कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाँच वर्षमै फेरियो स्कुल

पर्वत पोर्तेल

(काँकडभिट्टा) — झापाका धेरैजसो सामुदायिक विद्यालयको स्थिति दयनीय छ । गुणस्तरीय शिक्षा दिनमा धेरैजसो विद्यालय कमजोर छन् । शिक्षकहरूमा ‘सरकारी काम कहिले जाला घाम’ को प्रवृत्ति छ । तर, केही सामुदायिक स्कुल यस्ता पनि छन्, जो निजीभन्दा अब्बल छन् । गुणस्तरीय शिक्षामा होस् या अतिरिक्त क्रियाकलापमा, तिनको प्रयास अनुकरणीय छ ।

पाँच वर्षमै फेरियो स्कुल

तिनैमध्येको एक हो, मेचीनगर–१४ दुवागढीको बालसुबोधिनी आधारभूत विद्यालय । नगरपालिकाभित्र परे पनि यो विद्यालय रहेको क्षेत्र ग्रामीण छ । विपन्न समुदायका विद्यार्थी बढी छन् । ५ वर्षयता यो विद्यालय जिल्लाकै नमुना बनेको छ । यसको मुख्य श्रेय जान्छ, प्रधानाध्यापक विश्व थापालाई ।


सोही विद्यालयका पूर्वविद्यार्थी उनी ११ वर्षअघि प्रधानाध्यापक बनेर आएका थिए । यो गाउँमा आदिवासी, दलित र मुस्लिम समुदायको बाहुल्य छ । सुरुका पाँच वर्ष उनलाई विद्यार्थी टिकाउनै हम्मे पर्‍यो । संख्या बढ्नुको साटो घटेको घट्यै भयो । धेरैपटक अभिभावक भेला भयो । आमा समुहहरू पनि जुटे । तर, प्रभावकारी भएन । अन्तत: थापाले जुक्ति निकाले, विद्यालयलाई बालमैत्री बनाउने । यसले काम पनि गर्‍यो । ‘स्कुललाई बालमैत्री बनाउनेबित्तिकै अर्को वर्षदेखि विद्यार्थी थपिन थालिहाले नि’, थापाले सुनाए, ‘निजी स्कुल छाडेर पनि अभिभावकले नानीहरू भर्ना गर्न थाले ।’


निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौतीकै कारण पढाइ सुधार्न प्रेरित भएको थापाको भनाइ छ । विद्यालय शिक्षकको टिम नै जुटेको छ । यहाँ १५ शिक्षक कार्यरत छन् ।


सुरुमा पुगनपुग सय विद्यार्थी थिए । अहिले ३ सय ७५ छन् । ‘ग्रिन, पिस एन्ड सेभ’ अर्थात् हरियाली, शान्ति र सुरक्षा यो स्कुलको नारा हो । बालमैत्री व्यवहार र वातावरण अर्को महत्त्वपूर्ण पक्ष हो । सबै कक्षामा अंग्रेजी अनिवार्य छ । ‘जंक फुड’ बन्देज छ । ‘अंग्रेजीबाट पढाइ हुन थालेपछि निजी स्कुलका विद्यार्थी पनि यतै आउन थालेका छन्’, थापाले भने ।


विद्यालयको विशेषता गुणस्तरीय शिक्षा नै हो । यहाँ पुग्दा कुनै मनमोहक पार्क छिरेजस्तो हुन्छ । सरसफाइ र फूलबारीले विद्यालय सधैं चिटिक्क देखिन्छ । विद्यार्थी पनि सधै चिटिक्क परेर आउँछन् । विद्यालय अवलोकनका लागि देशभरिबाट ३ सयभन्दा बढी टोली आइसकेका छन् । विद्यालयमै ‘सेल्फी जोन’ पनि छ । अवलोकन गर्ने, फोटो खिच्ने, विद्यालयबारे सोध्नेहरू सातामा दुई तीन समूह आइरहेकै हुन्छन् । गत वर्षदेखि अवलोकनकर्तासँग ५ सय रुपैयाँ शूल्क लिन थालिएको छ । यो रकम बालक्लबको व्यवस्थापनमा खर्च हुन्छ ।


