कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनश्रमदानले गाउँ झिलिमिली

विद्युत् निर्माणका लागि ९४ लाख बराबरको सामग्री वैकल्पिक ऊर्जाले उपलब्ध गराएको छ

(संखुवासभा) — अरुणपारिको दुर्गम मानिएको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् । पर्याप्त खोलानाला भएको सिलिचोङमा स्थानीय खोलानालाबाट लघु जलविद्युत उत्पादन गरिएको छ ।

जनश्रमदानले गाउँ झिलिमिली

स्थानीय उत्पादनले नै स्थानीय बासिन्दाले उज्यालोमा बस्छ पाएका छन् । महसुल पनि सस्तो छ । विद्युत नपुगेको गाउँ सिलिचोङ १ सिसुवाखोलामा पनि लघु विद्युत निर्माणको काम धमाधम भईरहेको छ । साविक सिसुवाखोला गाविसको ४ देखि ९ सम्मको वडाहरूमा अहिलेसम्म पनि विद्युत् पुगेको छैन । यो वर्ष पुर्‍याउन सबै जुटेका छन् ।


यी बस्तिमा विद्युत नपुगेकै कारण गएको ३ वर्षदेखि स्थानीय सिसुवाखोलबाट विद्युत निकाल्ने काममा स्थानीय दिनरात खटिईरहेका छन् । सिसुवाखोला चटेक्मा लघु जलविद्युत आयोजना नाम दिईएको आयोजना आगामी दुई महिनाभित्र सम्पन्न हुनेछ ।


वैकल्पीक ऊर्जा, सिलिचोङ गाउँपालिका र जनश्रमदानले ५८ किलोवाटको लघु जलविद्युत निर्माण गरिरहेका हुन् । २ महिना पछि विजुली बाल्न पाउने भएपछि स्थानीय हर्षित छन् । गाउँलेहरू लाम लागेर विजुलीका सामान बोक्छन र जनश्रमदान गर्छन् ।


विद्युत निर्माणका लागि ९४ लाख बराबरको सामग्रीहरू बैकल्पिक उर्जाले उपलब्ध गराएको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ३६ लाख वजेट लगानी गरिसकेको छ । योजना सम्पन्न गर्नको लागि यो वर्ष पनि गाउँपालिकाले २० लाख विनियोजन गरेको अध्यक्ष रामबहादुर कुलुङले बताए । ‘हालसम्म २ सय ९० उपभोक्ताले ५५ दिनका दरले श्रमदान गरिसकेका छन्,’ उनले भने, ‘गाउँले दाजुभाई विजुली निकालेर बाल्न उत्साहित भएका छन्, उहाँहरू जनश्रमदानका लागि दिनरात नभनी काम गरिरहनु भएको छ ।’ अब एक साता श्रमदान गर्ने र गाउँपालिकाले विनियोजन गरेको २० लाख उपलब्ध भए २ महिनाभित्र योजना सम्पन्न हुने निर्माण समिति अध्यक्ष मञ्जिल कुलुङले बताए ।


अहिलेसम्म पावर हाउस, कुलो निर्माण, खोलामा बाँध, पोल गाड्ने, तार तन्काउने लगायतका काम सकिएको उनले बताए । ‘अब फोर वे ट्यांकी, ओभरफ्लो कुलो, घरमा वायरिङलगायत काम बाँकी छ,’ उनले भने, ‘बिजुलीको काम ९५ प्रतिशतभन्दा बढी सकिसक्यो, विजुली बाल्ने अन्तिम तयारीमा छौं ।’ चालु आवमा विद्युतलाई विनियोजन गरिएको बजेट तत्काल गाउँपालिकाले उपलब्ध गराए घरघरमा विजुली पुग्न समय नलाग्ने उनले बताए ।

‘यो लघु विद्युत निर्माण सकिएपछि सिलिचोङ गाउँपालिकाको वडा १, २, ३ र ४ को प्रत्येक घरमा विद्युत पुग्नेछ,’ अध्यक्ष कुलुङले भने, ‘केन्द्रीय प्रशारण कहिले आउने हो टुंगो छैन, हामी साना खोलाबाट निस्किएको विजुलीले सिंगो गाउँ उज्यालो बनाउन लागेका छौं ।’


उनका अनुसार वडा ५ मा भने केन्द्रीय प्रसारण लाइन जडानको पहल भइरहेको छ । यो वडामा विद्युत जडानको लागि प्रदेश र संघीय सरकारसँगको साझेदारीमा काम भइरहेको उनले बताए । विद्युत पुर्‍याउन नसकिने दुर्गम गाउँ बस्तिमा भने सौर्य बत्ति पालिकाले निःशुल्क उपलव्ध गराएको छ ।

प्रकाशित : मंसिर ३०, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?