आङ खस्ने महिला बढी

सुनसरी — भोजपुरको हतुवागढीमा आङ खस्ने (पाठेघर खस्नु) समस्या भएका महिलाको संख्या धेरै भेटिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा रोट्र्याक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाले सञ्चालन गरेको शिविरमा १ हजार ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । स्त्री रोगअन्तर्गत ३ सय जनाको परीक्षण गरिएकोमा १ सय बढीमा आङ खस्ने रोग भेटिएको थियो । ८३ जनालाई रिङ पेसरी लगाएर अस्थायी समाधान गरिएको शिविरमा उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा कृष्ण महर्जनले बताए ।

आङ खस्ने महिला बढी

बालविवाह, कम उमेरमा गर्भवति हुने, भारी सामान उठाउने, पोषक तत्व कम हुने, वर्षेनी बच्चा जन्माउनेलगायत कारणले हतुवगढीका महिलामा आङ खस्ने समस्या बढी देखिएको हुनसक्ने शिविर संयोजक विजयानन्द यादवको आकलन छ । उनका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नेमा बालविवाह गरेका कम उमेरका १५ बालिका पनि थिए ।


दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आङ खस्ने समस्यापछि हाडजोर्नीका समस्या भएका बिरामी धेरै पाइएको थियो । शिविर संयोजक तथा रोट्र्याक्ट क्लबका लागि प्रमुख संयोजक प्रतिक्षा केसीका अनुसार यो संख्या करिब ३ सय थियो । हाडजोर्नीका बिरामी बढी भेटिएको सम्बन्धमा भने थप अनुसन्धन नै गर्नुपर्ने देखिएको चिकित्सकहरूले बताए ।थप उपचार गर्नुपर्ने देखिएका बिरामीलाई प्रतिष्ठानमा बोलाइएको थियो । शिविरमा ६० भन्दा बढी चिकित्सक, नर्स र प्राविधिकहरू सहभागी थिए ।

प्रकाशित : पुस २६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?