यहाँको हाजिरी गर्ने प्रक्रिया अन्तभन्दा फरक छ । कक्षामा ‘एस मिस’ या ‘एस सर’ भन्नु पर्दैन । विद्यार्थी जति दिन आएको छ, त्यही अंक भन्नुपर्ने हुन्छ । ‘यो शैलीले आफू कति दिन स्कुल आएँ र साथी कति दिन आएछ भन्ने थाहा पाउन सजिलो हुन्छ’, थापाले भने, ‘यसले पनि स्कुलमा नियमित हुन विद्यार्थीलाई प्रोत्साहन भएको छ ।’


विद्यालयले हरेक महिनाको १ गते हाजिरी, अनुशासन र गृहकार्यका आधारमा उत्कृष्ट विद्यार्थी पुरस्कृत गर्छ । ‘स्टुडेन्ट अफ दि मन्थ’ घोषित विद्यार्थीको तस्बिर एक महिनाभरि विद्यालयमा टाँसेर राखिन्छ । ‘स्कुलमा तस्बिर टाँसिने लोभले हरेक विद्यार्थी उत्कृष्ट बन्ने धाउन्नमा हुन्छन्’, उनी भन्छन्, ‘यसले विद्यार्थीको पढाइदेखि हरेक गतिविधि सुधारिने पक्का छ ।’


२०७१ सालदेखि यो विद्यालय बर्सेनि पुरस्कृत हुन थाल्यो । जिल्लाभरका ७ सय ५ बाल क्लबमध्ये यहाँको बाल क्लब त्यसै वर्ष उत्कृष्ट बन्यो । ०७२ मा झापाकै उत्कृष्ट सामुदायिक विद्यालय घोषणा भयो । थापाका अनुसार पुरस्कृत हुन थालेपछि शिक्षक र विद्यार्थीमा हौसला बढ्यो । ‘त्यसपछि अझै राम्रो काम गर्नुपर्छ भन्ने लागेर जुट्यौं’, उनी भन्छन्, ‘अर्को वर्षदेखि त स्कुल हेर्न आउनेको घुइँचो नै लाग्यो ।’


०७३ सालमा शिक्षा मन्त्रालयले थापालाई विद्यालय सुधार्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पदकले पुरस्कृत गर्‍यो । ०७४ सालमा यहाँको बाल क्लब फेरि उत्कृष्ट घोषित भयो । ०७५ मा जिल्लाकै नमुना विद्यालयका रूपमा पुरस्कृत भयो । यसै वर्ष पीपी प्रसाइँ फाउन्डेसनले थापालाई प्रदेश १ कै उत्कृष्ट प्रधानाध्यापकका रूपमा ५० हजार राशिको पुरस्कारले सम्मान गरेको छ । ‘शिक्षकले चाहँदा सामुदायिक स्कुल सुधार्न सकिँदोरहेछ भन्ने लागेको छ’, उनी सुनाउँछन्, ‘के नै होला र भनेरै हाम्रा स्कुल बिग्रिएका रहेछन् ।’ सबै विद्यालयका शिक्षकहरूमा ‘मेरो स्कुल’ भन्ने भावना भइदिए सुधार गर्न गाह्रो नहुने उनको अनुभव छ ।


विद्यार्थीले विद्यालयमै तरकारी फलाउँछन्, अर्ग्यानिक । प्रत्येकले घरबाट गाईको गोबर ल्याउँछन् । कक्षा ८ को पाठ्यक्रममा तरकारी खेती भन्ने विषय छ । त्यही विषयको प्रयोगात्मक अभ्यासका लागि उनीहरूले विद्यालय हाताभित्रै तरकारी खेती गरेका हुन् । स्कुल आउनेबित्तिकै मल हाल्नु र गोडमेल गर्नु विद्यार्थीको दैनिक कार्य बनेको छ । प्रधानाध्यापक थापा आफैंले यो विषय पढाउँछन् । त्यही भएर विद्यार्थीसँगै तरकारी गोडमेल पनि गरिरहेका हुन्छन् । ‘अर्ग्यानिक खेतीबारे सिकेका कुरा विद्यार्थीमार्फत अभिभावकसम्म पुर्‍याउने हाम्रो ध्येय हो’, उनले भने, ‘सबै नानीहरूका अभिभावकले अर्ग्यानिक खेती गर्नुपर्छ भन्ने बुझे भने ठूलो उपलब्धि हो ।’


प्रकाशित : पुस १७, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?