कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेसनल ट्रेडिङको भवनमा कोरोना अस्पताल बनाउँदै प्रदेश सरकार 

देवनारायण साह

मोरङ — प्रदेश १ सरकारले विराटनगरस्थित नेसनल ट्रेडिङको भवनमा कोरोनाको संक्रमितलाई उपचारका लागि शनिबारदेखि अस्पताल निर्माण थालेको छ । सरकारले एक साताभित्र १० शय्याको भेण्टिलेटरसहितको १ सय शय्याको आइसोलेसन अस्पताल निर्माण गर्न थालेको हो । 

नेसनल ट्रेडिङको भवनमा कोरोना अस्पताल बनाउँदै प्रदेश सरकार 

सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले नेसनल ट्रेडिङको प्रशासनिक भवनमा १ सय शय्या राख्‍न मिल्ने भएकाले त्यही अनुसार काम अघि बढाएको बताए । ‘शनिबार नेसनल ट्रेडिङको प्रशासनिक भवनको भित्र र बाहिर सरसफाईको काम सकेका छौं,’ उनले भने, ‘आइतबार विद्युत्, खानेपानी जडानका साथै बेड राख्‍ने काम गर्छौं ।’


पहिलो चरणमा प्रशासनिक भवनमा १० शय्याको भेण्टिलेटरसहित १ सय शय्याको आइसोलेसन अस्पताल गरिरहेको तर पछि संक्रमित देखिएको अवस्थामा शय्या थप गर्नुपर्ने भएमा त्यसको समेत तयारी गरिएको कट्टेलेको भनाई थियो । उनले नेसनल ट्रेडिङको दुई वटा ठूलो गोदामसमेत खाली गराएर तयारी अवस्थामा राख्‍ने र आवश्यकता परेको बेला अस्पतालको रुप दिने बताए ।


नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र विराटनगर महानगरपालिका कर्मचारीहरुले वारुणयन्त्र प्रयोग गरी नेसनल ट्रेडिङको प्रशासनिक भवन धोएर पूर्णरुपमा सरसफाइ गरेको छ । उनीहरुले भवनको प्रांगणमा रहेको झार, रुखबिरुवा काट्‍नुका साथै घाँसपातलगायतका सामग्री हटाएर सरसफाई गरेको हो ।


मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले भेण्टिलेटरसहितको आइसोलेसन अस्पताल नेसनल ट्रेडिङ भवनमा एक साताभित्र निर्णय गर्ने निर्णय गरेको थियो ।

अस्पतालमा जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने र आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्ने निर्णय गरेको थियो । अस्पतालको सुरक्षा आन्तरिक मामिलाको समन्वयमा सुरक्षा निकायले गर्ने छ । प्रदेश १ मा बिहीबार नेपाली सेनाले ४ सय ४० शय्याको क्वारेन्टाइन निर्माण गरेको हो ।

प्रदेश स्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य सुरु गर्ने र तत्काल कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको परीक्षणका लागि तत्काल मेडिकल प्रयोगशालालाई स्तरोन्‍नति गर्ने निर्णय भएको कार्कीले बताए ।


कोरोनाको संभावित संक्रमण फैलिन नदिनका लागि प्रदेश सरकारले एक अनुगमन समितिसमेत गठन गरेको छ ।

प्रकाशित : चैत्र ८, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?