कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नमुना विद्यालय’ को बेहाल

सरकारले नमुना उन्मुख घोषणा गरेर अनुदान दिएका विद्यालयले शिक्षक अभाव, भौतिक पूर्वाधारलगायतका समस्या झेलिरहेका छन् । शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोगमा चुकेका छन् ।
आनन्द गौतम

(ताप्लेजुङ) — भानुजन माविका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेल नेपाली विषयका शिक्षक हुन् । उनी कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई पढाउँछन् । उनी विद्यार्थीको गृहकार्य राम्ररी जाँच्न भ्याउँदैनन्, कक्षाकार्य गराए पनि सबैको हेर्न समय पुग्दैन । भन्छन्, ‘गृहकार्य नगर्नेलाई कडिकडाउ गर्न पनि सकिँदैन । हरेकले गृहकार्य गरेर ल्याएर कसरी हेरिभ्याउनु ! कक्षाकार्य गराउँदा विद्यार्थीको पाना च्यातेर लिन्छु र घरमा हेर्छु ।’

‘नमुना विद्यालय’ को बेहाल

भानु नमुना उन्मुख विद्यालय हो । जिल्लाको अर्को नमुना उन्मुख सिनाम माविको पनि अवस्था उस्तै छ । एउटै कक्षाकोठामा विद्यार्थी कोचाकोच हुनाले शिक्षकले सबैमा पर्याप्त ध्यान दिन सक्दैनन् । भानु माविमा कक्षा १० मा ७३ जना विद्यार्थी छन् । कक्षा ९ मा ७५ जना पढ्छन् । सिनाममा एउटा कक्षामा ९३ जनासम्म विद्यार्थी छन् । एक पिरियड जम्मा ४० मिनेटको हुन्छ । विद्यार्थीलाई शिक्षकले ‘बुझे बुझ, नबुझे जेसुकै होस्’ भन्ने शैलीले पढाउन बाध्य हुनुपरेको छ ।


सिनाम जिल्लामै पहिलो पटक नमुना उन्मुख भएको हो भने भानु यसै वर्ष । यी दुईबाहेक सरस्वती माध्यमिक विद्यालय हाङपाङ पनि दुई वर्षअघि घोषित नमुना उन्मुख विद्यालय हो । यी विद्यालयमा भौतिक पूर्वाधार नमुना भन्न सुहाउने खालका छैनन् । नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्षसमेत रहेका सिनाम माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतम शिक्षक, भौतिक पूर्वाधार (कक्षाकोठा, डेक्स बेन्च, शौचालय, ह्वाइट बोर्ड, खेलमैदान) को समस्या रहेको बताउँछन् ।


धेरै विद्यार्थी संख्या भएको विद्यालयमा स्वास्थ्यकर्मी नहुनु, घण्टौं हिँडेर आउनेलाई विद्यालयमा खाजा खुवाउन नसक्नु पनि समस्याका रूपमा देखिएको छ । गौतमका अनुसार सिनाममा माध्यमिक तहमा १ हजार १३ जना विद्यार्थी छन् । प्याकुरेलका अनुसार भानुमा विद्यार्थी संख्या ११ सय हाराहारी छ । हाङपाङमा ४ सय ८६ जना रहेको प्रधानाध्यापक लक्ष्मीप्रसाद पोखरेलले बताए ।


हाङपाङका पोखरेलले विज्ञान शिक्षक पाउन एक वर्ष पर्खनुपरेको सुनाए । ‘गत शैक्षिक सत्रमा निमावि तहको विज्ञान शिक्षकले माविका विद्यार्थीलाई पढाउनुपर्‍यो,’ उनले भने । नमुना उन्मुख हुनुपूर्व हाङपाङमा ३२५ जना रहेकामा विद्यार्थी संख्या अहिले १६१ जना बढेका छन् । शिक्षक भने २२ मात्रै छ । तीमध्ये १६ जना दरबन्दीका र ६ जना करारका हुन् ।


एक हजारभन्दा बढी विद्यार्थी भएको सिनाममा ४१ जना शिक्षक छन् । तीमध्ये २३ जना मात्रै दरबन्दीका हुन । बाँकी निजीका छन् । भानुमा ५३ जना छन् । यीमध्ये ३३ जना मात्रै दरबन्दीका हुन् । बाँकी करार र आंशिक शिक्षक हुन् । शिक्षकले प्राविधिक धार र १२ सम्मका विद्यार्थीलाई पढाउनुपर्छ । भानुमा १२ सम्म र प्राविधिक धारसमेतका गरी विद्यार्थी संख्या २ हजार १०० हाराहारी रहेको प्याकुरेल बताउँछन् ।


