कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालयमा व्यवस्थापन समिति अध्यक्षले नै लगाए ताला

भरत जर्घामगर

(सिरहा) — विद्यालयको आय-व्यय सार्वजनिक गर्न माग गर्दै सिरहाको लक्ष्मीपुर पतारी ५ मा रहेको आधारभूत विद्यालय पत्थरगाडामा व्यवस्थापन समितिका अध्यक्षले तालाबन्दी गरेका छन् । 

विद्यालयमा व्यवस्थापन समिति अध्यक्षले नै लगाए ताला

दुई आर्थिक वर्षको हिसाबकिताब माग गरे पनि प्रधानाध्यापक राजदेव यादवले अटेर गरेपछि प्रशासन कक्षमा पुस १३ गतेदेखि तालाबन्दी गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार यादवले जानकारी दिए । उनकाअनुसार पठनपाठनमा अवरोध नपुग्ने गरी विद्यालय प्रशासनमा तालाबन्दी गरिएको छ ।


२०४२ सालमा स्थापित विद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । १ सय ७२ बालबालिका अध्ययनरत विद्यालयमा दरबन्दी प्रअ राजदेव यादव, राहत कोटामा मञ्जुकुमारी यादव, बालविकासतर्फ लक्ष्मी बस्नेत यादव, मेथुनदेवी यादव र कार्यालय सहयोगी रामपृत साह कार्यरत छन् । विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत छन् ।


व्यवस्थापन समितिका अध्यक्ष यादवले जिल्ला शिक्षा कार्यालयको १६ लाख अनुदान र जनश्रमदान १ लाख १६ हजार ७८ पैसा गरी कुल १७ लाख ९९ हजार १ सय ५३ रुपैयाँ लागतमा निर्मित दुई कोठे स्कुल भवनको हरहिसाबसहित विद्यालय आय-व्यय सार्वजनिक गर्न माग गरे पनि आलटाल गरेपछि विद्यालय प्रशासनमा तालाबन्दी गर्न बाध्य भएको बताए ।


२०७४ पुस १५ मा निर्माण सम्पन्न भएको भवनको एक वर्ष नपुग्दै कमसल कामकै कारण ढलान फुटेको उनले बताए । विद्यालयमा डेस्क बेन्चसमेत नहुँदा बालबालिका चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । प्रअ राजदेव यादव नियमित विद्यालयमा समयमा उपस्थित नहुने र उपस्थित भए पनि कक्षामा नपढाउने गरेको, विद्यार्थीलाई खाजामा जंक फुड चाउचाउ, बिस्कुट ख्वाएर टार्ने गरेको आरोप अध्यक्ष यादवको छ ।


प्रधानाध्यापक राजदेव यादवले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजयकुमार यादवले आय-व्यय सार्वजनिक गर्न अवरोध गरेकै कारण दुई वर्षदेखि सामाजिक लेखाजोखा हुन नसकेको प्रतिक्रिया दिए ।

प्रकाशित : पुस २४, २०७६ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?