने भन्दै एक/एक मुठी ब्लिचिङ पाउडर बाँडेको पाइएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?