बजेट पहिलो चौमासिक : प्रदेश सरकारको खर्च ६ प्रतिशत

मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको झूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आधारित कुनै कार्यक्रम सुर भएनन् 
देवनारायण साह

(मोरङ) — जेठ १५ भित्र सबै बजेट खर्चिने घोषणा गरेको प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा ६ दशमलव ५१ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । कुल बजेट ४२ अर्ब २० करोड ४ लाख १२ हजारमध्ये २ अर्ब ७४ करोड ७७ लाख ७६ हजार ५ सय ७८ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ । 

सरकारले चालुतर्फ १८ अर्ब ६२ करोड ६४ लाख ७६ हजारमध्ये ५ दशमलव ४१ प्रतिशत अर्थात् १ अर्ब ९१ लाख १८ हजार ४ सय ७० रुपैयाँ खर्चिएको हो । यस्तै पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजारमध्ये ७ दशमलव ३८ प्रतिशत अर्थात् १ अर्ब ७३ करोड ८६ लाख ५८ हजार १ सय ५ रुपैयाँ खर्च भएको कार्यालयका सूचना अधिकारी अन्तिम आचार्यले जानकारी दिए ।


मुख्यमन्त्री शेरधन राईले नेतृत्व गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा आधारित कुनै पनि कार्यक्रम सुरु हुन सकेका छैनन् । उक्त मन्त्रालयले ल्याएको अनुदान वितरण कार्यक्रममा गत वर्ष व्यापक आर्थिक अनियमितता भएको भन्दै प्रदेशसभामा आवाज उठेपछि राईले चालू वर्ष त्यस्ता कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको मन्त्रालयका निमित सचिव पशुपति पोखरेलले बताए । ‘एकीकृत कार्यविधि निर्माण भइसकेकाले अब चाँडै कार्यक्रम सुरु गर्ने तयारीमा छौं,’ उनले भने, ‘अब उत्पादनमा अनुदान दिने कार्यविधि मन्त्रिपरिषद्ले स्विकृत गरेको छ ।’ यो मन्त्रालयको कुल बजेट ४ अर्ब ४ करोड १० लाख ३२ हजार रहेकोमा पहिलो चौमासिकको खर्च ४ दशमलव ६२ प्रतिशत अर्थात् १८ करोड ६५ लाख ६० हजार ६ सय ३३ रुपैयाँ मात्रै छ ।


मुख्यमन्त्री नै नेतृत्व गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयको १९ अर्ब ८५ करोड ९९ लाख ८१ हजारमध्ये ८ दशमलव ९ प्रतिशत अर्थात् १ अर्ब ७६ करोड ६७ लाख ६५ हजार ७१ रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ ।


प्रदेशकै सबैभन्दा बढी बजेट रहेको यो मन्त्रालयको चालुतर्फ ९९ करोड ९९ लाख ८७ हजारमा १५ करोड ६ लाख ३ सय ६१ रुपैयाँ र पुँजीगततर्फ १८ अर्ब ८५ करोड ९९ लाख ९४ हजारमा १ अर्ब ६१ करोड ६१ लाख ६४ हजार ७ सय १० रुपैयाँ खर्च भएको हो ।


यस्तै, गत आवमा सबैभन्दा बढी खर्च गरेको समाजिक विकास मन्त्रालयको चालु वर्ष निराशाजनक छ । उक्त मन्त्रालयले ४ अर्ब १६ करोड ६८ लाख ७५ हजारमा शून्य दशमलव शून्य ६ प्रतिशत अर्थात् २५ करोड ११ लाख ५९ हजार ३ सय ७५ हजार मात्रै खर्च गरेको कार्यालयले जनाएको छ । चालूतर्फ ३ अर्ब ४४ करोड ५२ लाख ८३ हजारमा २४ करोड ४० लाख ५१ हजार ५ सय ६७ र पुँजीगततर्फ ७२ करोड १५ लाख ९२ हजारमा ७१ लाख ७ हजार ८ सय ८ रुपैयाँ मात्रै खर्च गरेको छ ।


