जो आफ्नो लुगा आफैं बनाउँछन्

(धनकुटा) — धनकुटा–५, बिहिबारेकी सचेता छाराहाङ आफूले लगाउने लुगा आफैं बनाउँछिन् । उनको आँगनभरी कपडामा बुट्टा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सुकाइएको छ । आँगनको छेउमा ओखलमा कच्चा पदार्थ कुट्ने र पकाएर बुट्टा बनाउन उनी व्यस्त देखिन्छिन् । बजारमा रोजेर कपडा किन्न पाइन्छ, तर उनको दैनिकी हातैले बुट्टा सजाएर मौलिक लुगा बनाउने, लगाउने र अरुलाई बिक्री गरेर आम्दानी गर्दै बितेको छ ।

जो आफ्नो लुगा आफैं बनाउँछन्

धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिमा खासगरी महिलाले हातैले बुनेको मौलिक पोसाक मेख्ली (चोली), सिन (फरिया) पहिरिने गर्दछन् । पछिल्लो समय बजारमा पाइने कपडाले मौलिक पोसाक विस्थापित बन्दै गएको अवस्थामा सचेताले भने मेख्ली, सिन बनाएर बिक्रीसमेत गर्दै आएकी हुन् । ‘मैले बुट्टा भरेको लुगा आफैं लगाउँछु,’ उनले भनिन्, ‘केही लुगाको बिक्रीबाट आम्दानी पनि हात पर्छ।’


ओखलमा कुटेर धुलो बनाइएको मजितो, हर्रो, असुरो, किट, कोदोको पीठोलाई तोरीको तेल र फिड्किरी मिसाएर बनाइएको मौलिक रङबाट उनले बुट्टा बनाउने गरेको बताइन् । विभिन्न जडिबुटी बटुलेर उनले मेख्ली, सिनमा छिपेको बुट्टाको माग बढ्दो छ । महिनामा उनले २५ हजार रुपैयाँभन्दा बढीका कपडा बेच्ने गरेको सुनाइन् ।


बजारमा सहज पाइने कपडाले महिलाको चोली र फरिया तथा पुरुषको कछाड र भोटोसमेत विस्थापित बन्दै आएको उनको भनाइ छ । मौलिक पोसाक जोगाउने चिन्ता गरेरै यही काममा हात हालेको सचेताको भनाइ छ । किराँत आठपहरिया समाजको नगर समिति अध्यक्ष समेत रहेकी उनले मेख्ली, सिन बनाउने कामलाई नै मुख्य पेसा बनाउँदै आएकी छन् । ‘माग धेरै भए पनि आफ्नो मौलिक पोसाक संरक्षणका लागि जुटेकोले महँगो मूल्यमा बिक्री गरेकी छैन,’ उनले भनिन्, ‘मागअनुसार उत्पादन गर्न भने धौ–धौ परेको छ ।’ उनले मेख्ली र सिन दुवैलाई २ हजार ५ सय रुपैयाँमा बेच्दै आएको बताइन् ।


किराँत आठपहरिया समाज, वडा नम्बर ५ कार्यालय र घरेलु समितिले सञ्चालन गरेको मौलिक पोसाक बनाउने तालिम लिएपछि सचेताले काम थालेकी हुन् । पति राजपति र १४ वर्षिया छोरी स्पर्शले पनि उनलाई सघाउने गरेका छन् । विगतमा सियो धागोले उनेर विशेष रुपमा बनाइएको बुट्टेदार लुगा लगाउने आठपहरिया जाति पछिल्लो समय बजारमा भित्रिएका रंगीविरंगी कपडामा भुलेको गुनासो छ ।


अघिल्लो पुस्तासम्म आफैंले बनाएको लुगा लगाउने आठपहरिया जातिमा पछिल्लो समय मौलिक पहिरन लोप हुने अवस्थामा पुगेको आठपहरिया समाजका केन्द्रीय महासचिव सूर्यबहादुर आठपहरियाले बताए ।

आठपहरियाअन्तर्गत अघिल्ला पुस्ताका स्थानीय पदमबहादुर आठपहरियाले पनि मेख्ली र सिनामा बुट्टा सजाउँदै बेच्दै आएका छन् ।


२०६८ सालको जनगणनाअनुसार आठपहरिया जातिको जनसंख्या ५ हजार ९ सय ७७ छ ।


प्रकाशित : पुस २५, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?