कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँभरि टमाटर खेती

विराटनगर — मोरङको लेटाङ-९ जाँतेकी गायत्री खतिवडाले गत वर्ष ५ कट्ठा जमिनमा टमाटर खेती गर्दा ३० हजार रुपैयाँ खर्चिएर अढाई लाख आम्दानी गरिन् । यसपालि खेती विस्तार गरेर १५ कट्ठा पुर्‍याएकी छन् । टमाटरबाट राम्रो आम्दानी देखेपछि यसपालि जाँतेका सबै महिला त्यसैमा लागेका छन् ।

जाँतेमा कृषि महिला सहकारी संस्था छ । टमाटर खेतीमा लाग्ने उनीहरू सबै त्यसका सदस्य हुन् । सहकारीले उनीहरूलाई बिउ र टनेल निर्माणमा मात्र होइन, बजारको व्यवस्थापनमा समेत सहयोग गरेको छ ।


'टमाटर खेती सपि्रए धान र अन्य बालीबाटभन्दा चौगुणा नाफा हुन्छ,' खतिवडाले भनिन्, 'गत वर्ष खेती गर्नेले राम्रो आम्दानी गरेको देखेपछि सहकारीका सबै महिला यसमा लागेका हुन् ।' अहिले जाँतेबाट मात्र दैनिक सात सय केजी टमाटर बजार पुग्ने गरेको छ । 'यस बेला जाँतेमा सबैको खेतबारीमा टमाटर फलेका छन्,' खतिवडाले भनिन् । यहाँ करिब पाँच सय बिघामा व्यावसायिक टमाटर खेती गरिएको छ । एउटा बोटमा १५ देखि ३५ केजीसम्म टमाटर फल्ने गरेको किसान बताउँछन् । उनीहरूका अनुसार टमाटरले रोपेको तीन महिनापछि एक महिनासम्म नियमित उत्पादन दिन्छ । स्थानीय निर्मला बोहोराले गत वर्ष टमाटरबाटै ८ लाखभन्दा बढी आम्दानी गरिन् ।



१ लाख २० हजार रुपैयाँ खर्चिएर करिब एक बिघामा टमाटर लगाएकी उनले यसपालि खेती बढाएर डेढ बिघा पुर्‍याएकी छन् । 'यसपालि १० लाख आम्दानी हुने विश्वास छ,' उनले भनिन्, 'बिक्री गर्न टमाटर लिएर बजार पुग्नुपर्दैन । व्यापारी घरमै आएर लैजान्छन् ।'


प्रकाशित : पुस २०, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?