बलात्कार–लागूऔषधका ५४ प्रतिशत कैदी

जितेन्द्र साह

विराटनगर — प्रदेशका सबै जिल्ला कारागारका कैदी र थुनुवामध्ये आधाभन्दा बढी बलात्कार र लागूऔषध कारोबारसँग सम्बद्ध रहेको पाइएको छ । ५ हजार १ सय ४८ मध्ये २ हजार ७ सय ७४ जना ( ५३.८८ प्रतिशत) यी अपराधका हुन् । तीमध्ये झन्डै ९० प्रतिशत ४० वर्षभन्दा मुनि उमेर समूहका भएकाले चिन्ताको विषय भएको प्रदेशका प्रहरी प्रमुख डीआईजी ठाकुरप्रसाद ज्ञवालीले बताए ।

ZenTravel

‘ऊर्जाशील उमेरका जनशक्ति कारागारमा छन्,’ उनले भने, ‘शिक्षा प्रणाली चुकेको हो वा न्यायिक प्रक्रियामा त्रुटि छ कि ? वा यसका लागि सामाजिक वा पारिवारिक माहोल एवं संस्कार दोषी हुन् कि ? सोच्नु जरुरी छ ।’ लागू दुव्यर्सनसम्बन्धी मनोसामाजिक परामर्शदाता सञ्जीव चापागाईले समाज, परिवार र विद्यालयबाटै यि अपराधविरुद्धको चेतना आवश्यक रहेको बताए ।

Meroghar

नयाँ कानुनी संहिताले बिहेको उमेर २० वर्ष तोकेपछि संख्यात्मक रूपले पनि बलात्कारको मुद्दा बढेको अधिवक्ता कला त्रितालले बताइन् ।‘२० वर्ष नकट्दै सहमतिमा यौनसम्बन्ध भए पनि कानुनले जबरजस्ती करणी नै मानेको छ,’ उनले भनिन्, ‘साथै, अहिलेको आधुनिक खानपिनले बालबालिका चाँडै हुर्किन्छन्, विपरीत लिंगीप्रति आकर्षणका कारणले कतिपयले किशोर अवस्थामै यौनजन्य गतिविधि थाल्छ, अनि बिहे गर्ने स्थिति नभएपछि र अन्य विभिन्न कारणले पछि अभिभावकले नै बलात्कारको
मुद्दा हाल्छन् ।’

अपवादका घटनाबाहेक बलात्कारका अधिकांश उजुरी सही हुने गरेको मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए । ‘पीडितको बयान र घटनास्थल प्रकृति मुचुल्काबाटै सत्य वा झूटो के हो भन्ने थाहा हुन्छ,’ उनले भने, ‘थोरै पनि शंका लागेमा मुद्दा अगाडि बढाइहाल्दैनौं, कानुनले दिएको तीन दिनको छानबिन अवधिभर वास्तविकता बुझ्छौं, झूटो देखिएमा सरकारी वकिलसँग सल्लाह गरेर मात्र अघि बढ्छौं ।’

प्रदेशका चौधै जिल्लाका प्रहरी कार्यालयले वर्ष ०७३/७४ मा बलात्कारका ३ सय ६, बलात्कार प्रयासका १ सय १५ र लागूऔषधका ५ सय ३७ मुद्दा दर्ता गरे । तीनैवटा अपराधमा ०७३/७४ मा ३३ महिलासहित १ हजार २ सय २९ जनालाई पक्राउ गरिए पनि २८ महिलासहित १ सय ६० जना फरार रहे ।

प्रदेशभरका प्रहरी कार्यालयले ०७४/७५ मा बलात्कारका ३ सय ८६, बलात्कार प्रयासका १ सय ९६ र लागूऔषधका ७ सय ३० मुद्दा दर्ता गरेको तथ्यांक छ । यी अपराधहरूमा २०७४/७५ मा ३६ महिलासहित १ हजार ३ सय ७७ पक्राउ परे भने १ महिलासहित १ सय १९ जना फरार रहे ।

यसैगरी, ०७५/७६ मा बलात्कारका ५ सय ४७, बलात्कार कोसिसका २ सय ३५ र लागूऔषधका ५ सय ८१ मुद्दा दर्ता भए । तिनमा ४३ महिलासहित १ हजार ५ सय २२ पक्राउ परे भने २ महिलासहित १ सय ९२ फरार रहे । ०७६/७७ को कात्तिकसम्म प्रदेशमा बलात्कारका १ सय ४३, बलात्कार प्रयासका ६७ र लागूऔषधका ३ सय ३३ मुद्दा प्रहरीले दर्ता गरेको छ ।

यी दुई अपराधमा युवा उमेरको सहभागिता बढ्नुमा न्यायिक प्रक्रियालाई दोष दिन नमिल्ने वरिष्ठ अपराधशास्त्री माधवप्रसाद आचार्यले बताए । जहिले र जता पनि मोडिन सक्ने अपरिपक्व उमेर यसको कारण भएको उनको ठम्याइ छ । ‘कम उमेरकालाई कानुन र सजायबारे हेक्का रहन्न,’ अपराधशास्त्री आचार्यले भने, ‘अरूको लहैलहैमा सहजै लाग्न सक्छन् ।’

उनको अनुसार भारतसँग जोडिएको खुला सिमानाका कारण लागूऔषध कारोबारबाट चाँडै पैसा कमाउने मनस्थिति र साथीभाइको संगतले समेत कम उमेरका अपराधमा पर्छन् । जसरी भए पनि धनी हुन अभिप्रेरित गर्ने अहिलेको सामाजिक सोच एवं नैतिक मूल्यमान्यतामा आएको ह्रास अपराधका कारण भएको समाजशास्त्री मुकेश सिंहले बताए ।

