कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिनहुँ आगलागी, छैन नियन्त्रणको तयारी

फागुन लागेयता पूर्वी नेपालमा हरेक दिनजसो आगलागीका घटना भएका छन् । ती घटनामा लाखौंको धनमाल नष्ट भएको छ । हावाहुरी चल्ने याम भएकोले पनि यो याममा आगलागीका घटना धेरै हुने गर्दछन् ।
तर, स्थानीय तहले यस्ता घटना भइहाले नियन्त्रण गर्ने तयारी गरेको पाइँदैन । आगो निभाउन चाहिने मुख्य साधन दमकल सबै तहमा छैनन् । भएकामा पनि बिग्रेर थान्को लागेका छन् । कतै जनशक्ति अभाव छ ।
प्रदेश १ ब्युरो

विराटनगर — झापाको कमल गाउँपालिका–५ मंगलबारे बजारका शेरबहादुर लिम्बूको दुईतले काठको घर जलेर नष्ट भयो । उक्त गाउँपालिकामा दमकल छैन । छिमेकी दमक नगरपालिका घटनास्थलदेखि तीन किलोमिटर टाढा छ । दमकमा तीन वटा दमकल छन् । लिम्बूको घरमा साँझ साढे ६ बजे आगो लाग्न सुरु भएको थियो ।

दिनहुँ आगलागी, छैन नियन्त्रणको तयारी

स्थानीय अगुवा दिपेनवाला राईले आगो लाग्न सुरु भएलगत्तै दमकमा फोन गरेर दमकल बोलाएको बताए । तर, दमकल आउन ४० मिनेट लाग्यो । ‘बेलैमा आइपुगेको भए घर जोगाउन सकिन्थ्यो होला, तर यति छोटो दूरीमा आउन धेरै बेर लागेकाले घर सखाप भयो,’ उनले भने । उक्त घरमा डेरा गरी बस्ने तथा पसल गर्ने अन्य चार परिवारको पनि सम्पूर्ण सामान जलेर खरानी भयो । आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।


यसैसाता मोरङ, झापा र इलाममा भएका आगलागीका घटनामा ७१ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । इलामको फाकफोकथुमस्थित तिनजुरे बोर्डिङ स्कुलको छात्राबास, झापाको कमल गाउँपालिकाका शेरबहादुरको घर र मोरङ बेलबारी–११ का नरबहादुर तामाङको घरमा आगलागी भएको थियो । ती घटनामा ७१ लाख ८० हजार रुपैयाँको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।


झापामा आठ नगरपालिका र सात वटा गाउँपालिका गरी १५ स्थानीय तह छन् । पाँच वटा नगरपालिकामा मात्र दमकल छ । तिनमा रहेका १० वटा दमकलमध्ये ६ वटा मात्र सञ्चालनमा छन् । चार वटा बिग्रिएर थन्किएको वर्षौं भइसकेको छ ।


दमक नगरपालिकामा तीन वटा दमकल छन् । तर, सञ्चालनमा भने दुई वटा मात्र छन् । २५ सय लिटर क्षमताको पुरानो दमकलमा पानी तान्ने मेसिन बिग्रिएको छ । २०५२ सालमा किनेको उक्त दमकललाई अत्यावश्यक परेका बेला नगरभित्र मात्रै प्रयोगमा ल्याउने गरिएको छ । नगरपालिकाले पाँच वर्षअघि ३५ सय लिटर क्षमताको दमकल किनेको थियो । अढाई वर्षअघि जापान सरकारले १७ सय लिटर क्षमताको एउटा दमकल सहयोगस्वरुप प्रदान गरेको थियो ।


