कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बस्तीले खुम्चिँदै चारकोसे

गछियादेखि उर्लाबारीसम्म ११ हजार हेक्टर जंगल मिचेर दर्जन बजार 
विश्वविद्यालय, प्रहरी र कोसीटप्पुको कार्यालयसम्मलाई वनको जग्गा 
विनोद भण्डारी

विराटनगर — बस्ती थपिँदै बढ्दै जाँदा मोरङको चारकोसे जंगल क्षेत्र साँघुरिन थालेको छ । चारकोसे क्षेत्रको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्ग क्षेत्रमा तीव्र रुपमा सहरीकरण बढेको छ । मोरङको गछियादेखि उर्लाबारीसम्म पर्ने चारकोसे जंगलसँग जोडिएको राजमार्गमा दर्जनभन्दा बढी बजार विकासित भइसकेका छन ।

बस्तीले खुम्चिँदै चारकोसे

मोरङ खण्डमा पर्ने पूर्वपश्चिम राजमार्गमा गछिया, गोठगाउँ, सलकपुर, विराटचोक, खोर्साने, बेलवारी, लक्ष्मीमार्ग, भाउन्ने, कानेपोखरी, पथरी, मंगलवारे र उर्लावारीमा बाक्लो बस्ती बसेको छ । राजमार्गदेखि पाँच किलोमिटर उत्तरमा रहेको लेटाङ बजार पूरै जंगल क्षेत्र पर्छ । मोरङ खण्डमा पर्ने पूर्वपश्चिम राजमार्गमा बजार विस्तार हुँदा चारकोसे जंगलको झन्डै ११ हजार हेक्टर क्षेत्रफल घटेको छ । कागजी रूपमा ५५ हजार ५ सय हेक्टर जमिनमा रहेको चारकोसे जंगल अतिक्रमणमा परी ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए ।

भू–सूचना प्रणाली (जीआईएस) ले दुई वर्षअघि सार्वजनिक गरेको नापी सर्भे प्रतिवेदनमा चारकोसे जंगलको उक्त क्षेत्रफल उल्लेख भएको घिमिरेले जनाए । ‘अतिक्रमित जमिन फिर्ता ल्याउन वन कार्यालय र स्थानीय संरचना सक्षम छैन,’ उनले भने ‘यसका लागि सरकारले नै केही गर्नुपर्छ ।’

झुप्रा घरदेखि विकसित बजार

यस क्षेत्रको विराटचोक, बेलबारी, पथरी र उर्लाबारी बजार आधुनिक रूपमा विकसित भएका छन् । २०४२ सालअघि विराटचोकमा दुईचार झुप्रा घर थिए । तत्कालीन जिल्ला पञ्चायतका सभापति काजीमान कन्दङवाको पहलमा जंगल क्षेत्रमा पर्ने हालको राजमार्गको ट्र्याक खुलाएपछि त्यहाँ बसोबास बढेको सुन्दरहरैचा नगर प्रम्खु शिवप्रसाद ढकालको बुझाइ छ । ‘केही झुप्राबाट सुरु भएको विराटचोक अचेल सुविधासम्पन्न बजारमा परिणत भएको छ,’ ढकालले भने, ‘जंगल हुँदै सडकको ट्रयाक खुलेपछि धमाधम बस्ती बढ्न थालेको हो ।’ बस्ती र बजार विस्तार भएसँगै विकासले पनि गति लिएको उनले बताए । जंगलसँगै जोडिएको सुन्दर हरैचा नगरपालिकामा पनि २०४६ सालपछि चारकोसे जंगल अतिक्रमण गरेर बस्ती विस्तार हुने क्रम बढेको स्थानीयको भनाइ छ । यहाँ मात्र सय बिघाभन्दा बढी जंलको जमिन अतिक्रण गरेर बस्ती बसेको अनुमान छ । यो नगरका वडा ४, ५, ९ र १० मा चारकोसे जंगलको सयौं बिघा जमिन अतिक्रमण गरेर सयौं घर निर्माण भएका छन् ।

यही क्षेत्रमा पूर्वाञ्चल विश्वविद्यालयलाई चारकोसे जंगलको ८०५ बिघा, प्रदेश प्रहरीलाई ५० बिघा र कोसीटप्पु सट्टाभर्नाको नाममा १४० बिघा जमिन हस्तान्तरण गरिएको छ । सुन्दर हरैचा पूर्वको बेलबारी बजार पनि राजमार्ग र चारकोसे जंगलमै पर्छ । यो बजारमा २०१४ सालदेखि बस्ती बस्न थाले पनि २०४६ सालयता बस्ती बाक्लिएको हो ।