पर्यटन वर्ष २०२० मा पर्यटक भित्र्याउन संघीय सरकारले देश–विदेशमा विभिन्न गतिविधि गर्दै आएको छ । तर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन पूर्वाधारमा लगानी गर्न सकेको छैन । उक्त मन्त्रालयको कूल बजेट ३ अर्ब ८३ करोड २७ लाख ३८ हजारमा ७ दशमलव ३६ प्रतिशत अर्थात् २८ करोड १९ लाख ४४ हजार ४ सय १५ रुपैयाँ मात्रै खर्च भएको छ । चालु तर्फ १ अर्ब ६५ करोड ९९ लाख १५ हजारमा २५ करोड १० लाख १७ हजार ६ सय ५९ र पुँजीगततर्फ २ अर्ब १७ करोड २८ लाख २३ हजारमा ३ करोड ९ लाख २६ हजार ७ सय ५६ रुपैयाँ खर्चिएको हो ।


आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कुल बजेट १ अर्ब ४८ करोड २८ लाख ६८ हजारमा ४ दशमलव ६७ प्रतिशत अर्थात् ६ करोड ९२ लाख ४१ हजार ७२ रुपैयाँ मात्रै खर्च भएको छ । उक्त मन्त्रालयको चालूतर्फ ३३ करोड ८३ लाख ८ हजारमा ३ करोड १८ लाख ७९ हजार ९ सय ८२ रुपैयाँ र पुँजीगततर्फ १ अर्ब १४ करोड ४५ लाख ६० हजारमा ३ करोड ७३ लाख ६१ हजार ९० रुपैयाँ मात्रै खर्च छ ।


आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा बढी ९ दशमलव ८३ प्रतिशत अर्थात् ८ करोड ९६ लाख ४ सय २५ रुपैयाँ खर्च गरेको छ । ९१ करोड १३ लाख १७ हजार कुल बजेट रहेकोमा चालुतर्फ ८२ करोड ४६ लाख ६७ हजारमध्ये ८ करोड ६२ लाख २१ हजार ९ सय ६१ रुपैयाँ र पुँजीगततर्फ ८ करोड ६६ लाख ५० हजारमध्ये ३३ लाख ७८ हजार ४ सय ६४ रुपैयाँ खर्चिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुल बजेट २८ करोड ६ लाख ७३ हजारमा ८ दशमलव ४३ प्रतिशत अर्थात् २ करोड ३६ लाख ६३ हजार ९ सय ५६ रुपैयाँ खर्च भएको छ । प्रदेश व्यवस्थापिकाको ३३ करोड ६० लाख ९६ हजारमा ६ करोड ८ ३ लाख ५९ हजार ७ सय ४९ रुपैयाँ खर्च भएको छ ।

अर्थविद प्राडा. वेदराज आचार्यले प्रदेश सरकारले विकास निर्माण क्षेत्रका समस्या बुझ्न नसकेकाले चाहेजति बजेट खर्चन नसकेको बताए । ‘प्रदेश सरकारले समयमा कार्यान्वयन गर्न सकिने गरी योजना ल्याउन नसकेकाले पनि बजेट खर्च प्रभावित भएको छ,’ उनले भने, ‘सरकारले आर्थिक रुपमा आफ्नो भूमिका पहिचान गर्न नसक्नु र आर्थिक रुपमा परिवर्तनकै फेजमा रहेकोले यस्तो अबस्था देखिएको हो ।’ मन्त्रीहरू आ–आफ्ना क्षेत्रका जनताका समस्या बुझ्न, योजना कार्यान्वयनका साथै उत्पादन र उत्पादकत्व बढाउन समय नदिई औपचारिक कार्यक्रममा व्यस्त रहने गरेको उनले आरोप लगाए ।