जिल्लाको पुरानो नगरपालिका भद्रपुर नगरपालिकामा तीन वटा दमकल छन् । एउटैमात्र सञ्चालनमा रहेको जमदार नरबहादुर विष्टले बताए । २०५० तिर किनिएका पुराना दुइटा दमकल बिग्रिएका छन् । चार हजार लिटर क्षमताको एउटा जेनतेन नगरभित्र चलाउन सकिन्छ भने २५ सय लिटर क्षमताको अर्को तीन वर्षदेखि चलाउन नसक्ने गरी थन्किएको छ । २०७१ मा किनिएको पाँच हजार लिटर क्षमताको एउटा दमकलमात्र सञ्चालनमा रहेको विष्टले बताए । बिग्रिएकामध्ये एउटालाई लिलाममा राखिएको छ । अर्को मर्मत गर्न ठूलो धनराशी लाग्ने भएकाले नगरपालिकाले चासो नदेखाएको उनको भनाइ छ । मेचीनगर नगरपालिकामा पनि दुई वटा दमकल छन् । एउटा बिग्रिएर थन्किएको छ भने अर्को एक मात्र सञ्चालनमा रहेको चालक नारायण बस्नेतले बताए । उनका अनुसार चार हजार लिटर क्षमताको दमकल डेढ वर्षदेखि बिग्रिएर थन्किएको छ । मेचीनगरको दमकल कहिलेकाहीँ पूर्वी पहाडी जिल्ला ताप्लेजुङसम्म पुग्नुपर्ने हुन्छ ।


टाढा गएको समयमा नगरभित्र आगलागी भए छिमेकी नगरको दमकल गुहार्नुपर्ने अवस्था रहेको उनले सुनाए । नगरपालिका घोषणा भएपछि बिर्तामोड र गौरादहले तीन वर्षअघि एक–एक वटा दमकल खरिद गरेका छन् । यसअलावा अन्य स्थानीय तहहरूले दमकल खरिद गर्ने कुनै तयारी गरेका छैनन् । गत वर्ष मंसिरमा शिवसताक्षी नगरपालिका–७ लालझोडामा आगलागी हुँदा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको थियो । उक्त घटनापछि स्थानीयले दमकल खरिद गर्न नगरपालिकालाई दबाब दिए । तर, मेयर चन्द्रकुमार शेर्माले खर्च धान्न नसक्ने भन्दै दमकल किन्न इन्कार गर्दै आएका छन् ।


दमकल, न जनशक्ति

झापाको जस्तै समस्या मोरङमा पनि छ । आगलागी भए तत्काल नियन्त्रणको उपाय अपनाउने मेलो अधिकांश स्थानीय तहमा छैन । कतिपयमा दमकलनै छैन । भएकामा जनशक्ति अभाव छ । विराटनगर महानगरमा रहेका चारभध्ये दुइटा दमकल मात्र सञ्चालनमा छन् । अरु बिग्रेर थान्को लागेका छन् । यहाँ आगो नियत्रण गर्न पर्याप्त जनशक्ति पनि छैनन् ।


‘पानी बोकेर घटनास्थलमा पुग्दा चालक र कमाण्डरसहित कम्तीमा आठ जनाको टिम चाहिन्छ,’ विराटनगर दमकलका सहायक इन्चार्ज हरिकुमार राईले भने, ‘हामी पाँच जना मात्र छौं ।’ एउटा दमकलमा चालक, एक जना कमाण्डर र ६ जना फायरमेन हुनुपर्ने उनले बताए । कार्यालयमा ८ जना फायरमेन रहेको र दुइटै दमकल प्रयोग गर्नुपर्दा चार–चार जना बाँडिएर जाने गरेको उनले जानकारी दिए । सामान्यतया दैनिक दुई, तीन स्थानमा भएका आगलागी घटनामा पुग्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । विराटनगरका दमकल महानगरमा मात्र सीमित हुन पनि पाउँदैनन् । राईका अनुसार भारतको सीमावर्ती क्षेत्रसहित मोरङ, सुनसरी र झापासम्म पनि पुग्नुपर्ने अवस्था हुन्छ ।


बिग्रिएका दमकल मर्मत गरेर सञ्चालन गर्ने स्थिति नभएकाले हाल दुई वटाले मात्र सेवा पुर्‍याउँदै आएको महानगरका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । थप दमकलका लागि दातृ निकायसँग पहल भइरहेको उनले सुनाए ।