सामुदायिक वन अतिक्रमण

बेलबारी १ र ३ मा पर्ने अमना सिसौली र नक्सालबारी सामुदायिक वन क्षेत्रको झन्डै १० बिघा जमिन अतिक्रमण गरेर सयौं घर निर्माण गरिएका छन् । त्यस्तै वडा ११ को लक्ष्मीमार्ग र भाउन्ने बजार क्षेत्र पूरै चारकोसे जंगलको जमिन अतिक्रमण गरेर बसेको हो ।


खासगरी २०४६ सालको जनआन्दोलनपछि चारकोसे जंगलसँग जोडिएको राजमार्ग आसपासमा बस्ती बस्ने र बजार विस्तार हुने क्रम बढेको स्थानीयको भनाइ छ । ‘२०४६ सालको जनआन्दोलनअघि बेलबारी ११ भाउन्नेमा चारवटा झुप्रा थिए,’ सृजना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्र लिम्बूले भने ‘त्यसपछि धमाधम जंगलको जमिन अतिक्रमण गरेर ठूलो बस्ती बस्यो । अहिले त्यो बस्तीलाई भाउन्ने बजार भनिन्छ ।’


भाउन्नेदेखि एक किलोमिटर पश्चिमको लक्ष्मीमार्गमा पनि २०४६ सालअघि औंलामा गन्न सकिने टहरा थिए । त्यहाँ पनि त्यसयता बाक्लो बस्ती बसेर लक्ष्मीमार्ग बजारमा परिणत भएको छ । त्यो बस्ती पनि चारकोसे जंगलअन्तर्गत लक्ष्मी सामुदायिक वनको जमिन अतिक्रमण गरेर बसेको बेलबारी ११ का वडा अध्यक्ष राजन पोखरेलको भनाइ छ ।

लक्ष्मीमार्गमा अहिले जंगलको जमिन अतिक्रमण गरेर ६ सयभन्दा बढी घर निर्माण भएका छन् । पोखरेलले भने ती घरले लक्ष्मी सामुदायिक वनको झन्डै चार हेक्टर जमिन अतिक्रमण गरेका छन् । भाउन्नेदेखि करिब ५ किलोमिटर पूर्वमा पर्ने कानेपोखरी बजार क्षेत्र पनि सबै जंगलको क्षेत्र हो । यो बजार पनि २०४६ सालयता विस्तार भएको हो । ‘यो बजारमा जंगलको जमिन अतिक्रमण गरेर ६८ घर निर्माण गरिएका छन्,’ सब–डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख तुलसी यादवले भने, ‘यहाँ जनजागृति सामुदायिक वनको करिब दुई बिघा जमिन अतिक्रमण गरेर कानेपोखरी बजार स्थापना भएको हो ।’


२०३५ सालदेखि बसोवास सुरु भएको पथरी बजारमा पनि २०४६ सालको परिवर्तनसँगै बाक्लो बस्ती बस्न थालेको स्थानीयको भनाइ छ । यो बजारमा पनि राजमार्ग उत्तर र दक्षीणमा गरेर चारकोसे जंगलको कम्तीमा ६० बिघा जमिन अतिक्रमण गरेर बस्ती बसेको वडा १ का अध्यक्ष बाबुराम योङदेनले बताए ।

राजमार्ग क्षेत्रको बजार वडा १, २ र १० मा पर्छ । राजमार्ग उत्तर र दक्षिणतर्फको पश्चिम क्षेत्रको बजार र बस्ती जंगलको जमिन अतिक्रमण गरेर बसेको हो । योङदेनले भने जंगल अतिक्रमण गरेर पथरीमा मात्र १५ सयभन्दा बढी घर बनेका छन् । उनका अनुसार पहिले पथरी झुप्रा घर भएको बजारले चिनिन्थ्यो । अहिले जताततै पक्की घर छन् ।


राजमार्ग उत्तर जंगलको बीचमा रहेको लेटाङ नगरपालिकामा मात्र चारकोसे जंगल अतिक्रमण गरेर बसोबास गर्ने परिवारको सख्या ३ हजारभन्दा बढी छ । ‘बजार क्षेत्र सबै चारकोसे जंगलको जमिन हो,’ नगर प्रमुख शंकर राईले भने, ‘यो नगरमा चारकोसे जंगल अतिक्रमण गरेर बसोबास गर्नेको सख्या तीन हजारभन्दा बढी छ ।’

