तीन विमानस्थलमा परिक्षण उडान

आनन्द गौतम

ताप्लेजुङ — सीता एयरलाइन्सले मंगलबार एक नम्बर प्रदेशका तीनवटा विमानस्थलमा परिक्षण उडान गरेको छ । ताप्लेजुङको सुकेटार खोटाङको लामिडाँडा र ओखलढुंगाको रुम्जाटार विमानस्थलमा परिक्षण उडान गरिएको हो । एयरलाइन्सका म्यानेजर रिजेश थापाका अनुसार तीनै वडाका परिक्षण सफल भएका छन् । 

ZenTravel

प्रदेश राजधानी विराटनगरवाट ताप्लेजुङको सुकेटार विमानस्थलमा २० मिनेटमा अवतरण भएको नागरिक उड्डयन प्राधिकरण सुकेटार विमानस्थलका प्रमुख रुपेश मुरारकाले बताए। मुरारकाका अनुसार मंगलबार बिहान परिक्षण गरिने भनिएपनि मौसमका कारण दिउँसो ३ बजेमात्रै जहाज अवतरण गरिएको थियो। चालक रोशन नेपाली कोइराला र रविन्द्र डंगोलले गरेका उडानमा चालकसहित ८ जना थिए। काठमाडौंबाट उडेको जहाज पहिला रुम्जाटार गएको थियो। त्यहाँबाट लामिडाँडा पुगेको विमान सिधैं सुकेटार आउने प्रयास गरेपनि मौसमका कारण विराटनगरमा गएर प्रतिक्षा गरेको थियो।

Meroghar

आगामी मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथीभरा र खोटाङको हलेसीमा तिर्थयात्री ओसार्ने योजनाका साथ परिक्षण गरिएको हो। यसको नेतृत्व एक नम्बर प्रदेशको विराट होलिडे ग्रुपले गरेको छ। होलिडे ग्रुपका अध्यक्ष भविन श्रेष्ठका अनुसार दुईमहिना प्याकेजमा चलाउने र त्यसपछि नियमित गर्ने उद्देश्य रहेको छ। ‘एक नम्बर प्रदेश एयरपोर्ट भएरपनि जहाज सञ्चालन गर्न काठमाडौंको भर पर्नुपर्‍यो,’ श्रेष्ठले भने, ‘यो दुइ महिनामा विराटनगरबाट आफ्नो प्रदेशभरि जहाज चल्छ भनेर प्रष्ट्याउन चाहन्छौं।’

दुई महिनाको अवधिमा विराटनगरबाट सुकेटारसम्म जहाजमा र त्यहाँबाट हेलिकप्टरमा पाथीभरा दर्शनकालागि तिर्थयात्री लैजाने उद्देश्य रहेको श्रेष्ठले बताए।

प्रकाशित : मंसिर १७, २०७६ १८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जलवायु सम्मेलन म्याड्रिडमा सुरु 

दुई साता चल्ने सम्मेलनमा विश्वभरबाट ३० हजारले सहभागीता जनाउने अपेक्षा गरिएको छ 
अब्दुल्लाह मियाँ

म्याड्रिड (स्पेन) — जलवायु परिवर्तनका कारण भविष्यमा निम्तिनसक्ने थप चुनौती न्युन गर्नेबारे बहस गर्न विश्वभरका सरकारी प्रतिनिधि, नेता, कुटनीतिज्ञ, विशेषज्ञ र अनुसन्धानकर्ता सोमबारदेखि स्पेनको म्याड्रिडमा भेला भएका छन् । 

जलवायु परिवर्तनसम्बन्धि राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) को यो २५ औं सम्मलेन (कोप २५) मा भाग लिन जलवायु परिवर्तनको मुख्य कारक मानिने हरितगृह ग्यास उत्सर्जन गर्ने विकसित र मार खेप्ने नेपालजस्ता अल्पविकसित वा अति कम विकसित (एलडीसी) मुलुकहरुका प्रतिनिधिसमेत छन् ।

यो महासन्धिमा नेपालसहित १ सय ९७ मुलुकहरुले हस्ताक्षर गरेर सदस्य भएका छन् । नेपाल सन् १९९४ मा यूएनएफसीसीसीको पक्ष मुलुक भएको हो । त्यसदेखि नै हरेक वर्ष यो सम्मेलन हुँदै आएको छ । नेपालमा वन तथा वातावरण मन्त्रालय यसको फोकलपोइन्ट हो ।

पक्ष मुलुकका सबै प्रतिनिधि सम्मेलनमा सहभागी छन् । सरकारबाहेक सरकारलाई सहयोग गर्ने दातृ संस्था, जलवायु परिवर्तनका मुद्दामा काम गर्ने संस्था, अनुसन्धानकर्ता, वैज्ञानिक र युवालगायत विश्वभरका आदिवासी जनजातिसमेत सहभागी छन् ।

