कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अधिकांश कैदीमा छालाको रोग

विराटनगर — क्षमताभन्दा चार गुणा बढी कैदी राखिएको विराटनगरस्थित मोरङ कारागारका अधिकांश बन्दी अस्वस्थ छन् । धेरैजसोलाई छालाको रोग र डेढ सयभन्दा बढीलाई आँखाको समस्या देखिएको छ । २ सय ५० जना अटाउने क्षमताको कारागारमा ८ सय ३१ पुरुष, ८८ महिला र ७ बालबालिका गरी ९ सय २६ कैदी छन् ।

हालै विराटनगर महानगरपालिका कार्यालयद्वारा कारागारमा आयोजित शिविरमा परीक्षण गरिएका ३ सय ९६ कैदीमध्ये ३ सय ५० मा छाला रोग देखिएको जेलर सुभाषकुमार लामिछानेले बताए । जीउ चिलाउने समस्याले निदाउन समेत नसकेको कैदीहरूले पीडा पोखे ।


‘आलोपालो अस्पताल लगेर जचाउँछन्, कारागारभित्र पनि कहिलेकाँही स्वास्थ्य शिविर हुन्छ,’ कैदी अभिषेक साहले भने, ‘औषधीले निको त हुन्छ,फेरि भइहाल्छ ।’ क्षमताभन्दा बढी कैदीका कारण अस्वस्थकर वातावरण सृजना भएकाले कारागारभित्र निरन्तर स्वास्थ्य शिविर सञ्चालन हुनुपर्ने नाइके सूर्यविक्रम नेपालले सुझाव दिए । कैदीलाई उपचारका लागि नजिकैको कोसी अञ्चल अस्पताल लगिन्छ ।


कारागारभित्रका ९० प्रतिशत कैदीमा दाद र लुतो जस्तो सर्ने रोग रहेको कोसी अञ्चल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा.असीत घिमिरेले बताए । उनका अनुसार बाँकी कैदीमा शरीरमा आन्तरिक कारणले हुने चिलाउने समस्या छ । छालाको रोगको उपचारमा दुई सातादेखि दुई महिनासम्म लाग्ने उनले बताए ।


‘सर्ने रोग भएकोले बन्दीको पालैपालो उपचार गराएर समस्या समाधान हुन्न,’डा.घिमिरेले भने,‘सबै कैदीको एकै पटक वा सामूहिक उपचार नगरिएसम्म छाला रोगबाट उनीहरू मूक्त हुँदैनन् ।’ अस्पतालमा सातापिच्छै उपचारका लागि ल्याइने औषत १५ जनामध्ये अधिकांश छालाका रोगी भएको उनले बताए । कारागारको एउटा बेडमा ४ जना सुत्छन् । उनीहरूले एउटै तोलिया, साबुन प्रयोग गर्ने हुनाले सहजै छाला रोग सर्ने गरेको डा.घिमिरेले बताए ।


कारागारले कोसी अस्पताल र जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर सबै बन्दीको एक साथ उपचार सुरु गराउनकालागि पहल गर्नुपर्ने उनले सुझाव दिए । ‘एक वर्ष अघि पनि कारागारमा शिविर गर्दा यहि समस्या देखिएको थियो,’ डा.घिमिरेले भने, ‘त्यति बेला पनि सामूहिक उपचार गर्नुपर्ने सुझाव दिएको थिएँ ।’ कारागारसँग प्रशस्त बजेट नभएकोले कैदीलाई स्वास्थ्य जाँच पछि औषधी र चस्मासमेत उपलब्ध गराइ दिने अनुरोधकासाथ सरोकारवाला निकायलाई पत्र पठाउने जेलर लामिछानेले बताए ।

प्रकाशित : मंसिर २४, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?