कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना संक्रमण फैलिन नदिन कमान्ड ग्रुप

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा कोभिड–१९को संक्रमण फैलिन नदिन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विपद् व्यावस्थापन कमान्ड ग्रुप तयार गरिएको छ । बिहीबार बसेको सरोकारवालाको बैठकले कमान्ड ग्रुप निर्माण गर्ने निर्णय गरेको हो । 

बैठकले आवश्यक सतर्कता अपनाउन र संक्रमितको उद्धारकार्यलाई तिव्रता दिन प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीको नेतृत्वमा जिल्ला समन्वय समिति, जिल्लाका ८ वटै स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी सदस्य रहेको कमान्ड ग्रुप तयार गरिएको छ ।


विपद् व्यावस्थापन कमान्ड ग्रुपले संक्रमण फैलिन नदिन स्थानीय वडा तहदेखि जिल्ला तहसम्म रणनीति तयार गरेको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए । उनले आवश्यक परेमा सबै स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरी सञ्चालनमा ल्याउने, विदेशबाट फर्केर आएकाहरुको खोजी गरी संक्रमित पहिचानका लागि क्वारेन्टाइनमा पठाउने बताए । त्यस्तै क्वारेन्टाइनमा बस्ने व्यक्तिको खानपिनको लागि आवश्यक पर्ने बजेट व्यवस्थापन स्थानीय तहले गर्ने र अन्य औषधि तथा उपचारको व्ण्यवस्था विपद् व्यवस्थापन कमान्ड ग्रुपले गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले बताए ।

प्रमुख जिल्ला अधिकारी पहाडीका अनुसार कटारी नगरपालिकाको वडा नं १ स्थित नेपाली सेनाको १८ नम्बर वाहिनी अन्तर्गत रहेको रणशार्दुल गण सुरक्षा बेस क्याम्प वेलसेतमा ब्यारेक खाली गरी निर्माण गरिएको क्वारेन्टाइमा बिरामी राख्न सुरु गरिएको छ । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकबाट आएका २६ जनालाई राखिएको उनले बताए ।

विपद् व्यवस्थापन कमान्ड ग्रुपका सदस्य सचिव जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा एम्बुलेन्ससहित क्वारेन्टाइन स्थापना र आइसोलेसन वार्ड तयारी अवस्थामा छन ।‘ विदेशबाट आएकालाई लक्षित गरी सुरक्षा र स्वास्थ्यकर्मीको टोली गाउँ गाउँ परिचालन गरिएको छ,’ सुवेदीले भने, ‘स्वास्थ्यकर्मी र एमबुलेन्स चालकलाई एप्रोनको समेत तयारी गरिएको छ ।’


कटारीको बेलस्रोत क्वारेन्टाइनमा थप ६ जना थपिए


कटारीको त्रिवेणी बेलस्रोतस्थित क्वारेन्टाइनमा बिहीबार थप ६ जना थपिएको छ । रोजगारीको सिलसिलामा झापा नाका हुँदै भारतको सीलगुढीबाट आएका लिम्चुङबुङ गाउँपालिका ४ का ३ जना र त्रियुगा नगरपालिका १५ का २ जना र त्रियुगा नगरापालिका ७ का १ जना गरी तीन पुरुष र तीन महिलालाई क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।

बुधबार पहिलो लटमा २१ जना आएका मध्ये १ जनालाई अस्पतालमा र २० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । दोस्रो लटमा आएको थप ६ जना गरी २६ जना क्वारेन्टाइनमा राखिएको स्रोतले जनाएको छ ।

प्रकाशित : चैत्र १३, २०७६ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?