कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छरिता घर, चिटिक्क आँगन

जितेन्द्र साह

(मोरङ) — विभिन्न संस्कार र परम्परागत कर्महरूमा उपयोगी आँगन चिटिक्क पार्ने चलन छ । सहरमा उति नभए पनि ग्रामीण क्षेत्रमा यस्तै चलन छ । घर वा मन्दिर अघिल्तिर हुने आँगन लिपपोत गरी चिटिक्क पारिन्छ । धेरैतिर त्यसको छेउमा माटाको चुल्हो पनि बनाइएको हुन्छ ।

छरिता घर, चिटिक्क आँगन

धार्मिक विधिहरू आयोजना गर्न फराकिलो आँगन निकै महत्वपूर्ण हुन्छ । यो एउटा घर परिसरको संरचनामात्र नभइ संस्कारकै रुपमा स्थापित छ । ‘हाम्रो समुदायमा धर्म, संस्कृति, परम्परा र शिष्टता निर्वाह गर्न आँगन नभइ हुन्न,’ ७० वर्षीया लगनदेवी राजवंशी भन्छिन् । धनपालथान गाउँपालिका ६, दादरबैरिया बस्तीको मुख्य सडकछेउ उनको घर छ ।


‘पुजापाठ गर्न र चाडबाडमा पशुपंक्षीको बली दिन पनि आँगन चाहिन्छ,’ लगनदेवी भन्छिन्, ‘यहीं धान उसिन्छौं, भक्का, बगिया, च्यूरा र भुजा पनि तयार पार्छौं ।’ तराईका अधिकांश आदिवासी समुदायको छरिता घरका भित्तामा विभिन्न आकर्षक कलाले सजाइएको हुन्छ । स्थानीय बोलीमा आँगनलाई ‘ऐंगना ’ वा अंगना भन्ने गरिएको छ । छोरीचेलीको बिहेको महत्वपूर्ण विधि सम्पन्न गर्न चाहिने बाँस, पराल एवं रंगीचंगी कागजले बनाइने अस्थायी टहराझैं मण्डप मरवाका लागि पनि आँगन नै प्रयोग हुन्छ । ‘बिहेपछि पहिलो पटक छोरीज्वाइँ सँगै आउँदासम्म आँगनको मरवालाई नभत्काउने चलन छ,’ लगनदेवी भन्छिन् ।


आदिवासी राजवंशी बहुल दादरबैरिया बस्तीमा कसैको त घरले ओगटेजतिकै जग्गामा वा त्योभन्दा ठूलो भूभागमा आँगन छ । ६० वर्षीया लीलादेवी राजवंशीले १० धुरमा घर र त्यतिमै आँगन बनाएकी छन् । ‘जीवनदेखि मृत्युसम्मको संस्कार आँगनमै हुन्छ, नवजात शिशुलाई यहीं बसेर तेल लगाइन्छ,’ उनी भन्छिन्, ‘खेतको उत्पादनको बन्दोबस्ती पनि यहीं गर्छौं ।’ ३० वर्षीया राधा आचार्य राजवंशीको कच्ची घरमा चुलोसहितको सुन्दर आँगन छ र यहींको एक कुना उनको स्कुटी राख्ने थलो पनि हो । ‘हाम्रो पहिचानसँग जोडिएको छ, उहिलेको जस्तो त धर्मसंस्कारको निर्वाह गर्न सम्भव छैन तर सकेसम्म आँगन संस्कृतिलाई जोगाइरहेका छौं,’राधा भन्छिन् । कटहरीको जुडीमा माइती भएकी उनले दादरबैरियाको चन्द्रकिशोर राजवंशीसँग अन्तरजातीय प्रेम विवाह गरेकी हुन् ।


आचार्यसँग विहे गरेकी राधाको आमा राजवंशी जातिकै हुन् । ‘बाआमाले एक अर्काको संस्कृतिको धेरै सम्मान गर्छन, स्वतःस्फूर्त यो संस्कार ममा पनि आएको छ,’ उनी भन्छिन् । संस्कृतिका धनी आफ्नो समुदायले कुल देउताको पुजादेखि महत्त्वपूर्ण पर्वको विधि एवं जमघट आँगनमै गर्ने गरेको स्थानीय ५८ वर्षीय तीनटापु राजवंशीले बताए । ‘सानो भए पनि राख्नैपर्छ,’ उनी भन्छन् । सीमान्तकृत आदिवासी समुदायका राजवंशीको जनसंख्या मोरङमा ५० हजार छ । मुलुकभर १ लाख १५ हजार २ सय ५२ राजवंशी रहेको २०६८ को जनगणनामा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?