प्रधानाध्यापकको अर्को टाउको दुखाइ करारका शिक्षकले कति बेला छाडेर हिँड्छन्, पत्तो हुँदैन । स्थायीमा नाम निस्किए, अर्को ठाउँमा जागिर पाए विद्यालय छाडिहाल्छन् । त्यसका लागि जनशक्ति खोजी गर्नुपर्छ । भएको जनशक्तिलाई दक्ष बनाउनु अर्को चुनौती छ । काठको फलेकमा बसेर भुईंको धूलोमा क, ख सिकेका पोखरेल पुरानो पुस्ताका शिक्षकलाई प्रविधि सिकाएर कक्षाकोठामा लागू गराउनु चुनौती रहेको बताउँछन् । ‘मैले त स्रोत शिक्षक हुँदा कम्प्युटर सिक्ने मौका पाएँ, त्यसले मलाई इमेल, इन्टरनेट चलाउने र केही काम गर्न सक्ने बनायो,’ उनले थपे, ‘मेरै उमेर समूह र पहिलाका साथीहरूलाई प्रविधिमैत्री बनाउन कठिन भएको छ ।’ धेरैको त समय पनि नहुने उनले बताए ।


हाङपाङमा भने दिनमा जम्मा चार घण्टी मात्रै हुन्छ । एउटा कक्षा ८० मिनेटको हुन्छ जसमा २० मिनेट सिकाऊने, २० मिनेट अन्तर्त्रिया गराउने, २० मिनेट प्रश्नोत्तर गर्ने र बाँकी २० मिनेट भोलिका लागि परियोजना कार्य दिने गरिन्छ । ‘सबै प्रविधियुक्त नभएर हुन सक्छ, अहिले ८० मिनेटको कक्षा चलाउन निकै किठन महसुस भएको छ,’ शिक्षक नरेन्द्र अधिकारीले भने । सिनाममा शिक्षकको संख्या बढी छ । शिक्षक महासंघका अध्यक्ष भएकाले शिक्षकमा प्रअ गौतमले पहुँच पुर्‍याएको अरूको आरोप छ । गौतम भने सरकारीभन्दा निजी लगानी बढी भएको दाबी गर्छन् । ‘मासिक ५० हजार तलब दिएर निजीमा दुई जना एमएससी शिक्षक राखेको छु,’ उनले भने, ‘उच्च मावि र क्याम्पससमेत भएकाले मात्रै माध्यमिक तहका विद्यार्थी थेग्न सकेका छौं, नत्र गाह्रो हुन्छ ।’ सकेसम्म विद्यार्थीको सेक्सन छुट्याएर एउटा कक्षाकोठामा ५०/५५ जनासम्म राखेर पढाएको उनले बताए । नमुना विद्यालयको इज्जत राख्न र विद्यार्थीलाई सिकाइमा दक्ष बनाउन बिहानैदेखि स्कुल लगाउने गरेको उनले बताए । ‘९ र १० का लागि बिहान साढे ५ बजेदेखि नै कक्षा हुन्छ । ६, ७ र ८ का लागि साढे ६ बजेदेखि हुन्छ । साना कक्षा १०–४ बजे सञ्चालन हुन्छ ।


बिहानैदेखि आउने विद्यार्थीका लागि खानाको व्यवस्था भने अभिभावकले नै गर्छन् । बिहानदेखि १० बजेसम्म अंग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञानजस्ता विद्यार्थीका लागि गाह्रो हुने विषय पढाउने गरेको गौतमले बताए ।


शैक्षिक सामग्रीको व्यवस्थापन र प्रयोगमा सबै विद्यालय चुकेका छन् । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्त विद्यार्थीलाई जति अन्तर्क्रियात्मक सिकाइ गरायो, त्यति नै दक्ष हुने बताउँछन् तर साँघुरा कक्षाकोठाका कारण धेरै विद्यालयमा आपसमा विद्यार्थी फर्काएर पढाउन सक्ने अवस्था छैन ।

दल र संघसंस्थाका कार्यक्रम विद्यालयमा

२०७६ पुसमा सरस्वती नमुना उन्मुख माध्यमिक विद्यालय हाङपाङमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले परियोजना हस्तान्तरण कार्यक्रम गर्‍यो । जिल्ला शाखाको आयोजना तथा हाङपाङ उपशाखाको समन्वयमा भएको कार्यक्रम आठराई त्रिवेणी गाउँपालिका ३ को यो विद्यालय हातामै गरियो ।