२०२४ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा जंगल अतिक्रमण गरेर बसेको उनको भनाइ छ । त्यसैगरी केराबारीसहित उर्लाबारीको मंगलबारे र मधुमल्लामा पनि जंगलको जमिन अतिक्रमण गरे बस्ती र बजार विस्तार गरिएको छ ।


अतिक्रमित जमिनै किनबेच

बेलबारी नगरपालिका ११ का रामकुमार लिम्बूले लालपुर्जाबिनाको लक्ष्मीमार्गको चार धुर जमिनमा करिबव ६० लाखको लागतमा तीनतले घर बनाएका छन् । तर, उनको घरले चर्चेको जमिन चारकोसे जंगलको नाममा छ । उक्त घर र जमिन लिम्बूले चाहे तत्काल महँगोमा बिक्छ ।


त्यहीँका याम कार्की, पदम राई, वीरबहादुर धिमाल र मीनु लिम्बूले पनि लालपुर्जा नै नभएको जमिनमा चारतले घर बनाएका छन् । उनीहरूले पनि आफ्नो घर बेच्न चाहँदा तुरुन्त बिक्छ । अन्यत्रको भन्दा बढी मूल्य पनि पाउँछ ।


लालपुर्जै नभएको जमिन र त्यसमा निर्माण भएको घर किनबेच हुँदा स्थानीय बजार व्यवस्थापन समितिले अभिलेख राख्छ र त्यसबापत बजार व्यवस्थापनका नाममा केही राजस्व रकम पनि असुली गर्दै आएको छ । समितिको अध्यक्ष रामकुमार लिम्बू हुन् । बेलबारीको लक्ष्मीमार्गमा मात्र करिब ६ सय घर लालपुर्जाबिनाको जमिनमा बनेका छन् । ती घर निर्माण भएको जमिन चारकोसे जंगलको हो । लक्ष्मी सामुदायिक वनको क्षेत्र पर्ने यो ठाउँमा करिब चार हेक्टर वनको क्षेत्रफल अतिक्रमण गरेर बस्ती बसेको वडाध्यक्ष राजन पोखरेलको भनाइ छ ।


‘ती बस्तीका कुनै पनि घर र त्यसले चर्चेको जमिनको लालपुर्जा छैन,’ पोखरेलले भने ‘तर घर र जमिन किनबेच भइरहन्छ । यहाँको जमिन नम्बरीभन्दा महँगोमा बिक्री हुँदै आएको छ, लालपुर्जाबिनाको यहाँको जमिन प्रतिधुर ५ लाख रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।’

अतिक्रमित जमिनमा निर्माण भएका घरको अभिलेख बजार व्यवस्थापन समितिमा छ । समिति अध्यक्ष लिम्बूका अनुसार यो बस्तीका कसैले घर र जमिन बेच्दा समितिलाई जानकारी दिन्छ । त्यसपछि समितिले फलानाले भोग गरेको जमिन फलनाको अधिनमा रहेको भन्ने अभिलेख राख्ने गरेको लिम्बूले बताए । उनका अनुसार त्यसबापत समितिले खरिद बिक्रीको रकमअनुसार कम्तीमा १ हजार ५ सयदेखि ३ हजारसम्म राजस्व लिन्छ र त्यो रकम बजार व्यवस्थापनमा खर्च गर्छ । वनक्षेत्र अतिक्रमण गरेर बनाइएको घर र जमिनको तत्कालीन डाँगीहाट गाउँ विकास समितिले कार्ड नम्बर वितरण गरेको थियो । त्यही कार्ड नम्बरअनुसार बजार व्यवस्थापन समितिले अभिलेख राखेको छ । अभिलेखमा प्रत्येक व्यक्तिले चर्चेको जमिनको चार किल्ला प्रमाणित गरी भोगवालाको फोटो टाँसिएको छ । अध्यक्ष लिम्बूका अनुसार त्यो जमिन कसैले बिक्री गरे उसको अभिलेखबाट उसको नाम र फोटो हटाएर नयाँ खरिदकर्ताको नाम र फोटो राखिन्छ । त्यही अभिलेखका आधारमा यहाँको जमिन र घर खरिद बिक्री हुँदै आएको लिम्बूको भनाइ छ ।

प्रकाशित : माघ २२, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?