कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा 'भाइरल सेफ्टी क्याबिन’

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण भए–नभएको पहिचान र परीक्षण गर्न प्रयोगशाला स्थापना भएको छ । सरकारले रिएजेन्ट, किट, रसायन, भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम), व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) पठाइदिए जुनसुकै बेला पनि कोरोना परीक्षण गर्न सकिने प्रतिष्ठानले जनाएको छ । 

बीपी प्रतिष्ठानमा 'भाइरल सेफ्टी क्याबिन’

जोखिमपूर्ण भाइरस परीक्षणका लागि प्रतिष्ठानसँग एउटा मात्र भाइरल सेफ्टी क्याबिन रहेकोमा कोरोना परीक्षण गर्न सरकारले पठाएको नयाँ क््याबिन आइतबार प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा जडान गरिएको छ । भाइरल सेफ्टी क्याबिन जडान भएकाले कोरोना भाइरसको परीक्षण गर्न सकिने भएको हो ।


प्रतिष्ठानका अस्पताल निर्देशक एवं र्‍यापिड रेस्पोन्स कमिटिका संयोजक डा. गौरीशंकर साहले प्रतिष्ठानसँग कोरोना परीक्षणका लागि भौतिक पूर्वाधार र दक्ष जनशक्ति भएकाले थप नयाँ भाइरल सेफ्टी क््याबिन जडान गरेको बताए । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पहिलेदेखि नै पीसीआर गर्दै आएको र भाइरससम्बन्धी विशेषज्ञ चिकित्सकमार्फत कोरोना परीक्षण गरिने सहप्रवक्ता डा. अशोक ऐरले बताए ।


यसैबीच कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्काल उपचार नगर्दा थप जोखिम नहुने विस्तारित स्वास्थ्य सेवालाई आइतबारदेखि आगामी दुई सातासम्मका लागि स्थगन गरेको छ । प्रतिष्ठानका चिकित्सकहरूले यसअघि सार्वजनिक गरेको हेल्प लाइन नम्बरबाटै कोरोना र अन्य स्वास्थ्य सेवाबारे जानकारी दिने भएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक साहका अनुसार कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको निर्णय अनुसार प्रतिष्ठानले केही सेवाहरू दुई सातासम्मका लागि स्थगित गरेको हो । उनका अनुसार तत्कालका लागि सबै प्रकारका पेइङसहितका इन्स्टिच्युसनल प्राक्टिस, शल्यक्रिया, फलोअप, स्वास्थ्य बिमा, भारतीय भूपु सैनिकलाई दिइएको सेवा स्थगित गरिएको छ । उनले भने, ‘तत्काल उपचार नगर्दा पनि थप जोखिम नहुने खालका स्वास्थ्य सेवालाई स्थगित गरेर कोरोना संक्रमण रोकथाममा बढी ध्यान दिएको हो ।’


प्रतिष्ठानले कोरोना संक्रमण फैलिएर विश्वभर संकट निम्त्याइरहेकोले सम्भावित जोखिमलाई लिएर तयारी अवस्थामा रहन आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई बिदामा बस्न रोक लगाएको पनि निर्देशक साहले बताए । डा. गौरीशंकर साहले काजकिरियामा बसेको अवस्थाबाहेक अन्य सबै अवस्थामा बिदामा बस्न रोकेको बताए । कोरोना संक्रमणको बेला भीडभाड कम गर्न प्रतिष्ठानले स्वास्थ्य समस्या भएकाले घरैबाट प्रतिष्ठानको हटलाइन सेवामा सम्पर्क गरेर सम्बन्धित विशेषज्ञबाट सुझाव सल्लाह लिन सक्ने व्यवस्था गरेको छ । यसैगरी, कोरोनाको जोखिम सामना गर्न प्रतिष्ठानको भान्सा कोठामा दुई साताभित्र २० बेडको भेन्टिलेटर सहितको आइसीयू कक्ष स्थापना गर्ने तयारी भएको छ । हाल प्रतिष्ठानको पेइङ वार्डमा १० बेडको आइसोलेसन वार्ड मात्र रहेको छ । उक्त वार्डमा पनि थप दुई बेडको आइसीयू पनि राख्ने तयारी भएको छ भने आवश्यक परे ३० वेडको आइसोलेसन बनाउन सकिने अस्पताल निर्देशक साहले बताए ।


दक्षिण भारतको केरलाबाट आएका ६ जना क्वारेन्टाइन बस्न मानेनन् ।धनकुटा प्रतिष्ठानको हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहरू क्वारेन्टाइनमा बस्न नमानी धनकुटा पुगेका छन् । उनीहरू दक्षिण भारतको केरलाबाट धनकुटास्थित घर फर्कने क्रममा केहीलाई ज्वरो आएपछि उपचारका लागि प्रतिष्ठानमा पुगेका थिए । चिकित्सकहरूले मोरङको टाँडीस्थित तयार पारिएको क्वारेन्टाइनमा बस्न सुझाव दिएका थिए । तर, उनीहरूले चिकित्सकको सुझाव नमानी सिधै धनकुटा गएपछि भाइरस संक्रमणको जोखिम बढेको छ । रोजगारीको सिलसिलामा केरला पुगेको र कोरोना संक्रमण बढेपछि उनीहरू घर फर्किरहेका थिए ।


प्रतिष्ठानको कोरोना भाइरस र्‍यापिड रेस्पोन्स कमिटीका सदस्य तथा सहायक अस्पताल निर्देशक डा. विकास साहका अनुसार हेल्थ डेस्कमा आएका उनीहरुमध्ये दुई जनामा ज्वरो देखिएको थियो । एक जनामा १००.८ र अर्कोलाई ९९.८ डिग्री फरेनहाइट ज्वरो देखिएपछि स्वाब परीक्षण गरेर उनीहरूलाई मोरङको टाँडीस्थित नेपाली सेनाले तयार गरेको क्वारेन्टाइनमा पठाउन एम्बुलेन्सको तयारी गर्दैगर्दा ती व्यक्तिहरू आफ्नो घर धनकुटातर्फ सुटुक्क गएका थिए । उनीहरूको उमेर २५ देखि ३५ वर्षको बीचमा छ ।

विदेशबाट आएका व्यक्तिहरू १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । सर्वसाधारणको हितका लागि दिएको आवश्यक राय, सल्लाह, सुझाव नमान्ने प्रवृत्ति कोरोना संक्रमण रोकथामको लागि प्रमुख चुनौतीको रुपमा देखिएको चिकित्सकहरूले बताएका छन् । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन चिकित्सक र सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले लापर्बाही गर्दा यसको जोखिम थप बढ्नसक्ने पनि चिकित्सकहरूले बताएका छन् ।


आशंका गरिएका व्यक्तिहरूले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐयरले कोरोना संक्रमण अत्यन्तै जोखिमको अवस्था भएकोले सर्वसाधारण मानिसहरू आफैं सचेत र जिम्मेवार हुनुपर्ने बताउँछन् । उनले कोरोना संक्रमण रोकथाम गर्न राज्य र चिकित्सकले मात्र कदम चालेर सम्भव नहुने भएकाले लापर्बाही गर्न नहुनेमा जोड दिए ।


प्रकाशित : चैत्र १०, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?