कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाला निर्माणमा कमसल सामग्री

देवनारायण साह

मोरङ — कटहरी गाउँपालिका-२ मा कमल सामग्री प्रयोग गरेर नाला निर्माण भइरहेको पाइएको छ ।आदर्शनगरदेखि रंगेली रोडसम्मको २ सय ७५ मिटर नाला निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको पाइएको हो ।

नाला निर्माणमा कमसल सामग्री

स्थानीय गजेन्द्रनारायण कर्णले प्रभावकारी अनुगमनको अभावमा आफ्नो घर अगाडि नै निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरी मापदण्ड विपरीत नाला निर्माण गरिरहेको गुनासो पोखे । ‘एक नम्बर ईंटाको साटो निर्माण कम्पनीले ३ नम्बर र एक भाग सिमेन्टमा ६ भाग बालुवा मिसाएर जोड्नुपर्नेमा १२ भाग बालुवा मिसाएर निर्माण काम गरिरहेको छ ।’


आफूहरु टोलबासीले पटकपटक राम्रो काम गर्न आग्रह गर्दासमेत निर्माण कम्पनीले सुनुवाइ नगरेको कर्णले गुनासो पोखे । ‘हामीले वडा अध्यक्ष किशोर पाण्डेलाईसमेत गुणस्तरहीन काम भइरहेको बारे जानकारी गरायौं,’ उनले भने, ‘वडा अध्यक्ष पाण्डेले काम पनि रोकेका थिए तर प्राविधिकहरुले स्टिमेट अनुसार गुणस्तरयुक्त नै निर्माण सामग्री प्रयोग भएको भनेपछि पुनः निर्माण काम सुरु गरेको छ ।’


गाउँपालिकाका सब इन्जिनियर शम्भु कर्णले करिब ३० लाखको लागतमा २ सय ७५ मिटर नाला निर्माणको ठेक्का यासुकी निर्माण सेवा बुढीगंगाले १६ लाखमा ठेक्का लिएर निर्माण गरिरहेको बताए ।


नाला निर्माणमा वडा अध्यक्ष पाण्डे, प्रमुख प्रशासकीय अधिकृत कार्की, गाउँपालिकाका सब इन्जिनियर कर्णको मिलेमतोमा नाला निर्माणको काम गुणस्तरहिन भइरहेको पाइयो ।


वडा अध्यक्ष पाण्डेले आफूले कमसल इँटा प्रयोग भइरहेको भन्दै काम रोक्दा प्राविधिक र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले ल्याब टेष्ट गरिएको इँटा भएकोले गुणस्तरयुक्त भएकोले तत्काल पुनः काम सुरु गरिएको बताए । उनले यसमा आफ्नो कुनै संलग्नता र कमजोरी नभएको बताए ।


गाउँपालिका अध्यक्ष रामकुमार कामतलाई कमसल सामग्री प्रयोग गरेर नाला निर्माण भइरहेको बारेमा सोध्दा तत्काल निर्माणस्थल पुगेका थिए । अध्यक्ष कामत र उपाध्यक्ष मञ्जिताकुमारी सरदार, प्रमुख प्रशासकीय अधिकृत कार्कीलगायतका गाउँपालिकाका जनप्रतिनिधि तथा प्राविधिकहरुले नाला निर्माणमा कमसल सामग्री प्रयोग गरी मापदण्ड विपरीत काम भइरहेको निष्कर्ष निकाले ।


अध्यक्ष कामतले तत्काल कमसल इँटा प्रयोग गरेर निर्माण गरिएको नाला भत्काएर पुनर्निमाण गर्न निर्देशन दिए । ‘नाला निर्माणमा ठेक्केदारसँग मिलेमतो गरेर गुणस्तरहीन काम गरिरहेको देखियो,’ उनले भने,‘यसको छानबिन गरी अनियमिततामा संलग्न कर्मचारी र जनप्रतिनिधीलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

प्रकाशित : फाल्गुन ६, २०७६ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?