प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीले प्रदेश सरकारको पहिलो चौमासिक खर्च ६ दशमलव ५१ प्रतिशत मात्रै हुनु निराशाजनकै भएको स्विकारे । ‘पहिलो चौमासिकमा न्यूनतम १५ प्रतिशतसम्म बजेट खर्च भइदिएको भए प्रगति देखिने थियो,’ उनले भने, ‘तर मुख्यमन्त्री र मन्त्रीहरूले सबै मन्त्रालयलाई काममा गति दिन निर्देशन दिनुभएकाले दोस्रो चौमासिकमा खर्चको प्रतिशत सन्तोषजनक देखिने अपेक्षा छ ।’ प्रकाशित : मंसिर १५, २०७६ ११:३३

प्रतिक्रिया
पठाउनुहोस्

विरासत फिर्त्याउने गरी टिम बनाएका छौं : मन्त्री

कान्तिपुर संवाददाता

जगतबहादुर विश्वकर्माले युवा तथा खेलकुद मन्त्रालय सम्हालेको झन्डै २१ महिना भयो । पछिल्ला दिन उनको व्यस्तता मन्त्रालय नभएर दशरथ रंगशालामा भएको छ । १३ औं दक्षिण एसियाली खेलकुदको खटाइमा परेका छन् उनी । भताभुंग रंगशालालाई आकर्षक रुप दिन लागिपरे । यही सागको सेरोफेरोमा कान्तिपुरका लागि कुशल तिमल्सिनाले गरेको कुराकारी : 

जगतबहादुर विश्वकर्मा
मन्त्री, युवा तथा खेलकुद

नेपालले आयोजना गर्ने सबैभन्दा ठूलो प्रतियोगिताका लागि हामीले हतारमा तयारी गर्‍यौं । अन्तिम समयमा धेरै काम तीव्र गतिमा सम्पन्न भए । कति कठिन भयो र कसरी भयो काम ?
१३ औं साग आयोजना, व्यवस्थापन र खेल सञ्चालनसम्बन्धी हाम्रो कामहरू जुन हिसावले व्यवस्थित गर्नुपर्ने थियो, त्यो नै चुनौती थियो । त्यसका लागि पूर्वाधारको तयारी नै मुख्य चुनौती थियो । किनभने हाम्रो दशरथ रंगशाला नै भूकम्पले क्षतविक्षत थियो । हाम्रो खेल क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार नै बन्न बाँकी थिए । १३ औं साग आयोजनाका लागि हामीले २०७२ सालमै जिम्मेबारी लिएका थियौं । त्यसयता जसरी कामले गति लिनुपर्ने थियो । त्यस्तो परिस्थिति भएन । वर्तमान सरकार गठन हुनुपूर्व पनि सागको मिति सारिएको थियो । मैले जिम्मेबारी लिएपछि अन्तर्राष्ट्रिय महत्त्व र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको प्रतियोगितालाई भव्यतासाथ सम्पन्न गर्नुपर्छ भन्ने संकल्प गरेर अगाडि बढेको थिएँ । किनभने सागको जन्मदाता नेपाल हो र यसको आठौं संस्करण पनि यहाँ सम्पन्न भइसकेको थियो ।

यसबीचमा हामीलाई चुनौतीमात्र होइन जोखिम पनि थियो । मैले मन्त्रालयले नेतृत्व लिइसकेपछि गत फागुनमा हुने निर्धारण गरिएको सागको मिति मंसिरसम्म सारिएको थियो । आफैंले निर्धारण गरेको मितिमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार लगायतका चुनौती थिए, समय थोरै थियो । सागसँग सम्बन्धित पूर्वाधारको सबै काम यसैबीच भएको हो । पूर्वाधारको चुनौती एकातिर थियो भने निर्धारित मिति नजिकिँदो थियो, यसले जोखिम पनि अवश्य बढेको थियो ।

राष्ट्रय प्रतिष्ठासँग जोडिएको परियोजना भएकाले हामी जसरी पनि सम्पन्न गर्ने अठोटमा अगाडि बढेका थियौं । पूर्वाधारदेखि व्यवस्थापकीय सबै कामका लागि हामीले सबै पक्षबाट सहयोग पायौं, यसले हौसला थप्यो । खेल संघ, खेलाडीहरू, राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयका कर्मचारी, ठेकेदार, प्राविधि र मजदूरसम्मले हामीलाई साथ दिनुभयो । पछिल्लो समय दशरथ रंगशालाको भीआईपी प्यारापिटमा पुरानो संरचना भत्काएर नयाँ राख्ने काम नै सबैभन्दा कठिन थियो ।

