बेतिनीमा पूर्वाधार अभाव  - प्रदेश १ - कान्तिपुर समाचार

बेतिनीमा पूर्वाधार अभाव  

डिल्लीराम खतिवडा

(बेतिनी, उदयपुर) — बेतिनी भन्ज्याङ क्षेत्रमा घन्टैपिच्छे मौसम परिवर्तन भइरन्छ । एक क्षणमा बादल लाग्छ । तुरुन्तै टन्टलापुर घाम लाग्छ । बादल लाग्दा जीउ नै कमाउने जाडोले बसिसक्नु हुँदैन । फेरि घाम लागेपछि यो ठाउँ छोड्नै मन लाग्दैन । 

कटारी नगरपालिका–११ स्थित बेतिनी भन्ज्याङ क्षेत्रबाट हिमाल, पहाड र तराईका सुन्दर दृश्य अवलोकन गर्न सकिन्छ । यति विशेषता हुँदा पनि यहाँ पर्यटकीय चहलपहल हुन सकेको छैन । प्रसिद्ध पर्यटकीय स्थल भेडेटारबराबरकै उचाइ र मौसम भएको यो क्षेत्र सरोकारवालाको बेवास्ताले ओझेल परेको हो । यहाँको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नेतर्फ खासै चासो देखिँदैन ।

मुलुकभर नेपाल भ्रमण वर्ष २०२० का विभिन्न कार्यक्रम र तयारी चलिरहँदा बेतिनीमा पर्यटकलाई व्यवस्थित होटेल र लजसमेत छैन । त्यसैले उल्लेख्य संख्यामा पर्यटक तान्न सक्ने यो क्षेत्र अहिले सुनसान छ । ‘बेतिनी भन्ज्याङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरे प्रशस्त लाभ लिन सकिन्छ,’ स्थानीय नरमान मगरले भने, ‘तर यो क्षेत्रको विकास हुन सकेको छैन ।’ बेतिनी भन्ज्याङ पर्यावरणीय हिसाबले समेत महत्वपूर्ण रहेको स्थानीय मिना राउतको भनाइ छ । ‘तर, यहाँ कसैको नजर परेको छैन, भ्रमण वर्षका लागि विभिन्न कार्यक्रम भइरहँदा बेतिनी पनि एउटा पर्यटकीय स्थल हो भन्ने प्रचारप्रसार हुन सकेको छैन,’ उनले भनिन् । पूर्व क्षेत्रकै पुरानो बजार कटारीदेखि सिद्धिचरण राजमार्ग हुँदै पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी महादेव दर्शन गर्न हजारौं सर्वसाधारण बेतिनीकै बाटो जान्छन् ।


कटारीबाट २२ किमि उत्तर सिद्धिचरण राजमार्गमै पर्ने बेतिनीमा एक छिन नरोकिने र अवलोकन नगर्ने यात्रु कमै हुन्छन् । तर, होटेल, लज र अन्य पूर्वाधार अभावमा चाहेर पनि बास बस्न सक्दैनन् । ‘बेतिनीबाट सगरमाथालगायत हिमाल र नेपाल तथा भारतका तराई क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ,’ कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘यो भेडेटारजस्तै पूर्वकै महत्त्वपूर्ण पर्यटकीय स्थल हुन्छ भन्ने थाहा पाउँदापाउँदै पूर्वाधार तयार गर्न सकिएको छैन ।’ अहिले नगरपालिकाबाट आएको बजेटले पूर्वाधार तयारी थालिएको उनले बताए ।


पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको नेपालका पर्यटकीय क्षेत्रहरूको सूचीमा बेतिनीको नाम समावेश छैन । हरेक दृष्टिले महत्वपूर्ण भएर पनि सूचीमा नपर्नु यस क्षेत्रकै दुर्भाग्य भएको स्थानीयको गुनासो छ । कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बेतिनीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न बृहत गुरुयोजना बनाउन लागेको बताउँदै आएका छन् ।


प्रकाशित : माघ ३, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्

कम्प्युटरबिनै कम्प्युटर शिक्षा

जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर विषय राखिए पनि शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटर नै छैन । 
अर्जुन राजवंशी

(बिर्तामोड) — आसिक माझी कक्षा ७ का विद्यार्थी हुन् । उनले कक्षा ५ देखि नै कम्प्युटर विषय पढेका हुन् तर अझै चलाउन जान्दैनन् ।

