कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिसो भुइँमा काँप्दै पढ्छन् विद्यार्थी

अर्जुन राजवंशी

बिर्तामोड — चारैतिर टाटिबेरा भत्किएका छन् । बस्ने डेस्क–बेन्च छैनन् । ढोका कताबाट हो, पत्ता लाग्दैन । टिनको छानो भएको साँघुरो टहरो छ । झापाको बाह्रदशी गाउँपालिका–१ सिप्ताबस्तीमा रहेको ‘मदरसा मुझाहिर उलुम’ को अवस्था हो यो ।

चिसो भुइँमा काँप्दै पढ्छन् विद्यार्थी

यहाँ सिप्ताबस्तीका सयभन्दा बढी मुस्लिम विद्यार्थी ‘उर्दू’ पढ्न आउँछन् । बस्नका लागि विद्यार्थी आफैंले घरबाट प्लास्टिकका बोरा र चकटी च्यापेर ल्याउँछन् । चिसो खप्न सकुन्जेल विद्यार्थी मदरसामा बस्छन्, नभए घर जान्छन् ।

बाटोसँगैको टहरा भएकाले गाउँलेको आवतजावतले मदरसाको पठनपाठनमा पूरै असर पुग्छ ।


मदरसाको कार्यालय छैन । आवश्यक कागजपत्र छैनन् । विद्यार्थीलाई पढाउने गरे पनि मदरसामा शिक्षक दरबन्दी नभएको मदरसा व्यवस्थापन समिति अध्यक्ष हावालुद्दिन मियाँले बताए ।


बिहानको समयमा पढाइ हुने यहाँ कक्षा ५ सम्म स्वीकृत भएको अध्यक्ष मियाँले बताए । तर, कुन विद्यार्थी कति कक्षामा पढ्छन्, अभिभावकलाई समेत थाहा छैन । भत्किएको टहरामा सञ्चालित मदरसामा एउटा मात्र कोठा छ । सबै विद्यार्थी एकै ठाउँ बसेर पढ्ने गरेको अभिभावक साजाद आलमले बताए ।


आलमका दुई छोराछोरी पनि मदरसामा पढ्छन् । ‘तर, को–कति कक्षामा पढ्छन्, मलाई थाहा छैन,’ उनले भने । मदरसामा उर्दूसँगै नेपाली र अंग्रेजी विषय पनि पढाइ हुने गरेको अध्यक्ष मियाँले बताए ।


‘छोराछोरीलाई उर्दू सिकाउन जरुरी छ । अन्यत्र पढाइ हुँदैन, भत्किएकै भए पनि मदरसामा पठाउनैपर्‍यो,’ कमरुल मियाँले भने, ‘चिसो मौसम भएकाले भत्किएको मदरसामा पढ्न केटाकेटीलाई खुब दुःख हुन्छ ।’ ७ बजे नै पढाइ सुरु हुने भएकाले विद्यार्थीहरू चिसो भुइँमा लगलगी काम्दै पढ्ने गरेको उनले बताए ।


चिसो खप्न नसकेर पुस १० देखि १५ सम्म बिदा दिइएको अध्यक्ष मियाँले बताए । ‘जाडो बढेकाले विद्यार्थी चिसो भुइँमा बसेर पढ्नै सकेनन् । त्यसैले पाँच दिन मदरसा बिदा दिने निर्णय गर्‍यौं,’ उनले भने । मदरसामा सिप्ताबस्तीका ८० घरपरिवार मुस्लिम समुदायका केटाकेटी पढ्न आउँछन् ।


मदरसा दुई दशकदेखि सञ्चालित छ । तर, शिक्षा कार्यालयमा ०६४ सालमा दर्ता गरेको अध्यक्ष मियाँले बताए । ०६७ मा १५ धुर जमिन खरिद गरेर मदरसाका लागि टिनको टहरा बनाइएको छ । निजी स्रोतबाट दुई जना शिक्षकले विद्यार्थीलाई पढाउने गरेको उनले बताए ।


मुस्लिम समुदायको ठूलो पर्व इद उल फित्रमा स्थानीयसँग सहयोग उठाएर मदरसा सञ्चालन गर्दै आएको मियाँको भनाइ छ । मदरसाको अवस्था दयनीय भएकाले चालु वर्ष वडा कार्यालयले दुईकोठे भवन निर्माण गरिदिन लागेको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।


भवन निर्माणका लागि वडा कार्यालयबाट यो वर्ष ७ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए । ०७४ मा वडा कार्यालयकै २ लाख २५ हजार रुपैयाँको लागतमा मदरसामा पक्की घेराबारा गरिदिएको वडाध्यक्ष राजवंशीले बताए ।


शिक्षा अधिकृत ज्ञानबहादुर पौडेलका अनुसार गाउँपालिकाभित्र ९ वटा मदरसा छन् । केहीको अवस्था राम्रो भए पनि मुझाहिर उलुमलगायतको दयनीय रहेको उनले बताए । ‘मुझाहिर उलुम मदरसाबारे हामी जानकार छौं,’ उनले भने, ‘मदरसाको अवस्था फेर्न गाउँपालिका मात्रले सक्दैन । समुदाय पनि लाग्नुपर्छ ।’ उनले गाउँपालिकाभित्रका सबै मदरसालाई वार्षिक व्यवस्थापन र सञ्चालन खर्च शीर्षकमा २ लाख ४१ हजार रुपैयाँका दरले सहयोग गर्ने गरिएको जानकारी दिए । दरबन्दी व्यवस्थापन र थप सहयोगबारे गाउँपालिकाले सोचिरहेको उनको भनाइ छ ।

प्रकाशित : पुस १६, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?