मोरङका १७ स्थानीय तहमध्ये चार वटामा मात्र दमकल छ । सुन्दर हरैचा, बेलबारी र रंगेली नगरपालिकामा एक–एक वटा दमकल छन् । अरु कुनै स्थानीय तहमा दमकल छैन ।


स्थानीय तहको छैन तयारी

संघीय र प्रदेश सरकारले गत वर्ष दमकल दिने घोषणा गरेका थिए । तर, घोषणा कार्यान्वयन नभएपछि अर्को वर्ष सुनसरीको रामधुनी नगरपालिकाले आफैं दमकल किन्ने भएको छ । ‘अहिलेसम्म दमकल पठाउने छाँटकाँट छैन,’ मेयर जयप्रकाश चौधरीले भने, ‘कतै आगलागी भइहालेमा अरु स्थानीय तहमा भएका दमकल बोलाउनुको विकल्प छैन ।’ स्थानीय तहहरूले आगलागीबाट ठूलो क्षति हुन नदिन दमकल राख्नै पर्ने भए पनि कतिपयले दमकलको सट्टा प्रमुख–उपप्रमुख र प्रशासकीय प्रमुख चढ्ने सवारी साधनमा खर्च गरेका छन् ।


सुनसरीका १२ स्थानीय तहमध्ये धरान उपमहानगरसँग चार वटा दमकल छन् । वारुणयन्त्र विभागका सुवेदार रामबहादुर कार्कीका अनुसार तीमध्ये एउटामात्र नयाँ हो । अर तीन वटा २० वर्ष पुराना भएकाले तिनको भरोसा नहुने उनको भनाइ छ । ‘कहिले जाँदाजाँदै बाटैमा बिग्रन्छन्,’ कार्कीले भने, ‘कहिले फानी फाल्न सक्दैनन् । भगवान भरोसा चलिरहेका छन् ।’


उनका अनुसार पछिल्लो एक वर्षको अवधिमा धरानसहित सुनसरीका ७४ स्थानमा भएका आगलागीका घटनामा धरानका दमकल प्रयोग भएका थिए । तीमध्ये १७ घटना धरानभित्रै र ५७ घटना सुनसरीका अरु स्थानमा भएका थिए । इटहरी उपमहानगरका दुइटा दमकल पुरानो भइसकेका छन् । एउटा मात्र प्रयोगमा छ । उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले प्रदेश सरकारले दिने भने पनि नदिएको बताए । आफैंले किन्ने अवस्था नभएको उल्लेख गर्दै उनले त्यही एउटा थोत्रो दमकलले इटहरी र नजिकका स्थानीय तहमा पुग्नुपर्ने बाध्यता रहेको सुनाए ।


इनरुवा नगरपालिकामा एकमात्र दमकल छ । त्यो पनि पुरानै । मेयर राजन मेहताले जीर्ण भएको दमकलले सुनसरीको दक्षिण भेगका जुनसुकै स्थानीय तहमा आगलागी भए पुग्नुपर्ने अवस्था रहेको सुनाए । ‘नयाँ दमकल किन्ने अवस्था छैन,’ उनले भने । बराहक्षेत्र नगरले गत वर्ष तीन हजार लिटर क्षमताको दमकल किनेको थियो ।


तर, प्रदेशभरकै बढी जनसंख्या भएको नगर भएकाले एउटाले भ्याउन नसक्ने मेयर निलम खनाल बताउँछन् । दुहबी नगरमा पनि एउटा मात्रै दमकल छ । रामधुनी नगरपालिका, बर्जु, हरिनगरा, गढी, भोक्राहा, कोशी र देवानगन्ज गरी सात स्थानीय तहमा दमकल छैनन् ।


-मोरङबाट विनोद भण्डारी, झापाबाट अर्जुन राजवंशी र सुनसरीबाट प्रदीप मेन्याङबोको रिपोर्ट

प्रकाशित : फाल्गुन २६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?