सम्मेलनको औपचारिक सुरुवात सोमबार नै भए पनि मंगलबारदेखि प्रतिनिधि र वार्ताकारहरु छलफलमा जुटेका छन् । यो सम्मेलन चिलीको सान्टियागोमा यही मितिमा हुने गत वर्ष नै तय भएको थियो । तर, अन्तिम समयमा राजनीतिक गतिरोधका कारण उसले सम्मेलन गर्न नसक्ने घोषणा गरेको थियो । त्यसलगत्तै स्पेन सरकारले यो सम्मेलन गर्न इच्छा जनाएको हो । म्याड्रिडमा सम्मेलन भए पनि सम्मेलनभर अध्यक्षता चिलीले गर्नेछ । सोमबार नै पोल्याण्डले चिलीलाई अध्यक्षता हस्तान्तरण गरेको हो ।

सम्मेलनमा पेरिस सम्झौताको दफा ६ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सबै लागि पर्नुपर्ने मुद्दालाई सबैले जोड दिएका छन् । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको पेरिस सम्झौतालाई अहिलेसम्मकै जलवायु परिवर्तन न्यूनीकरणका लागि कोशेढुंगा मानिन्छ ।

उक्त दफामा अनुकुलनका कार्यहरुमा उच्च महत्वकांक्षा हासिल गर्न र दिगो विकास तथा वातावरणीय स्वच्छता बृद्धि गर्न आफ्ना राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी) को कार्यान्वयनमा स्वेच्छिक सहकार्यको मार्ग अवलम्बन गर्ने उल्लेख छ । सँगै दिगो विकासलाई बढावा दिँदै हरितगृह ग्यास उत्सर्जनको न्युनीकरण गर्ने, सार्वजनिक तथा नीजि निकायहरुबाट भएको हरितगृह ग्यास उत्सर्जनको न्युनीकरणमा हुने सहभागीतालाई अभिप्रेरित गर्ने र सहजीकरण गर्ने र जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट जोखिममा परेका विकासोन्मुख पक्ष मुलुकहरुलाई अनुकूलन खर्च बहन गर्नमा सहयोग पुर्याउनेलगायत उल्लेख छ ।



नेपालले नगण्य मात्रामा अर्थात् वार्षिक ०.००२७ प्रतिशत मात्र हतिरगृह ग्यास उत्सर्जन गर्छ । तर नेपाल जलवायुजन्य जोखिमका हिसाबले चौथो स्थानमा पर्छ । जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमतालको आकार बढ्ने, हिमनदी पग्लिने क्रममा वृद्धिका साथै समग्र मनसुनी गतिविधिमै बदलाब आएको छ । त्यसको प्रत्यक्ष असर जनजीवनमा परेको छ ।

सबभन्दा बढी हरित गृह ग्यास उत्सर्जन गर्ने मुलुक चीन हो । चीनपछि उच्च हतिरगृह ग्यास उत्सर्जन गर्ने अमेरिकाले पेरिस सम्झौताबाट हात झिकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनका कारण निम्तिएका भनी वैज्ञानिकहरुले अघि सारेका समस्यालाई अस्विकार गर्दै आएका छन् ।

सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा गुटेरसले दिनप्रतिदिनि जलवायु संटक बढिरहेको र त्यस्ता संकट नजिकै रहेको बताउदै राजनीतिक नेताहरूले त्यसप्रति जवाफदेही बन्नुपर्ने बेला आएको बताए । सन् २०५० भित्र कार्बन तटस्थता हासिल गर्नेगरी आशावादी बाटो समात्नेनगरी निर्णय लिनसमेत उलने झक्झक्याए ।

यूएनएफसीसीसीकी महासचिव प्याटरिसिया इस्पीनोसाले बितेको वर्षमा विश्वभर जलवायुजन्य असर देखा परेको र त्यसबाट धेरै क्षती व्यहोर्नुपरेको यथार्थता बताइन् । खडेरी, आधी, तातो वायु जस्ता गतिविधिले मानवीय स्वास्थ्यमा गम्भीर असर पुर्याएको उनले स्मरण गराइन् । जसका कारण लाखौं मानिसले बसाइसराई गर्न बाध्य भए । उनले जलवायुजन्य जोखिम न्युनीकरणका बाटोमा अघि बढ्न र जोखिम न्युनीकरणका लागि चाल्नुपर्ने कदम र सहयोग आदान प्रदानमा ठूलो छाती बनाउनसमेत उनले आग्रह गरिन् ।
यो सम्मेलनले जलवायु सम्बन्धी महत्वकांक्षालाई बढाउने उद्देश्य राखेको छ । सबै मुलुकहरुले हरितगृह उत्सर्जन घटाउने प्रतिबद्धतालाई यो सम्मेलनका दौरान बढाउनेछन् । दुई साता चल्ने सम्मेलनमा करिब ३० हजारले सहभागीता जनाउनेछन् ।

प्रकाशित : मंसिर १७, २०७६ १७:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×