कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ पुस्तालाई बाजा चिनाउँदै

कान्तिपुर संवाददाता

पाँचथर — प्राङबुङ ६ पाँचथरका बमबहादुर केरुङ स्कुल–स्कुल पुग्छन् । उनको उद्देश्य स्कुलका बालबालिकालाई पौराणिक बाजा चिनाउनु हो । लोपोन्मुख अवस्थामा रहेका बाजा चिनाउने ध्याउन्नमा रहेका उनी अधिकांश बाजा बजाएर सुनाउँछन् ।

नयाँ पुस्तालाई बाजा चिनाउँदै

मुरली, बाँसुरी, मुर्चुङ्गा, बिनायो, टुंगना बजाएर सुनाउँछन् । उनको खास खुबीचाहिँ नाकले मुरली बजाउनु हो । नाकले मुरली बजाएर सुनाएपछि बालबालिका उनको नजिक आउँछन् । अनि त्यही मौकामा अरू पुराना बाजाबारे जानकारी दिन्छन् ।


लगातार १८ घण्टासम्म मुरली बजाउन सक्ने दाबी गर्ने केरुङ रुखका पात बजाएर पनि नयाँ/नयाँ भाका निकाल्छन् । यही कला लिएर अहिलेसम्म ३ हजार ७५ वटा विद्यालयमा पुगेको उनको दाबी छ ।


नेपाल र भारतको सिक्किमका विद्यालयमा पुगेका हुन् । ‘नेपालको तुलनामा सिक्किमका धेरै विद्यालयमा पुगेको छु,’ उनले भने, ‘बेइजिङ, हङकङ र थाइल्यान्डमा गएर पनि प्रस्तुति दिएँ ।’ ५६ वर्षीय उनी विद्यालयमा पुगेर जान्ने गरी सिकाउनै त नसकिने तर उत्प्रेरणा जगाउन सकिने बताउँछन् ।


‘बालबालिकाले भएको प्रतिभा देखाउन पाएका हुँदैनन्, सिक्ने रहर भएकाले त्यो मौका पनि पाएका हुँदैनन्,’ केरुङले भने, ‘यसरी स्कुलमा पुगेर देखाएपछि बालबालिकामा उत्प्रेरणा जाग्छ र खोजीखोजी सिक्छन् ।’ आफूले बजाउँदै गर्दा कतिपयले म पनि सक्छु भन्दै त्यही प्रयास गर्ने गरेको सुनाउँछन् ।


उनको अर्को कला भनेको चराचुरुङ्गी र जंगली जनावरको स्वर निकाल्नु हो । उनीहरूको आवाज निकालेर जंगलका चराचुरुङ्गी भेला पार्न सक्ने उनको दाबी छ । स्याल, कुकुर, फ्याउरो, बाँदर, ढेडु, काग, कल्चेउडो, मयुर लगायतको आवाज सुनाउँछन् । झोलामा पुराना बाजा बोकेर हिँड्ने उनका धेरै प्रस्तुति भारत दार्जिलिङ, पश्चिम बंगालका सार्वजनिक कार्यक्रममा पनि भएका छन् । नियमित योगसाधनाबाट आफूले यी कला प्राप्त गरेको उनको कथन छ । नाकमा मुरली छिर्नासाथ काउकुती लाग्ने भएकाले यो विधामा भने दोस्रो प्रतिभा जन्मन कठिन रहेको उनको तर्क छ । लोपोन्मुख अवस्थामा रहेका बाजाहरू आफैंले बनाउने उनी त्यसबाट आम्दानी पनि गर्छन् । वाद्य सामग्री बिक्री र कार्यक्रमको पारिश्रमिक उनको मुख्य आम्दानी हो ।


राष्ट्रपति, प्रधानमन्त्रीलाई आफ्नो कला देखाउने चाहना भएका उनको राजधानीमा आयोजित कार्यक्रममा नाकले घण्टौं मुरली बजाएर गिनिज बुकमा नाम लेखाउने चाहना छ ।

प्रकाशित : फाल्गुन १८, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?