कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँचाइ गर्न डिप बोरिङ र ट्युबवेल

जितेन्द्र साह

(रामधुनी, सुनसरी) — दश कट्ठा जग्गामा वर्षभर अन्न, तेलहन र तरकारी फलाएर ८ जनाको परिवार धानिरहेकी ५५ वर्षीया गोरियादेवी चौधरी अचेल मख्ख छिन् । रामधुनी नगरपालिका–९ डुम्राहा बस्तीकी उनको खुशीको कारण हालै संघीय सरकारले डिप बोरिङ गरिदिनु र वडा कार्यालयले खेतखेतमा स्यालो ट्यूबवेलसहितको बोरिङ गाड्नु हो ।

सिँचाइ गर्न डिप बोरिङ र ट्युबवेल

एउटा स्यालो ट्युबवेलको मद्दतले ८ देखि १० विघामा खेती गर्न सकिन्छ । ‘नहर टाढा भएकाले मोटरले तानेर पाइपबाट खेतसम्म पानी ल्याउनुपर्थ्यो,’ उनले भनिन्, ‘डिप बोरिङ र स्यालो ट्युबवेल गाडिएकाले अब सहज हुने भएको छ ।’


सुनसरीको इनरुवा र इटहरीको माझमा यो हराभरा नगरपालिका पर्छ । सुनसरी मोरङ सिंचाइ आयोजनाद्वारा निर्मित नहरको पुछारमा यो बस्ती परेकाले पानी राम्ररी आइपुग्दैन । सरकारले २०५३ मा ६३ लाख रुपैयाँ लागतमा यो बस्तीको पुतौहधारा खोलालाई नियन्त्रण गरी ‘साइफन’ पनि बनाएको हो । तर आयोजनाले २ वर्ष सिंचाइ नपुर्‍याउँदै यो बस्तीभन्दा अगाडि उक्त खोलामा अर्को बाँध निर्माण गरिएकाले यहाँको अधिकांश खेत सिंचाइबाट वञ्चित थियो ।


सिंचाइ अभावमा चाहे जतिको उत्पादन लिन नसकिरहेको डेढ बिघामा खेती गरिरहेकी स्थानीय ३५ वर्षीया रीताकुमारी चौधरीले बताइन् । दुवै महिला कृषकले खेतदेखि बारीसम्मको एकएक इन्च जग्गाको सदुपयोग गर्दै वर्षभरि धान, गहुँ, लसुन, प्याज, काउली र आलु फलाउँछन् ।


रामधुनी–९ को वडा कार्यालयले २०७६/७७ को १ करोड ३७ लाख ५० हजार रुपैयाँ बजेटमा अधिकांश भाग किसानको हकमा खर्चिरहेको छ । यो वडामा झन्डै एक हजार बिघा खेत छ । यहाँका ३ हजार ५ सय मतदातामा झन्डै ९० प्रतिशत किसान छन् ।


‘नगरमा यो सबैभन्दा बढी कृषियोग्य जमिन र किसान भएको वडा हो,’ वडाअध्यक्ष घनश्याम चौधरीले भने, ‘नमुना कृषि वडा बनाउने लक्ष्यसाथ अघि बढेका छौं ।’ साढे तीन बिघा खेतमा अन्न एवं तेलहन बाली लगाउने ४० वर्षीय अशोक चौधरीले पानीको व्यवस्थाले गर्दा यसपालिदेखि वर्षभरि खेती गर्न पाउने एवं बाली पनि सप्रने बताए । ‘नहरको पानी मुस्किलले खेतसम्म आउने हुनाले १ विघामा ५०/६० मनभन्दा बढी धान हुँदैनथ्यो,’ उनले भने, ‘अब प्रतिबिघा सय मनसम्म उत्पादन हुने विश्वास छ ।’ साधनस्रोत उपलब्ध थालेकाले उत्पादनमा २० प्रतिशतले बढोत्तरी हुने ६७ वर्षीय केशीलाल साहले बताए । पुर्खौंदेखि माटामै रमाउँदै आएका उनी ५ बिघामा तोरी, मकै, गहुँ, मसुरी एवं चना लगाउँछन् ।


‘उबेला पहाडबाट झरेको खोलाको भरमा कृषिकर्म गर्थ्यौं, हिजोअस्तिसम्म नहर र आकाशकै पानीको आश थियो,’ साहले भने, ‘नहरको पानीमा गहुँ राम्रो हुन्न, यसले गहुँ रातो भइदिने हुनाले पछि युरिया हाल्नु पर्छ ।’ अहिले डिप बोरिङ र स्यालो ट्यूबवेल उपलब्ध भएकाले जतिखेर पनि आफैंले पानीको बन्दोबस्ती गरी वर्षमा दुई बाली धान र मकै लगाउन सकिने उनले बताए ।


पहिलो र दोस्रो आवमा कुल बजेटको केवल १५ प्रतिशत कृषिका लागि छुट्याएको वडा कार्यालयले किसानको जोस देखेर बजेट बढाएको हो । उक्त वडाको बजेट आव २०७४/७५ मा १ करोड ६२ लाख रुपैयाँ र २०७५/७६ मा १ करोड १८ लाख रुपैयाँ थियो । वडा कार्यालयले २०७६/७७ को कुल बजेटको २६.२५ प्रतिशत कृषि एवं पशुलगायतको आर्थिक विकासमा छुट्याएको छ ।


वडाले स्यालो ट्युबवेलका लागि २७ लाख रुपैयाँ छुट्टयाएको छ । वडा कार्यालयले पशुपालनलाई बढावा दिन कृत्रिम गर्भादानका लागि १ लाख रुपैयाँ, कृषि बाटोका लागि ५ लाख रुपैयाँ, पशुपक्षी खोपका लागि १ लाख रुपैयाँ, २५ परिवारले पाँच बिघा खेत भाडामा लिइ गरिरहेको सामूहिक खेतीका लागि २ लाख २० हजार रुपैयाँ छुट्टयाएको छ । कृषिप्रधान यो बस्तीबाहेक विशेषताअनुरूप बाँकी वडामा समेत खेती एवं पशुपालनलाई प्राथमिकतामा राखेको उक्त नगरका मेयर जयप्रकाश चौधरीले बताए ।

प्रकाशित : माघ २८, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?