‘धन, शक्ति प्राप्ति र सफलताको अन्धदौडमा समाज कुदिरहेको छ,’उनले भने, ‘अहिलेको समाजमा त्यागको भावना नै छैन, असल एवं नैतिकवानको सम्मान गर्ने परिपाटी नभएसम्म यी अपराधहरू रोकिन्न ।’ प्रदेशका कारागारहरूमा लागूऔषधका ८ सय ३८, जबरजस्ती करणीका १ हजार ५ सय ४८ र जबरजस्ती करणी उद्योगका ३ सय ८८ कैदी/थुनुवा छन् ।

लागूऔषध मुद्दामा सबैभन्दा बढी झापामा ३ सय ४, सुनसरीमा २ सय ९१, मोरङमा १ सय ७५ र उदयपुरमा ४१ कैदी/थुनुवा छन् । जबरजस्ती करणी मुद्दामा भने सबैभन्दा बढी सुनसरीमा ६ सय १६, झापामा २ सय ९९ र मोरङमा २ सय ६२ कैदी/थुनुवा छन् । जबरजस्ती करणी उद्योगमा सबैभन्दा बढी मोरङमा २ सय ३७, सुनसरीमा ८० र इलाममा ११ जना कैदी/थुनुवा छन् ।

प्रकाशित : मंसिर २३, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

अपराध रोक्न प्रहरीद्वारा विवरण संकलन

कान्तिपुर संवाददाता

बिर्तामोड — इलाका प्रहरी कार्यालय बिर्तामोडले होटल मालिक र घर भाडामा दिने घरधनीहरूको विवरण संकलन थालेको छ । आपराधिक क्रियाकलाप नियन्त्रणका लागि विवरण संकलन थालिएको प्रहरीले जनाएको छ ।बिर्तामोड नगरपालिकाभित्र सञ्चालनमा रहेका होटलका मालिकहरूले प्रहरीको विवरण अनिवार्य भर्नुपर्ने व्यवस्था गरिएको छ ।

होटल मालिकको फोटो, नागरिकताको फोटोकपीसहित तीन पुस्ते विवरण, परिवारको विवरण, कर्मचारीको पदसहितको व्यक्तिगत विवरण, कर्मचारी नियुक्ती गर्दा र बर्खास्त गर्दा तथा होटल बन्द गर्नुपरेको खण्डमा प्रहरीलाई अनिवार्य जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ ।

होटल सम्बन्धित निकायमा दर्ता भए/नभएको, सीसी क्यामेरा जडान गरे/नगरेको, होटलमा आउने सम्पूर्ण ग्राहकको फोटोसहितको विवरण राख्नुपर्ने व्यवस्थासहितको विवरण संकलन गरिरहेको इलाका प्रहरी प्रमुख डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।
त्यस्तै घर भाडामा दिने घरधनीको फोटो, नागरिकतासहितको तीनपुस्ते विवरण, सम्पर्क नम्बर, मतदाता प्रमाणपत्र नम्बर, सवारी साधनको विवरण, परिवारको विवरण, घरभाडामा बस्नेको विवरण, भाडामा बस्नेको नागरिकता नम्बर, मतदाता प्रमाणपत्र नम्बर, सम्पर्क नम्बर, परिवारको विवरण राख्नुपर्ने जनाइएको छ ।

यसैगरी पेसा, सवारीसाधनको विवरण, घरदेखि बाटोसम्म पुग्ने नक्सा स्पष्ट खुलाई विवरण भर्नुपर्ने डीएसपी थापाले बताए । यसका साथै घर भाडामा दिनेले थप विभिन्न ९ वटा नियम पनि पालना गर्नुपर्ने उल्लेख छ ।‘अपराध रोकथाम तथा नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्नका लागि हामीले विवरण संकलन गर्न थालेका हौं’ डीएसपी थापाले भने । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूले घर भाडामा लिएर तथा होटललाई आश्रयस्थल बनाएकाले विवरण संकलन आवश्यक भएको उनको भनाई छ ।

होटल सम्बन्धि यथार्थ विवरण नहुदा अवैध यौनधन्दा तथा बाल श्रम शोषणा, बालिकाहरू बेश्यावृत्तिमा प्रयोग हुने गरेको, ग्राहक ठगीमा पर्नेगरेको, झैझगडा हुने, अधिकांश होटलहरू करको दायरामा नआएकोलगायतका समस्या रहेको प्रहरीको विश्लेषण छ । होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३ को दफा ५ मा स्पष्ट व्यवस्था भएपनि होटल सञ्चालकहरूले ऐन कार्यान्वयन नगरेको थापाको भनाई छ ।

ऐन कार्यान्वयनका लागि लिखित, मौखिक एवं अन्तर्क्रियात्मक कार्यक्रमगरी पटकपटक आग्रह गर्दा समेत बेवास्ता गर्ने गरेकाले विवरण संकलन थालेको उनले बताए ।बिर्तामोडमा सानाठूला गरी ४ सय बढी होटल सञ्चालित रहेको प्रहरीको अनुमान छ । नगरभित्र २३ हजार घरधुरी रहेका छन् ।

‘होटलहरूको विवरण संकलन धमाधम भइरहेको छ । घर मालिकहरूको भने तत्कालै नगरभित्रका सबै टोल विकास संस्थाहरूसंगको समन्वयमा विवरण संकलन गर्ने काम सुरु गर्नेछौं’ डीएसपी थापाले भने ।

प्रकाशित : मंसिर २३, २०७६ ११:४४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×