उनले कम्प्युटर देख्न पाएको बल्ल चार महिना हुँदै छ । चार महिनामा तीनपटक कम्प्युटर सिक्ने मौका पाए । आसिक मात्र होइन, भद्रपुर नगरपालिका–४ मन्त्रीबारीस्थित महेशपुर आधारभूत विद्यालयका विद्यार्थी कम्प्युटर खोल्न र बन्द गर्नबाहेक केही जान्दैनन् । यहाँ कम्प्युटर पढाउने विषयगत शिक्षक छैनन् । विद्यार्थीलाई प्रयोगात्मक रूपमा सिकाउने कम्प्युटर पनि छैन । कार्यालय प्रयोजनका लागि नगरपालिकाले गत भदौमा दिएको एक थान कम्प्युटरमा मौका पारेर सिकाउने गरिएको प्रधानाध्यापक नारद प्याकुरेलले जानकारी दिए ।

झापाका अधिकांश सामुदायिक विद्यालयले ‘स्थानीय विषय’का रूपमा कक्षा ३ देखि नै कम्प्युटर पढाइरहेका छन् । प्राविधिक ज्ञानसहितको शिक्षा दिने उद्देश्यले सुरु गरिएको पढाइको अवस्था भने बेहाल छ । माविमा कम्प्युटर पढाइ ठीकठीकै भए पनि प्राथमिक र आधारभूत विद्यालयमा दयनीय छ । सय पूर्णांकको विषय पढाउन कुनै पनि विद्यालयमा विषयगत शिक्षक छैनन् । प्राथमिक र आधारभूत विद्यालयमा त कम्प्युटरसमेत छैन ।

‘विषयगत शिक्षकको दरबन्दी छैन । लेखा कर्मचारीमार्फत विद्यार्थीलाई कम्प्युटर सिकाइरहेका छौं,’ भद्रपुर नगरपालिका–२ स्थित सगरमाथा माविका प्रधानाध्यापक भक्त भट्टराईले भने । कम्प्युटर नै नसिकेका शिक्षकले उक्त विषय पढाइरहेका छन् । ‘हामीलाई नै कम्प्युटर चलाउन आउँदैन । विद्यार्थीलाई कसरी सिकाउनु ?,’ महेशपुर आधारभूत विद्यालयका प्रधानाध्यापक प्याकुरेलले भने, ‘विद्यालयमा भएका शिक्षकलाई कम्प्युटर खोल्न र बन्द गर्न मात्र आउँछ । विद्यार्थीलाई पनि त्यति मात्र सिकाएका छौं ।’ विषयगत ज्ञान नभए पनि पाठ्यपुस्तक पढाउनैपर्ने बाध्यता रहेको शिक्षक कुल्दीपकुमारसिंह राजवंशीले बताए ।

प्रयोगविहीन छन् कम्प्युटर
भद्रपुर–१ स्थित दीपक प्राथमिक विद्यालयमा तीनवटा नयाँ र एउटा पुरानो गरी चार कम्प्युटर छन् । तर सिकाउने शिक्षक छैनन् । बालशिक्षिका सविता पोखरेललाई कम्प्युटरको सामान्य ज्ञान छ । तर उनी पनि अहिले सुत्केरी बिदामा छिन् । त्यसैले कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर छोपेर राखिएका छन् । वडा नं. २ मा सिंहदेवी आधारभूत विद्यालय छ । ४ र ५ कक्षाका विद्यार्थीलाई कम्प्युटर विषय पढाउने गरेको प्रधानाध्यापक घनश्याम खनालले बताए ।

कार्यालय प्रयोजनका लागि नगरपालिकाले विद्यालयलाई एउटा कम्प्युटर दिएको छ । त्यसैमा कहिलेकाहीं विद्यार्थीलाई सिकाउने गरिएको खनालले बताए । भद्रपुर नगरपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा कम्तीमा एउटा कम्प्युटर वितरण गरेको नगरपालिका शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । ‘तर विषयगत शिक्षक नहुँदा ती प्रयोगविहीन बनेका छन्,’ उनले भने ।

