कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२३ करोडको लागतमा इलाममा चिया परीक्षण केन्द्र 

विनु तिम्सिना

विराटनगर — इलामको सूर्योदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानीमा चिया परीक्षण तथा प्रवर्द्धन केन्द्र निर्माण हुने भएको छ । प्रदेश सरकारको ७५ प्रतिशत लगानी र सूर्योदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो । 

२३ करोडको लागतमा इलाममा चिया परीक्षण केन्द्र 

केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् ।


दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी कार्य प्रारम्भ गरिने प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए । मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्योदय नगरपालिकामा निर्माण हुने टि टेस्टिङ हाउसले चियाको प्रवर्द्धन र गुणस्तरीय उत्पादन साथै बजारिकरणमा सहयोग पुग्ने बताए । देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना गरिने केन्द्रले चिया विकासमा टेवा पुग्ने र पर्यटन प्रवर्द्धनमा समेत भूमिका खेल्ने उनले बताए ।


‘सूर्योदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेको छ,’ मुख्यमन्त्री राईले भने, ‘ टी टेस्टिङ हाउसको निर्माणले यसमा थप सहयोग पुग्नुका साथै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्छ ।’ सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थोडक्स चिया उत्पादन गर्दै आएको सूर्योदयले चिया परिक्षण तथा प्रवर्द्धन केन्द्रको निर्माणसँगै चियाको बजारिकरण प्रवर्द्धनमा समेत उल्लेख्य उपलब्धि हासिल गर्ने बताए ।


सूर्योदय नगरपालिकामा वार्षिक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिए ।

प्रकाशित : पुस २, २०७६ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?