कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा नगर कर घटाउने तयारी

धरान — दशकअघिदेखि टेन्ट हाउस सञ्चालन गर्दै आएका सुनील शर्माले दुई वर्षअघि वार्षिक ३६ हजारका दरले घरबहाल कर तिर्दै आएका थिए । तर वर्ष ०७५/७६ मा ६० हजार रुपैयाँ तिर्नुपर्‍यो । 

संघीयता आएपछि कर घट्छ भन्ने सोचेका उनी छक्क परे । तीन हजारबाट दुई हजारले बढेर मासिक पाँच हजार बुझाउनुपर्दा उनलाई छटपटी भयो । उनले भने, ‘नयाँ मेयरले कर वृद्धि घटाउलान् भन्ने आशा छ । हेरौं केही होला कि !’


शर्माजस्तै धरानमा ३८ वर्षदेखि पान पसल गर्दै आएका निरञ्जन कर्णसमेत उपमहानगरपालिकाले कर वृद्धि गरेकामा दुखेसो पोख्दै आएका छन् । उनले ०७४ भदौ २७ मा सरसफाइ कर १२ सय, बहाल कर ७ सय २०, व्यवसाय कर १९ सय ५५ रुपैयाँ तिरेका थिए ।


०७६ भदौ २३ मा उनले व्यवसाय कर ३७ सय ५७ र सरसफाइ कर १७ सय रुपैयाँ बुझाएको उनीसँग रसिद छ । ‘हदै वृद्धि भयो,’ उनले भने, ‘हामीजस्ता सामान्य व्यापार गरिखाने मारमा परेका छौं ।’ पोहोरभन्दा सरसफाइमा ५ सय र व्यावसायिक करमा १८ सय २ रुपैयाँ बढी पर्दा बर्सेनि नगरपालिकाले यसैगरी बढाउँदै लगे के गर्ने भनेर उनी आत्तिएका छन् । शर्मा र कर्णले कर वृद्धिले मर्कामा परेका धरानका बासिन्दाको प्रतिनिधित्व गर्छन् । कर वृद्धिकै कारण यसपटकको उपनिर्वाचन परिणाममा प्रभाव परेको धेरैको बुझाइ छ ।


वामपन्थीको किल्ला मानिँदै आएको धरानमा यसपटक कांग्रेसका तिलक राई नगर प्रमुखमा निर्वाचित भएपछि कर घट्ने अपेक्षा धेरैको छ । त्यो अपेक्षा बुझेका मेयर राईले पदभार ग्रहण गरेकै दिन करको दरमा पुनरावलोकन गर्नेसम्बन्धी प्रस्तावको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । उक्त निर्णयलाई कार्यपालिकामार्फत बैठकले पारित गर्दै कार्यान्वयनमा आउने बताएका छन् । यसपटकको उपनिर्वाचनमा समेत कांग्रेसले करलाई आफ्नो घोषणापत्रमा प्राथमिकतामा राखेको थियो ।


कर वृद्धि भएसँगै कांग्रेसको अगुवाइमा अन्य दलले समेत विरोध जनाउँदै आएका थिए । कांग्रेसले कर वृद्धिको विषयमा ज्ञापनपत्र र विरोध जनाउनुका साथै कुन शीर्षकमा कति प्रतिशतले वृद्धि भयो भन्ने तालिकासहित पत्रकार सम्मेलनसमेत सार्वजनिक गरेको थियो । विरोधपछि करको दर केही प्रतिशत घटाएर उपमहानगरपालिकाले उक्त विषय मत्थर गर्ने प्रयास गरेको थियो । तर वास्तविकतामा करको दर नेकपा नेतृत्वले नघटाएको आक्रोश नगरवासीले चुनावमा पोखे । प्रतिपक्षीलाई जिताइदिए । अब नयाँ नगर प्रमुखले करको दर कसरी घटाउने छन् भनेर धरानवासीमा उत्सुकता छ ।


दोस्रोपटक कर वृद्धि भएको तथ्यांकअनुसार सवारी दर्ता तथा वार्षिक कर पार्किङको हकमा वर्ष ०७४/७५ मा चक्के ठेलाको ५० रुपैयाँ थियो । ०७५/७६ मा वृद्धि भई २ सय रुपैयाँ भयो । चारचक्के ठेलाको ०७४/७५ मा ५० थियो, बढाएर हजार रुपैयाँ पुर्‍याइयो । जिप, कार, मारुती भ्यानको ५ सयबाट १५ सय रुपैयाँ भयो । व्यवसाय करअन्तर्गत चिया–खाजा पसलको कर ८ सय २५ बाट १५ सय, खाद्यान्न तथा किराना पसलको वार्षिक कर १२ सय ७५ बाट ४ हजार, फेन्सी पसलको ११ सय ५० बाट २५ सय रुपैयाँ भयो । घरेलु कपडा उद्योगको ३२ सय २५ बाट ७५ सय रुपैयाँ पुर्‍याइयो ।


फलाम, तामा–पित्तल सामानको डिलरले वार्षिक ३१ सय २५ तिर्दै आएकामा ०७५/७६ मा भने ५ हजार रुपैयाँ पुग्यो ।

प्रकाशित : मंसिर २५, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?