कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सन्थाल बस्तीमा ‘सोरहाई पर्व’

पाँच दिनसम्म मनाइने यो पर्वमा मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्ने परम्परा छ । 
अर्जुन राजवंशी

(बिर्तामोड) — कचनकवल गाउँपालिका–१ घेराबारीकी माया हेमरम तीन छोराछोरीसहित मंगलबार दिदी–भिनाजुको घर बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा आएकी थिइन् । बुबाआमा नभएकाले माइती गाउँमा रहेकी ठूली दिदीको घरमा ‘सोरहाई’ पर्व मनाउन माया भागुडुब्बा आएकी हुन् ।

सन्थाल बस्तीमा ‘सोरहाई पर्व’

पाँच दिनसम्म बसेर दिदी घरमा सोरहाई पर्व मनाईसकेपछि उनी शनिबार घर फर्किएकी छन् । भागुडुब्बाका सन्थाल जातिले गत मंगलबारदेखि शनिबारसम्म मीठा–मीठा परिकार खाने, नाच–गान गर्ने, माछा मार्ने, सिकार खेल्न गएर महान चाड ‘सोरहाई’ पर्व मनाएका छन् । सन्थाल जातिको सोरहाई पर्व नेपाली नारीहरूको महान चाड हरितालिका तीज जस्तै भएको भागुडुब्बा सन्थाल बस्तीका माझीहाडाम (गाउँका मुखिया) सुनिल किस्कुले बताए ।


यो पर्वमा छोरी चेलीलाई बोलाएर पाँच दिनसम्म मीठो–मसिनो खुवाउने तथा रमाइलो गर्ने चलन रहेको उनले बताए । ‘तीजमा छोरी चेलीहरू माइत गएजस्तै हो, हाम्रो जातिको सोरहाई पर्व । सबैले आआफ्ना छोरी चेलीलाई बोलाउछन् । मीठा–मीठा खुवाउने, दुःखसुखको कुरा गर्ने, सबै संगै भएर नाचगान गर्ने चलन छ,’ उनले भने ।जिल्लामा सन्थाल बस्तीहरू पातलिदै गएको छ । सन्थाल जातिको जनसंख्या घटेसंगै सोरहाई पर्वको रमाइलो पनि घटेर गएको कनकाई नगरपालिकाका भगन टुडुले बताए । ‘पहिला जस्तो रमझम कहाँ छ र, अहिलेका पर्वहरूमा’ उनले भने । परम्परागत पर्व भएकाले सबैले मान्ने गरेको उनी बताउछन् । साँस्कृतिक महत्वको पर्व भएपनि संस्कार धान्न गाह्रो हुँदै गएको माझीहाडाम किस्कुले बताए ।


‘यो पर्वमा गाउँका पुरुष, महिला, युवायुवती सबै माछा मार्न जानुपर्ने चलन छ । पर्वको एक दिन पानीमा भिजेर माछा मार्नैपर्छ, यो अनिवार्यजस्तै चलन हो’ उनले भने,‘तर, अहिले कुनै कुनै बस्तीमा मात्र सामूहिक माछा मर्ने चलन छ । अन्यत्र यो संस्कार नै मासिएर गयो ।’ पर्वको अन्तिम दिन नजिकैको जंगलमा गएर सामूहिक सिकार गर्ने चलन पनि रहेको समय हेमरमले बताए ।


तर, सरकारले हतियारसहित जंगल प्रवेशमा निषेध गरेकाले सिकार खेल्ने आफूहरूको संस्कार संकटमा परेको उनको गुनासो छ । ‘हाम्रो संस्कार नै सामूहिक माछा मार्न जानुपर्ने, जंगलमा सिकार खेल्न जानुपर्ने हो । तर, सरकारले जंगलमा सिकार खेल्न रोक लगाएको छ’ उनले भने,‘कानूनी अड्चनका कारण संस्कार जोगाउन गाह्रो भइरहेको छ ।’ जंगलमा सिकार खेल्न जाँदा सन्थाल जातिले तीर–धनुष प्रयोग गर्छन् ।


परम्परागत रुपमा पर्व मनाउन नपाउदा सोरहाई बारे नयाँ पुस्ता अनविज्ञ हुदै गएको प्रकास सोरेनले बताए । ‘यो पर्वमा जंगलमा सिकार खेल्न जानैपर्छ । सिकार खेलेर पर्किएपछि घरपरिकारका सबैको रक्षाका लागि राक्षसको प्रतिमा बनाई त्यसलाई तीरले ढाल्नुपर्ने परम्परा छ’ उनले भने,‘यति गरेपछि मात्र सोरहाई पर्व औपचारिक रुपमा समापन हुन्छ ।’

प्रकाशित : फाल्गुन ११, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?