बाह्रदशी गाउँपालिका–१ भागुडुब्बास्थित अमृत माध्यमिक विद्यालयमा एउटा ल्यापटप र ३० वटा कम्प्युटर छन् । तर शिक्षक नहुँदा विद्यार्थीले प्रयोगात्मक ज्ञान लिन पाएका छैनन् । विद्यालयले वडा कार्यालय, गाउँपालिका कार्यालय तथा प्रदेश सरकारको आईसीटी कार्यक्रमअन्तर्गत ल्यापटप र कम्प्युटर पाएको हो । ती सबै ताल्चा लगाएर दुइटा कोठामा बन्द गरिएका छन् । कम्प्युटर पढाउन गाउँपालिकाले घुम्ती शिक्षक खोजेको छ । ती शिक्षक कहिले साता त कहिले १५ दिनमा एकपटक आउने गरेको प्रधानाध्यापक रामबहादुर बुढाथोकीले बताए ।'

हचुवाको भरमा पढाइ
स्थानीय विषय भएकाले कम्प्युटरको स्थायी दरबन्दी छैन । नगर/गाउँपालिकाले पर्याप्त अध्ययनबिनै पढाइ सुरु गराए । कति कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर पढाउँदा उचित हुन्छ भन्ने कुनै अध्ययन छैन । आवश्यक जनशक्तिको लेखाजोखा पनि छैन ।

यसै कारण कतिपय पालिकाले अब उक्त विषय हटाउने तयारी थालेका छन् । कनकाई नगरपालिकाभित्रका विद्यालयबाट कम्प्युटर विषय हटाउन छलफल भइरहेको शिक्षा शाखाका मेदनी पाठकले बताए ।

‘प्राविधिक पढाइ हो भने कम्प्युटर विषय लागू गरौं तर विषयगत शिक्षक नहुँदा गुणस्तरीय शिक्षा दिन गाह्रो भइरहेको छ,’ उनले भने ।

सबै विद्यालयमा कम्प्युटर शिक्षक नियुक्त गर्न गाउँपालिकाको आर्थिक हैसियत नरहेको बाह्रदशीका शिक्षा शाखाप्रमुख ज्ञानबहादुर पौडेलले बताए । ‘कम्प्युटर पढाउनकै लागि तीन जना घुम्ती शिक्षक नियुक्त गरेका छौं । उनीहरूलाई सबै विद्यालय पुगेर नियमित पढाउन गाह्रो भइरहेको छ,’ उनले भने, ‘स्कुलपिच्छे शिक्षक राख्न गाउँपालिकाले सक्ने अवस्था छैन ।’ मावि तहमा अंग्रेजी, गणित र विज्ञान पढाउने शिक्षककै कमी रहेकोमा कम्प्युटर शिक्षक नियुक्त गर्न सक्ने अवस्था नरहेको उनले बताए ।

बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले कम्प्युटर शिक्षा प्रदान गर्न गाह्रो रहेको बताए । उनले कम्प्युटरको माध्यमबाट शिक्षा प्रदान गर्नुपर्नेमा कम्प्युटर विषय नै पढाउन थाल्नु गलत भएको तर्क गरे ।

शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत भोलानाथ दाहालले कम्प्युटर विषयकै लागि छुट्टै दरबन्दी कायम गर्न असम्भव रहेको बताए । स्थानीय विषयअन्तर्गत कम्प्युटर पढाइ हुने भएकाले पालिकाहरूले पर्याप्त अध्ययन–अनुसन्धान गरेर लागू गर्नुपर्नेमा उनले जोड दिए । भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले शिक्षक अभावमा कम्प्युटर पढाइ प्रभावित भइरहेकोप्रति आफूहरू गम्भीर रहेको बताए ।

‘विद्यार्थीलाई प्राविधिक शिक्षा जरुरी छ । त्यसैले हामीले कम्प्युटर विषय लागू गरेका हौं,’ उनले भने, ‘कम्प्युटर पनि वितरण गरेका छौं । तर, विद्यार्थीले अझै कम्प्युटर सिक्न नपाइरहेको रिपोर्टिङ आइरहेका छन् ।’ उनले विषयगत शिक्षक नियुक्त गर्न नगरपालिका मात्रले सम्भव नरहेकाले प्रदेश तथा संघीय सरकारले पनि चासो दिनुपर्ने बताए ।

प्रकाशित : माघ ३, २०७६ १२:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×