कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भेटीमा पुजारीकै कब्जा

इटहरी — चर्चित धार्मिक तीर्थस्थलहरू रहेको सुनसरीमा भक्तजनले चढाएको भेटी पुजारीको निजी सम्पत्ति बन्ने गरेको पाइएको छ । बूढासुब्बा, दन्तकाली, पिण्डेश्वर, बराहक्षेत्र र रामुधनी मन्दिरमा वार्षिक लाखौं रुपैयाँ दान संकलन हुने गर्छ । पुजारीले निजी बनाउने गरेकाले त्यसबाट धाम व्यवस्थापनको काम हुन सकेको छैन ।

भेटीमा पुजारीकै कब्जा

धरानस्थित दन्तकाली मन्दिरमा ८ जना पुजारी छन् । उनीहरू चार दाजुभाइका सन्तान हुन् । वार्षिक रूपमा पूजा गर्ने अंशबन्डै कायम गरेका छन् । गीर्वाणयुद्धविक्रम शाहले विसं १८६८ मा तनहुँका रामचन्द्र र तुलाराम खनाल दाजुभाइलाई विर्तास्वरूप दिएको ताम्रपत्रका आधारमा खनालले मन्दिरको भेटी भोगचलन गर्दै आएका हुन् ।


मन्दिरका पुजारी र व्यवस्थापन समतिले भेटी संकलन अभिलेख नराख्ने हुँदा यकिन तथ्यांक छैन । भक्तजनले चढाउने गरेको परिमाणका आधारमा वार्षिक १५ लाख रुपैयाँ संकलन हुने गरेको अनुमान छ । मन्दिर व्यवस्थापन समिति अध्यक्ष तथा पुजारी विश्वराज खनालले सेन राजाको पालादेखि पुर्खाले पूजा गर्दै आएको बताए ।


उनका अनुसार भेटी बहालवाला पुजारीले पाउने गरेको छ । मन्दिरमा करिब २ सय तोला चाँदी रहेको मध्ये ८० तोला चाँदीका सामान दैनिक पूजामा प्रयोग हुने गरेको छ ।


‘लगत संकलन गर्ने चलन त्यसबेला पनि थिएन,’ खनालले भने, ‘आजसम्म लगत संकलन छैन ।’ आगामी वर्षदेखि भने बहुमूल्य धातुहरू पालो सकिएको पुजारीले एक हप्ताअघि बुझाउने नियम लागू गरिने उनले बताए । गुठी संस्थानले मन्दिरको खर्चस्वरूप वार्षिक ४० हजार रुपैयाँ दिने गरेको छ । पुजारी र मन्दिरका लागि खर्च पर्याप्त नहुने भएकाले भेटी प्रयोग गर्ने गरेको पुजारीको भनाइ छ । सबै खर्च कटाएर पुजारीले वार्षिक ४ देखि ५ लाख रुपैयाँ भोग गर्न पाइने उनीहरूको भनाइ छ ।


‘हेर्दा ठूलो मन्दिर हो,’ उनले भने, ‘धेरै भेटी हुन्छ होला भन्ने हुन्छ, तर त्यस्तो हुँदैन’ उनले भने । भेटी संकलन नहुने हो भने गुठीले दिएको भरमा मन्दिर खर्च धान्न गाह्रो रहेको उनी बताउँछन् । खनालले पूजा गर्ने जिम्मेवारी पाए पनि उनीहरू स्वयं पूजा भने गर्दैनन् । उनीहरूले २१ वर्षदेखि कमल भट्टराईलाई मुख्य पुजारी बनाएका छन् । उनलाई मासिक तलब दिइएको छ ।


पिण्डेश्वर बाबाधामको अवस्था पनि उस्तै छ । मन्दिरमा उठेको भेटी पुजारी विनोद पोखरेलले निजी आम्दानी बनाएका छन् । पुजारी विनोदले भने, ‘भेटी भनेको आकाशको फल जस्तै हो,’ उनले भने, ‘यति नै भन्ने हुँदैन, साउनको मेलामा जस्तो भक्तजन आए ७ लाख भेटी संकलन हुन सक्छ ।’ पुजारीले गुठीबाट मासिक १५ सयसमेत पाउने गरेका छन् । उनका बुवाले २००८ सालदेखि पूजा गर्दै आएका थिए ।

गुठी संस्थानले मन्दिर खर्च भनेर १ लाख ८० हजार दिने गर्छ । त्यसबाट मासिक तलब छुटिने गरेको छ । भेटीमार्फत गुजारा चलाउँदै आएको उनले बताए । पुर्खाले पूजा गर्दै आएको कारण निरन्तरता दिएको उनको भनाइ छ । मन्दिरमा पिण्डेश्वर बाबाधाम व्यवस्थापन समितिले मुख्य प्रवेशद्वारमा दानपेटिका राखिएको छ ।


