कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाख्रापालनमा रमाउँदै मानबहादुर

ओखलढुंगा — खिजिदेम्बा–७, रावादोलुका मानबहादुर खड्काले जीवन निर्वाहका लागि के मात्रै गरेनन् । काठमाडौंमा दशकौंसम्म ज्यामी कामदेखि, सुरक्षा गार्ड, व्यापार, व्यवसाय सबैथोक गरे । हाल उनी आफ्नै गाउँमा पाँच वर्षदेखि बाख्रापालन गरिरहेका छन् । ‘यशोदा एग्रो अर्गानिक कृषि फर्म’ भनेर कम्पनी दर्ता गरी वाख्रापालन थालेका हुन् ।

बाख्रापालनमा रमाउँदै मानबहादुर

फार्ममा ४० वटा बोयर जातकासहित ११३ बाख्रा छन् । बीउका लागि बोयरका तीनवटा बोका छन् । त्यसमध्येको एउटा दक्षिण अफ्रिकाबाट १ लाख ७१ हजारमा मगाएका हुन् । अन्य दुईवटा हेटौंडास्थित बोयर फार्मबाट किनेर ल्याएका हुन् । अन्य बाख्रा खरी जातका छन् । सानन, जमुनापारी जातका बाख्रा १० वटा जति छन् ।


‘लगानीको हिसाबले हेर्ने हो भने आम्दानी प्राप्त भइसकेको छैन’ मानबहादुरले भने, ‘हालसम्म ३६ वटा बोका बिक्रीबाट २५ लाख हाराहारी मात्र नगद आम्दानी भएको छ ।’ पशुपालन आफैंमा लगानी गर्नेबित्तिकै आम्दानी खोज्ने पेसा नभएकाले टिक्न चुनौतीपूर्ण भएको उनले बताए । उनले फार्ममा ५ जनालाई रोजगारी दिएका छन् । घाँस खेती सुरु गरेका छन् । नेपालमा घाँसको बीउ पाउन गाह्रो भएपछि नाइजेरियादेखि मगाएर घाँस छरेका छन् ।


उनले हालसम्म सरकारी अनुदान जिल्ला पशु सेवा कार्यालयबाट १ लाख १२ हजार खोर सुदृढीकरणका लागि पाएका छन् । अन्य कुनै कार्यालयबाट सरकारी अनुदान लिएका छैनन् । पशु विकास तथा कृषि कार्यालयबाट दिइने अनुदान अधिकांश कमिसन दिनेहरूलाई मात्र वितरण हुने गरेकाले नपाएको गुनासो छ । वास्तविक किसानहरूले अनुदान नपाउने प्रवृत्तिले गर्दा पनि नेपालमा धेरै किसानले व्यावसायिक रूपमा पशुपालन तथा कृषि गर्न नसकेको बताए ।

प्रकाशित : मंसिर २३, २०७६ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?