कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चौदण्डीगढीमा क्वारेन्टाइन र पिपिईको व्यवस्था

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिकाले कोभिड–१९ महामारीको सम्भावित संक्रमण नियन्त्रण गर्न सुविधासम्पन्न आइसोलेसन र क्वारेन्टाइन तयार गरेको छ ।

चौदण्डीगढीमा क्वारेन्टाइन र पिपिईको व्यवस्था

नगरपालिकाले उपचारमा संलग्न चिकित्सकका लागि ३० थान पिपिई समेत वितरण गरेको छ । १० वडा रहेको नगरपालिकाले प्रत्येक वडामा क्वारेन्टाइन स्थापना गरी तीनमा पिपिई सहितका स्वास्थ्यकर्मीले २४ सै घन्टा सेवा प्रदान गर्ने व्यवस्था समेत मिलाएको छ ।


‘प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका २ जना डाक्टर र अन्य स्वास्थ्यकर्मीे २४ सै घन्टा स्वास्थ्य सेवा प्रदान गर्ने गरी वडा नं ७ को रामप्रसाद राई खेल मैदानको भवनमा ७ बेडको सुविधासम्पन्न आइसोलेसन तयार गरिएको छ,’ नगरप्रमुख खगेन्द्र राईले भने, ‘सबै वडामा गरेर ३९ वटा बेड भएको क्वारेन्टाइन निर्माण गरेर स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।’ नगरपालिकाले नगरक्षेत्र भित्र विदेशबाट आउनेहरुको लगत लिने काम गरिरहेको उलने बताए ।

शनिबारसम्म २,३,४ र ५ नम्बर वडाको लगत तयार भइसकेको नगरपालिकाले जनाएको छ । चौदण्डीगढीले गतवर्ष नै स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारलाई टेकेर आफैले तलबको व्यवस्था गर्ने गरी एक मेडिकल डाक्टरसहित ५० स्वास्थ्यकर्मी भर्ना गरेको थियो । यहाँ सरकारी दरबन्दीका ३६ सहित हाल ८६ जना स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

‘स्वास्थ्यकर्मीलाई अस्पताल र आसपासका क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ’ नगरप्रमुख राईले भने, ‘संक्रमणबाट बच्न सेनीटाइटर, चालकलाई पिपिई, मास्क, ग्लोब्ससहित चारवटा एम्बुलेन्सलाई तयारी अवस्थामा छन् ।’ सम्भावित जोखिम न्यूनिकरण गर्न पूर्ण तायारीका साथ बसिएको उनले बताए ।


नगरक्षेत्रका १ प्राथमिक स्थास्थ्य केन्द्र र १० ओटा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीको टोली २४ सै घन्टा रहने गरी तयारी छ । वडा नं २,३,४ र ५ मा विदेशबाट आएका ६ जना फेला परेपनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको नगरपालिकाले जनाएको छ । बाँकी ६ वटा वडामा पनि विदेशबाट आएकाहरुको विवरण संकलन गर्ने काम भइरहेको नगरप्रमुख राईले बताए ।


‘अक्सिजन सहितको सुविधासम्पन्न आइसोलेसन तयार गरेपनि रोग पहिचान गर्ने किट्सको भने व्यवस्था गर्न सकिएको छैन’ प्रमुख राईले भने, ‘किट्सको व्यवस्था हुन सके सम्भावित जोखिम न्यूनिकरण गर्न थप मद्दत हुने थियो ।’

प्रकाशित : चैत्र १५, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?