कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भूमिहीनलाई पक्की घर

प्रत्येक परिवारलाई सात धुरमा चारकोठे घर दिने नगरको योजना 
१८ कट्ठामा २४ वटा पक्की घर तयार 

(दमक) — अति विपन्न तथा भूमिहीन सुकुम्बासी परिवारका लागि दमक नगरपालिकाले व्यवस्थित घर ‘नमुना बस्ती’ निर्माण गरेको छ । १८ कट्ठा सरकारी जमिनमा नगरपालिकाले २४ वटा पक्की घर निर्माण गरेको हो ।

भूमिहीनलाई पक्की घर

दमक १ स्थित रतुवा खोलाको उकास जमिनमा व्यवस्थित बस्ती बसाल्ने उद्देश्यले ‘एकीकृत नमुना बस्ती’ निर्माण गरेको नगरपालिकाले जनाएको छ । पक्की पर्खालसहितको बस्ती निर्माण गर्न ३ करोड ७० लाख रुपैयाँ खर्च भएको नगरपालिकाका योजना शाखा प्रमुख इन्जिनियर तीर्थ श्रेष्ठले जानकारी दिए ।


गत वर्षको संघीय स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमको एक करोड ४० लाख, प्रदेश सरकारको ससर्त अनुदान १ करोड ३० लाख र नगरपालिकाको एक करोड रुपैयाँ लगानीमा बस्ती निर्माण गरिएको श्रेष्ठले बताए ।


एउटा परिवारका लागि ८ धुर जमिन उपलब्ध गराइएको छ । जसमा दुइटा बेडरुम, एउटा लिभिङरुम, एउटा किचन र बरन्डासहित चार कोठाको घर निर्माण गरिएको छ । प्रत्येक परिवारको लागि शौचालय, पानीको व्यवस्था गरिएको छ । टिनको जस्ता पाता लगाइएको घरमा जिप्सनको सिलिङ समेत निर्माण गरिएका छन् । विद्युत जडान, ढल निकास तथा बस्तीमा लकिङ टायल समेत बिछ्याउने उपमेयर गीता अधिकारीले जानकारी दिइन् । ‘सबै घरहरू भवन मापदण्डअनुसारका छन् । फराकिला कोठा र आवश्यक सबै पूर्वाधार निर्माण गरेका छौं,’ उनले भनिन् ।


ती घरहरू भूमिहीन सुकुम्बासीलाई उपलब्ध गराउन लागेको मेयर रोमनाथ ओलीले जानकारी दिए । ‘जो तीन पुस्तासम्म सुकुम्बासी छ । मुलुकभरि एक धुर जमिन छैन । र, दमक नगरपालिकाभित्र कम्तीमा १० वर्षदेखि बसोबास गर्दै आएको छ भने त्यस्तो परिवारलाई यी घर उपलब्ध गराउन लागेका हौं’ मेयर ओलीले भने ।


अहिलेसम्म ६ परिवार छनोट गरिसकेको उनले बताए । नगरपालिकाले चालु वर्षमा पनि अर्को एउटा नमुना बस्ती निर्माण गर्ने मेयर ओलीले जानकारी दिए ।


‘वडा नं. ७ मा पनि करीब एक बिघा सरकारी जमिन फेला परेको छ । उक्त जमिनमा पनि भूमिहीन सुकुम्बासीका लागि घर निर्माण गर्ने तयारीमा छौं’ उनले भने । चालु वर्ष नुमना बस्ती निर्माणका लागि संघीय स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रमबाट एक करोड ४९ लाख र समपूरक कोषबाट दुई करोड रुपैयाँ खर्चने गरी रकम विनियोजन गरिएको ओलीले बताए । नगरभित्रका सुकुम्बासीहरूलाई व्यवस्थित बसोबास गराउने योजनाअन्तर्गत आफ्नो कार्यकालभरि नमुना बस्ती निर्माण गर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ ७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?