खोप केन्द्रमा खाजा

(उदयपुर) — झट्ट सुन्दा ‘खोप केन्द्रमा खाजा’ धेरैलाई सामान्य लाग्नसक्छ । तर, त्यही खाजा प्रभावकारी बन्दै गएको छ । चौदण्डीगढी नगरपालिकाले ल्याएको खोप केन्द्रमा खाजा कार्यक्रम मातृशिशु स्याहार र स्वास्थ्य सुधारमा प्रभावकारी बन्दै गएको हो ।

नगरपालिकाले ६ महिनायता ‘खोप केन्द्रमा खाजा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । बच्चालाई खोप लगाउन, परिवार नियोजनका साधन लिन तथा प्रयोगबारे परार्मशका लागि आउने आमालाई लक्षित गरी खाजा खुवाउने गरिएको छ । खोप केन्द्र आउने आमालाई एक सय रुपैयाँको खाजा दिने गरिएको छ । भोकका कारण आमाले बच्चालाई खोप, पोषण, परिवार नियोजनका साधनको प्रयोग र परामर्श बीचैमा छाडेर हिँड्ने गरेको पाइन्छ । खोप केन्द्रमा आएपछि खोपसँगै स्वास्थ्यसम्बन्धी ज्ञानसँगै बच्चाको पोषण स्थिति र नियोजनका साधनबारे जानकारी लिने वातावरण बनोस् भन्न खाजा कार्यक्रम ल्याइएको हो । ‘स्वास्थ्य सेवालाई पहिलो प्रथामिकतामा राखेका छौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले भने, ‘त्यसमा पनि आमा र बच्चाको स्वास्थ्य, पोषण र परिवार नियोजन सेवा प्रथामिकतामा छन् ।’ विपन्न परिवारलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने नगरको योजना छ ।


‘बालबालिकालाई खोप र पोषण, आमालाई परिवार नियोजन र स्वास्थ्य केन्द्रमै सुत्केरी गराउन प्रोत्साहन गर्ने नगरपालिकाको योजना हो,’ नगरप्रमुख खग्रेन्द्र राईले भने, ‘त्यसैले जनतासँग उपमेयर कार्यक्रम राखेका छौं ।’

जनतासँग उपमेयर कार्यक्रममा नगरका कुनै पनि गर्भवतीले स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत २ हजार रुपैयाँ बराबरको पोषणयुक्त खाद्य सामाग्री पाउने व्यवस्था रहेको उनले बताए । खोप केन्द्रमा खाजा र जनतासग उपमेयर कार्यक्रमले नगरमा मातृशिशु र सुत्केरीलाई राहत पुग्ने विश्वास गरिएको छ । ‘खाजाले खोप केन्द्रमा बच्चा लिएर जाँदा सजिलो भएको छ,’ चौदण्डीगढी नगरपालिका–६, सिर्वानीकी नानीमैया राउतले भनिन्, ‘पालो पर्खिंदा समय लाग्छ, दूध खाने बच्चालाई त दूध खुवाइन्छ । तर, आमा भोकै बस्नुपर्ने अवस्था हुन्छ ।’ खाजा खुवाइने भएपछि आफूजस्तै आमालाई पनि सजिलो भएको उनले अनुभव सुनाइन् ।


नगरपालिकाका १ र ८ नम्बर वडामा घरमै सुत्केरी गराउनेको संख्या बढी रहेको स्वास्थ्य शाखाले जनाएको छ । यसबाहेक झण्डै ९५ प्रतिशतले स्थानीय प्रसुति गृह, प्रथामिक स्वास्थ्य केन्द्र र बाहिरका सुविधा सम्पन्न असस्पतालमा सुत्केरी गराउने गरेका छन् । जनतासँग उपमेयर कार्यक्रमले पनि स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनेको संख्या उल्लेखनीय रुपमा बढाएको स्वास्थ्य शाखा प्रमुख पोखरेलको दाबी छ ।


नगरपालिकामा ४ सहरी स्वास्थ्य क्लिनिक, ५ स्वास्थ्य चौकी, १ प्रथामिक स्वास्थ्य केन्द्र र २० वटा गाउँघर क्लिनिक छन् । सबै स्वास्थ्य संस्थामा गरी एक महिनामा एकपटक मात्रै खोप लगाउन आउने शिशुको संख्या १ हजार २ सय छ । यस्ता शिशुका आमा र ६ महिना नाघेका बालबालिकालाई समेत खाजाका लागि नगरपालिकाले तत्काल ७ लाख रुपैयाँ विनियोजन गरेको छ । जनतासँग उपमेयर कार्यक्रममा २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिए पनि हाल ५ लाख रुपैयाँबाट काम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित : पुस २६, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?