कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल बनाउन म्याद थपेको थप्यै

इलाम — सडक डिभिजन कार्यालयमार्फत इलामको विभिन्न खोलामा निर्माणाधीन आधा दर्जन पक्की पुल अझै बन्न सकेको छैन । पछिल्लो समय ती पुल निर्माणका लागि ठेकेदार कम्पनीलाई म्याद थप गर्नुपर्ने अवस्था छ ।


नाम चलेका र ठूला कम्पनीले नै जिम्मा लिएका पुल निर्माण समयमा हुन नसकेको हो तर सरकारले अवसरसँगै १ वर्षमा अधुरा काम सक्ने वाध्यकारी व्यवस्था गरेकाले अधिकांश पुलको काम सकिने अवस्था आएको कार्यालयको भनाइ छ ।


सडक डिभिजनमार्फत इलाम, पाँचथर र ताप्लेजुङमा गरी राजमार्ग क्षेत्रमा ६ वटा र स्थानीय सडकमा १० वटा पुलको काम अघि बढेको छ । मेची राजमार्ग कावेलीमा पुल निर्माणको काम भइरहेको छ । त्यस्तै दमक–चिसापानी–रवि सडकअन्तर्गत बागमारा र घती दोभानमा पुल निर्माणाधीन छन् । त्यस्तै, इलाम सन्दकपुर रोडको गिताङ र राते खोलामा पुल निर्माण भइरहेको छ । फिक्कलबाट पशुपतिनगर हुँदै अन्तु जाने सडकको सिद्धिखोलामा पनि निर्माणको काम अघि बढेको छ ।


सन्दकपुर रोडको माइमझुवामा पर्ने गिताङ र रातेखोलामा निर्माण थालिए पनि अधुरै छन् । गिताङ पुलको निर्माणको जिम्मा लिएको नागार्जुन कम्पनीले म्याद थपेर केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएको छ । ‘सुरुमा यतैका ठेकेदारमार्फत काम गराउँदा केही ढिलो भएको हो,’ कम्पनीका इन्जिनियर शुलभ भट्टले भने, ‘अहिले अधुरै रहेका योजनालाई पूरा गर्ने गरी केन्द्रबाट नै काम भइरहेको छ ।’


यता रातेखोला पुलको निर्माण कार्य वर्षौंअघि सुरु भए पनि पूरा नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । ‘दुईतर्फको जिप आधा आधा मात्र उठाइएको र लामो समय काम बन्द हुँदा फलामे डन्डीहरू खियाले मकाउने अवस्थामा पुगेको छ,’ स्थानीय कमल गुरुङले भने, ‘सम्बन्धित निकायले तत्काल गुणस्तरीय काम गराएर स्थानीयसँगै सन्दकपुर जाने पर्यटकलाई सहज बनाउनुपर्छ ।’


सडक डिभिजन कार्यालयले ठेकेदार सम्पर्कमा आएकाले चाँडै काम अघि बढ्ने जनाएको छ । लामो समयसम्म काममा ढिलाइ भएको राजदुवाली दानाबारी सडक खण्डको बुढी सुखानी र इलाम नयाँबजार सडक खण्डको माइखोला दुधाङ पुलको काम पनि वर्षौंदेखि अलपत्र छ । ढिलो गरी ठेकेदार कम्पनी सम्पर्कमा आएर काम थालेकाले चाँडै पूरा हुने सडक डिभिजन कार्यालयका प्रवक्ता मिलन श्रेष्ठले बताए ।


पुलको आधाभन्दा बढी काम सके पनि निर्माण नै अलपत्र पारेपछि उक्त सडकको यात्रा वर्षायाममा जोखिममा पर्ने गरेको छ । इलामको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी तथा माङ्सेबुङ गाउँपालिकाका विभिन्न ठाउँबाट हाट बजार भर्न झापा, खुदुनाबारी, शनिश्चरे, विर्तामोडजस्ता सहरहरूमा जाने मुख्य सडकमा पर्ने पुल तत्काल निर्माण पूरा गर्नुपर्ने स्थानीयको माग छ । वर्ष ०६८/६९ मा स्काई, अजम्बर, शिवराम जेभीले साझेदारीमा उक्त पुलको ठेक्का लिएको यो पुलको काम चाँडै सक्ने गरी कम्पनीले काम थालेको कार्यालयले जनाएको छ । स्ल्याब हाले पनि पुलका अन्य निर्माण र एक्सेस रोड बनाउन बाँकी छ । वर्षौंअघि थालिएको पुल पूरा नहुँदा इलाम नयाँबजारको यात्रा सहज छैन ।

प्रकाशित : माघ ४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?