समितिका अध्यक्ष विकास बनेपाली मन्दिरमा ६ देखि १० लाख रुपैयाँ संकलन हुने अनुमान गर्छन् । उनले भने, ‘साउनमा मात्र ४ लाख संकलन हुन्छ । मूल मन्दिरमा अझ धेरै भक्तले चढाउने गर्छन् ।’ दानपेटिका ३ देखि ४ महिनामा खोल्ने गरिएको छ । पछिल्लोपटक पुस १ गते दानपेटिका खोल्दा ३० हजार संकलन भएको थियो ।


रामधुनी नगरपालिकामा पर्ने रामधुनी मन्दिरमा संकलित भेटीसमेत पुजारी काशीदास उदासीले चलाउँछन् । उनले २०२५ सालदेखि पूजा गर्दै आएका हुन् । उनका अनुसार दैनिक १ सयदेखि ५ सय रुपैयाँ संकलन हुने गर्छ ।


यता, रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समिति अध्यक्ष डिल्ली कार्कीले भने बालाचतुर्दशी र रामनवमी मेलामा मात्र ३ लाख ५० हजार रुपैयाँ संकलन भएको बताए । उनले भने, ‘मन्दिरमा वर्षमा दुई पटक मेला लाग्छ । मेलामा त यति रकम उठ्यो भने मूल मन्दिरमा अवश्य बढी भेटी चढ्नुपर्ने हो ।’


मन्दिरको मुख्य स्रोत नै भेटी भएकाले मन्दिरको खर्चमा प्रयोग गर्दा उपयुक्त हुने उनी बताउँछन् । मन्दिरको रंगरोगन, व्यवस्थापन सबै समितिले व्यहोर्दै आएको छ । समितिले यस वर्षदेखि भने दुई दानपेटिका राखेको छ । समितिले वर्षमा दुई पटक दानपेटिका खोल्ने गरेको छ । वार्षिक करिब ३० हजार रुपैयाँ जम्मा हुन्छ । मन्दिरमा गौशाला छ ।


गोठाला, सरसफाइ कर्मचारी, मलमूत्र प्रशोधन गर्नेलगायत कर्मचारीलाई तलब दिनसमेत मुस्किल भएको कार्कीले बताए । गुठीले भेटी संकलन विवरण राख्न पत्र पठाए पनि कार्यान्वयन भएको छैन ।


गुठी व्यवस्थापन समिति सचिव राम कोइरालाले मन्दिरको मुख्य आम्दानी पुजारीले राख्ने गरेको बताउँदै भने, ‘मन्दिरको खर्च धान्न मुस्किल छ । त्यसैले गुठीले दिएको अधिकार लागू गर्नेछौं ।’ प्रसिद्ध तीर्थस्थल बराहक्षेत्र मन्दिरमा समेत पुजारी किरण भण्डारीले भेटी भोगचलन गर्दै आएका छन् ।


यो मन्दिरमा करिब ८ देखि १० लाख रुपैयाँ भेटी संकलन हुन्छ । गुठीले पुजारीका लागि मासिक १५ सय रुपैयाँ र पूजाका लागि वार्षिक ९ हजार रुपैयाँ दिने गरेको छ । वार्षिक लाखौं रुपैयाँ भेटी र चन्दा संकलन भए पनि मन्दिरको भौतिक संरचना सुधार्न ध्यान पुगेको छैन । भेटीबाट मन्दिरको मर्मत, रंगरोगन गर्दै आएको भण्डारीको दाबी छ ।

‘वार्षिक ५ पटक हवन हुन्छ,’ उनले भने, ‘नवरात्रिमा समेत ठूलो खर्च हुन्छ । सबै भेटीबाट खर्च पुगेको छ ।’

बराहक्षेत्र संरक्षण मञ्चले मन्दिरमा लाग्ने मेलामा चन्दा उठाइने गरेको छ । संकलित रकम भौतिक संरचना निर्माणका काममा प्रयोग हुने गरेको बताउँदै आएका छन् । मन्दिरमा आएकामध्ये कमले मात्र भेटी चढाउने गरेको भन्दै पुजारी पन्छिने गरेका छन् । वार्षिक ६ लाख बढी भक्तजनले मन्दिरको दर्शन गर्ने गरेका छन् ।


बूढासुब्बा मन्दिरमा भक्तले चढाएको भेटी पुजारी डम्बरबहादुर आले मगरको जिम्मामा छ । बूढासुब्बा मन्दिर परिषद्का सचिव उत्तम आलेले वार्षिक चार लाख रुपैयाँ भेटी संकलन हुने बताए । तर यसको अभिलेख राखेका छैनन् ।


प्रकाशित : माघ १३, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?