कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिरामी बढेका बढ्यै

(बिर्तामोड) — ०७५ चैत अन्तिम साता बिर्तामोड नगरपालिका ३ बिर्ताबजारकी ४५ वर्षीया बैतासी राजवंशीको निधन भयो । कारण थियो, दुवै मिर्गौला खराब । बैतासीको निधन भएको ७ महिनापछि गत कार्तिक ७ गते उनका श्रीमान ५२ बर्षीय कर्म राजवंशीको पनि निधन भयो । छोराको निधनको कारण पनि मिर्गौला खराबी नै भएको ८४ वर्षीया आमा ज्ञानेश्वरीले दबिएको स्वरमा बताइन ।

बिरामी बढेका बढ्यै

अति विपन्न परिवारका राजवंशी दम्पती नै मिर्गौला रोगबाट पीडित थिए । आर्थिक अभावमा उपचार गराउन नपाउदा छोराबुहारी गुमाएको वयोवृद्धा ज्ञानेश्वरीले दुःख सुनाइन् । ‘खोइ कस्तो रोग लाग्यो । म बुढीआमालाई छोडेर छोराबुहारी दुवै जना गए’ मसिनो स्वरमा ज्ञानेश्वरीले भनिन्,‘उपचार गर्ने पैंसा भएन । उपचार नै नपाई ज्यान गुमाए ।’


हल्दिबारी गाउँपालिका १ गोलधापका लक्ष्मीप्रसाद न्यौपाने ९ महिनादेखि पत्नी ६३ वर्षीया पवित्राको स्याहार गरिरहेका छन् । पित्तथैलीको क्यान्सरका बिरामी पत्नी पवित्राको हेरचाह र औषधोपचारमा खटिनु उनको दैनिकी बनेको छ । आर्थिक अवस्था कमजोर न्यौपाने परिवारले पवित्राको उपचारमा अहिलेसम्म ८ लाख रुपैयाँ खर्च गरिसकेको छ ।


पछिल्लो समय झापामा नसर्ने रोगका बिरामीको संख्या बढेको छ । जिल्लामा नसर्ने रोगका बिरामीहरू बढ्दै गएको गाउँ/नगर पालिकाहरूले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । खराब जीवनशैलीका कारण यस्ता रोगीको संख्या बढ्दै गएको चिकित्सकहरूको भनाइ छ । दैनिक जीवनशैलीमा गरिने हेल्चेक्र्याइँले उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर, मुटुलगायत रोगका बिरामीको संख्या बढेको हो ।


विषादीयुक्त खाद्य पदार्थको प्रयोग, धुम्रपान–मध्यपान, रक्सी, खैनी, गुट्का, सुर्तीजन्य पदार्थको सेवन, पोलेको, तेलमा तारेको, रहनसहन, वातावरण तथा वंशाणुगत गुणका कारण पनि नसर्ने रोगबाट बिरामी पीडित हुने गरेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।


जिल्लामा मुटुरोग, मिर्गौलासम्बन्धी रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकल सेल एनेमिया गरी ८ प्रकारका रोगबाट पीडित बिरामीको दर बढ्दै गएको छ । कडा ८ प्रकारका रोगबाट पीडितहरूलाई सरकारले उपचारका लागि एक लाख रुपैयाँ छुट दिने प्रबन्ध मिलाए बमोजिम जिल्लाका स्थानीय पालिकाहरूबाट सिफारिस लिनेको संख्या उच्च रहेको पाइएको छ ।


मेचीनगर नगरपालिकामा गत फागुनदेखि कात्तिक मसान्तसम्म नसर्ने रोग लागेका ७३ जनाले उपचार सहयोगका लागि सिफारिस लिएका छन् । जसमा सबैभन्दा बढी क्यान्सरका बिरामी छन् । यो अवधिमा नगरभित्र ३२ जना क्यान्सरका नयाँ बिरामी फेला परेका हुन् ।


नगरपालिकाको तथ्यांकअनुसार २० जना महिला तथा १२ जना पुरुषमा क्यान्सर रोग देखिएको हो । मुटुका २० जना बिरामी देखिएका छन् । १३ जना पुरुष तथा ७ जना महिला मुटुको बिरामबाट पीडित भएको नगर स्वास्थ्य शाखाका दीपेन्द्र चौधरीले जानकारी दिए । नगरमा मिर्गौलाका १५ जना बिरामी देखिएका छन् ।


यसबाट १२ जना पुरुष र ३ जना महिला पीडित छन् । अल्जाइमर र स्पाइनल इन्जुरी २/२ तथा हेड इन्जुरी र पार्किन्सन्सबाट एक/एक जना बिरामी पीडित बनेका छन् । उनीहरू सबैलाई ‘विपन्न नागरिक औषधी उपचार कोष’ अन्तर्गत नेपाल सरकारबाट उपचारका लागि प्रदान गरिने एक लाख रुपैयाँसम्मको सहुलियतका लागि सिफारिस दिएर पठाएको चौधरीले बताए ।


बुद्धशान्ति गाउँपालिकामा फागुनदेखि कार्तिकसम्मको अवधिमा ३४ जना नयाँ बिरामी भेटिएका छन् । जसमा सबैभन्दा बढी क्यान्सरका १५ जना बिरामी छन् । क्यान्सरबाट १० महिला र ५ पुरुष पीडित बनेका छन् । मुटु रोगी ८ जना देखा परेका छन् । मुटुको बिरामबाट ५ पुरुष र ३ महिला पीडित छन् । मिर्गौला रोगी ७ जना भेटिएका छन् । जसमा ४ पुरुष र ३ महिला छन् । बुद्धशान्तिमा स्पाइनल इन्जुरी, अल्जाइमर र पार्किन्सन्सको रोगबाट एक/एक जना पीडित छन् ।


९ महिनाको अवधिमा बिर्तामोड नगरपालिकामा मुटुका ३० जना नयाँ बिरामी भेटिएका हुन् । क्यान्सरका २८, मिर्गौलाका १६ तथा हेड इन्जुरी र अल्जाइमरका २/२ जना बिरामीले उपचारका लागि नगरपालिकाबाट सिफारिस लगेका छन् ।


गौरादह नगरपालिकामा ४५ जना कडा रोगका नयाँ बिरामी भेटिएका हुन् । गौरादहमा पनि क्यान्सरका बिरामीको संख्या उच्च छ । यो अवधिमा क्यान्सरका १९ जना नयाँ बिरामी भेटिएको नगर स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए । त्यस्तै मिर्गौलाका ११, मुटुका ९, अल्जाइमर र स्पाइनल इन्जुरीका ३/३ जना बिरामी भेटिएका हुन् । कडाखाले नसर्ने रोगबाट पीडित उनीहरू सबैले नेपाल सरकारबाट प्राप्त हुने सहुलियतका लागि नगरबाट सिफारिस लिएर गएको श्रेष्ठले बताए ।


कमल गाउँपालिकामा पनि २६ जनामा क्यान्सर रोग देखा परेको छ । मुटु १६, मिर्गौला ११ र हेड इन्जुरीबाट २ जना बिरामी पीडित रहेको बाबुराम थुलुङले जानकारी दिए । हल्दिबारी गाउँपालिमा क्यान्सरका ७, मुटुका ७, मिर्गौलाका ३, हेड इन्जुरी २, नसा र अल्जाइमरका एक/एक जना बिरामी भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


प्रकाशित : मंसिर १७, २०७६ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?