कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘अब सौर्य ऊर्जामा खर्च नगरिने’

विराटनगर — चालु आर्थिक वर्षमा सौर्य बत्ती जडानका लागि झण्डै डेढ करोड बजेट विनियोजन गरेको विराटनगर महानगरपालिकाले अब सौर्य बत्तीमा लगानी नगर्ने भएको छ । पर्याप्त विद्युत् उत्पादन भइरहेकाले लोडसेडिङको सम्भावना नरहेको भन्दै महानगरपालिकाले सौर्य बत्तीमा बजेट खर्च नगर्ने निर्णय गरेको हो । 

महानगरपालिकाले वैकल्पिक ऊर्जाअन्तर्गत चालु आवमा नगरका विभिन्न वार्डहरूमा सोलार बत्ती जडान गर्न उक्त रकम विनियोजन गरेको थियो । डेढ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोलार बत्तीका लागि विनियोजित उक्त रकम अन्य योजनामा खर्च गर्ने महानगरपालिकाले जनाएको छ ।


नगर परिषद्को बैठकले सौर्य बत्ति जडानमा बजेट खर्च नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार बिजुली पर्याप्त भएको अवस्थामा सोलारमा खर्च गर्नु उपयुक्त नहुने भएकोले खर्च कटौति गरिएको हो ।


विराटनगर महानगरपालिकाले पुष्पलाल चोक पानीटंकी खण्डमा जडान गरेको सौर्य बत्ति प्रभावकारी नभएको गुनासो सर्वसाधारणबाट बढी आइरहेको छ । धुलोले सोलार प्यानल छोपिँदा राम्ररी बत्ति नबल्ने समस्या छ । पछिल्लो समय जलविद्युत् खपत बढाउनु पर्ने अवस्था आएको सन्दर्भमा सौर्य उर्जामा लगानी गर्न नहुने निष्कर्षमा महानगरपालिका पुगेको पूर्वाधार विकास समितिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले बताए ।


सौर्य बत्तीका लागि विभिन्न वार्डहरूले नगरसभाबाट योजना पारित गरेर बजेट विनियोजन गरेका थिए । महानगरपालिका वडा ९ ले एक करोड १ लाख ५० हजार रुपियाँ सौर्य बत्ती तथा सहर सौन्दर्यताकालागि विनियोजन गरेको थियो । तर योजना अघि बढाउने तयारी भइरहेको बेला कार्यपालिका बैठकले सौर्य उर्जामा लागानी नगर्ने निर्णय गरेपछि उक्त रकम नगर सौन्दर्यकरणमा खर्च गर्ने योजना बनाइरहेको जनाएको छ ।


वडा १० ले पनि सौर्य बत्तीका लागि भन्दै २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यस्तै वडा १३ र ५ ले १०–१० लाख रुपैयाँका दरले सौर्य उर्जामा बजेट विनियोजन गरेको थियो । सबै वडाले अब सौर्यऊर्जाका लागि विनियोजन गरेको बजेट अब विद्युतिकरणलगायत अन्य योजनामा खर्च गर्नुपर्ने छ । आगामी पुसमा बजेट संशोधनमार्फत योजना परिवर्तन हुने सम्बन्धित वडाध्यक्षहरूले जानकारी दिए ।


प्रकाशित : मंसिर २४, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?