कार्यक्रममा दिनभरि सहभागी विद्यार्थी, शिक्षक र केही अभिभावक थिए । कार्यालयको अघिल्तिरै भएको कार्यक्रममा विद्यार्थीले हाजिर हुनेबाहेक कक्षामा बसेर पढ्न पाएनन् । त्यसको तीन दिनपछि यही विद्यालयको मैदानमा पालिकास्तरीय भलिबल तथा फुटबल छनोट प्रतियोगिता भयो । अम्पायरले फुकेको सिठी प्रत्येक कक्षाकोठामा सुनिन्थ्यो । भानुजन नमुना उन्मुख माध्यमिक विद्यालयमा आगामी फागुन ४ देखि ८ गतेसम्म जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता हुँदै छ । पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अवसरमा हुने प्रतियोगितामा खेलाडीदेखि हेर्ने र हुटिङ गर्ने दर्शकसम्मको भेला हुन्छ ।


यहाँ प्रत्येक वर्ष लाखे जात्राको अवसरमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता १० दिनसम्म हुने गरेको छ । चासोक तङनामलगायतका कार्यक्रम पनि यहाँको मैदानमा हुने गरेका छन् । सदरमुकामको विद्यालय भएकाले भानुमा राजनीतिक गतिविधिका कार्यक्रम भने खासै हुँदैनन् । राजनीतिक दल र संघसंस्थाका कार्यक्रमलाई विद्यालयबाट मुक्त गराउन चुनौती रहेको हाङपाङका प्रधानाध्यापक पोखरेल बताउँछन् ।

कस्तो छ सरकारी सहयोग ?

सरकारले प्रत्येक वर्ष नमुना उन्मुख विद्यालय घोषणा गरिरहेको छ । पहिला घोषणा गरिएका विद्यालयलाई १ करोड ५० लाख रुपैयाँ मात्रै दिइएको छ । यो रकमबाट विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ । हाङपाङ र सिनाम दुवैमा यही काम भइरहेको छ । भानुमा भने कार्यक्रम आइसकेको छैन ।


नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिकाअनुसार नमुना उन्मुख विद्यालयलाई नमुना बनाउन ३० जना विद्यार्थी बराबर एकजना शिक्षक हुनुपर्छ । ४५ जनाभन्दा माथि भए वर्ग छुट्याउनुपर्छ । ३० जनालाई प्रतिकक्षा विद्यार्थी आकार मानी थप शिक्षक व्यवस्थापन गर्नुपर्छ । थप शिक्षक व्यवस्थापनका लागि विद्यार्थी संख्याका आधारमा एकमुष्ठ अनुदान उपलब्ध गराउने उल्लेख छ । यो बाहेक विज्ञान विषयका लागि पर्याप्त प्रयोगशाला हुनुपर्ने, ११ र १२ मा अनिवार्य विज्ञान पढाइ हुनुपर्ने, कक्षाकोठा, खेलमैदान बालमैत्री तथा अपांगमैत्री हुनुपर्ने, विद्यालयमा कम्तीमा ४० सेट कम्प्युटर हुनुपर्ने, २ सय विद्यार्थीका लागि आवासीय प्रबन्ध हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।


विद्यालयमा प्राथमिक उपचार तथा परामर्श, व्यावसायिक कार्यशाला, घेराबारा बगैंचा र हिमाली तथा पहाडी क्षेत्रका विद्यालयको क्षेत्रफल कम्तीमा १० रोपनी हुनुपर्ने भनिएको छ । विद्यालयमा कला र संगीत, खेलकुद, कम्प्युटर, सूचना प्रविधि शिक्षक अनिवार्य हुनुपर्छ । ‘अहिलेकै लगानी र क्रियाशीलताअनुसार नमुना विद्यालय बनाउन निकै समय लाग्छ,’ सिनामका प्रअ गौतमले भने ।

स्थानीय तहको चासो कम

नमुना विद्यालय घोषणाका लागि स्थानीय तहले केन्द्रलाई सिफारिस गर्नुपर्छ तर सिफारिसपछिको सहयोगमा चासो नदेखाएको विद्यालयको गुनासो छ । पोखरेलले भने, ‘हाम्रो गाउँपालिकामा त कतिपय बजेट फ्रिज भएर पनि गयो, स्थानीय सरकारले सहयोगमा चासो देखाएको छैन ।’ हाङपाङ आठराई त्रिवेणी, सिनाम सिरिजंघा गाउँपालिका र भानु फुङलिङ नगरपालिकामा पर्छन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?