कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगंगामा प्रसूति सेवा :  सेवा लिनेलाई पुरस्कार

(मोरङ) — बुढीगंगा गाउँपालिकाका सातवटा वडामध्ये वडा २ स्थित स्वास्थ्य चौकीमा पहिलोपटक प्रसूति सेवा सुरु भएको छ । प्रसूति सेवा लिने चार महिलालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप मंगलबार पुरस्कृत गरेको छ ।

बुढीगंगामा प्रसूति सेवा :  सेवा लिनेलाई पुरस्कार

प्रसूति सेवा सञ्चालन भएपछि पहिलोपटक प्रसूति गराउने स्थानीय २० वर्षीया सविना ऋषिदेवलाई गाउँपालिकाले २५ हजार नगद, साडी र कम्बल, स्वास्थ्य चौकीले १ हजार र कांग्रेस प्रमुख सचेतक केदार कार्कीले साडी हस्तान्तरण गरे ।


सेवा लिने दोस्रो अनु ऋषिदेवलाई गाउँपालिकाले १५ हजार नगद, साडी र कम्बल, स्वास्थ्य चौकीले १ हजार नगद र कार्कीले साडी प्रदान गरे । सेवा लिने तेस्रो पवित्रा परियारलाई गाउँपालिकाले १० हजार नगद, साडी र कम्बल, स्वास्थ्य चौकीले १ हजार नगद र साडी दिइयो । यस्तै, प्रसूति सेवा लिने चौथो महिला आरती ऋषिदेवलाई गाउँपालिकाले ५ हजार नगद, साडी र कम्बल, स्वास्थ्य चौकीले १ हजार ८ सय नगद र कार्कीले एउटा साडी प्रदान गरे । कार्कीले उक्त स्वास्थ्य चौकीमा मंसिर महिनाभर प्रसूति सेवा लिने प्रत्येकलाई १/१ वटा साडी दिने घोषणा समेत गरे । वडा २ का अध्यक्ष रेवतीनारायण चौधरीले स्वास्थ्य चौकीमा प्रसूति सेवा लिनेमध्ये पहिलोपटक छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरूप २१ हजार प्रदान गर्ने घोषणा गरे ।


गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ४ वटा गाविस मिलेर बनेको गाउँपालिकाको सातवटै वडामा प्रसूति सेवा नभएकाले गरिब, विपन्न, दलित, पिछडा वर्गले आर्थिक अभावमा अस्पतालमा प्रसूति गराउन नसकेको अवस्था विद्यमान रहेको बताए । वडा २ मा चालु आर्थिक वर्षमा भौतिक संरचना निर्माण भएपछि उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रसूति सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।


गाउँपालिकाले प्रसूति केन्द्र निर्माण गरेर मंसिर २ मा उद्घाटन गरेयता प्रसूति सेवा लिन आएका ८ जनामध्ये ४ जनालाई रेफर गरिएको र ४ जनाको प्रसूति गराइएको हेल्थ असिस्टेन्ट रवीन्द्रकुमार महतोले बताए । उनले प्रसूति भएका ४ जनाले छोरालाई जन्म दिएको बताए ।

प्रकाशित : मंसिर २५, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?