सात महिनाको अवधिमा हामीले दशरथ रंगशाला भीआईपी प्यारापिटको छानो राख्ने काम नै सबैभन्दा कठिन थियो । गएको ७ महिनाको अवधिमा हामीले दशरथ रंगशाला भीआईपी प्यारापिटको ‘डिजाइन एन्ड विल्ड’ को ग्लोबल टेन्डरमार्फत काम सम्पन्न भएको हो । यहाँका निर्माण मजदुरले पनि यो कामलाई अपनत्व लिइदिनुभयो । उहाँले ज्यालाका लागि होइन देशका लागि काम गर्नुभयो, हामीले समयमै साग आयोजना गर्न सक्नुको श्रेय ती तमाम निर्माण मजदूरलाई दिन चाहन्छु । उहाँहरूले रातविरात नभनी मनैदेखि काम गर्नुभयो, जुन मैले जीवनमा भुल्न सक्दिनँ । स्वाभाविक रूपमा १३ औं साग आइतबार (मंसिर १५) उद्घाटन हुने छ । सम्माननीय राष्ट्रपतिज्यूले उद्घाटन गर्नुहुनेछ । सहभागी सबै देशबाट खेलाडी, अफिसियल र पाहुना आउने क्रम जारी छ । सबैको केन्द्रिकृत लगाव र मिहिनेतको प्रतिफल यो परिस्थिति निर्माण भएको हो ।

तपाइले भन्नुभए जस्तै दशरथ रंगशालामात्र होइन सागका लागि बनाइएका सबैजसो पूर्वाधारको काम यसैगरी हतारमा सम्पन्न गरिएका छन् । हतारमा गरिएका कामको दीर्घकालीन टिकाउ र संरक्षणमा पनि ध्यान दिइएको छ ?
मैले मन्त्रालयको जिम्मेवारी सम्हालेयता समयमा १३ औं सागका पूर्वाधारमात्र होइन आठौं राष्ट्रिय खेलकुदलाई पनि सागको रणनीतिक तयारीका रूपमा हेरेर योजनाबद्ध काम गरेका थियौं । प्रदेश ५ मा आठौं राष्ट्रियको आयोजना गर्दा पनि हामीलाई पूर्वाधारको यस्तै चुनौती थियो । हामीले त्यहाँ पनि ७ महिनाको अवधिमा सम्पूर्ण पूर्वाधार तयार पारेका हौं । अहिले पनि सागका लागि सम्पूर्ण पूर्वाधार यो छोटो समयमै पूरा गरेका हौं । नेपालको खेलक्षेत्रको इतिहासमै यति छोटो समयमा यति धेरै पूर्वाधार निर्माण भएको पहिलोपल्ट हो ।

छोटो अवधिमा भएका पुनर्निर्माणको कामलाई लिएर यसको टिकाउपनमा जसरी प्रश्न उठाउन थालिएको छ, यसको कुनै अर्थ छैन । किनभने हामी यसबारेमा सुरुआतदेखि नै सचेत छौं । किनभने हामीले निर्माण गरेका पूर्वाधार सागका लागि मात्र होइन । हामीले प्रतियोगिताका लागि मात्र पूर्वाधार बनाएका होइनौं, नेपाली खेलकुदको लामो भविष्य सोचेर तथा सरकारबाट खेलकुद उच्च प्राथमिकतामा नपरेको स्थिति मूल्यांकन गरेर नै राज्यको स्रोतसाधन परिचालन गर्ने यो अवसर उपयोग गरेका हौं । अर्को कुरा सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ भन्ने पनि हाम्रो मान्यता हो । यो सरकारले पहिलेको तुलनामा खेललाई प्राथमिकता पनि दिएको छ । हामीले बनाएका पूर्वाधार अन्तर्राष्ट्रिय मान्यता र स्तरका छन् । कतिपय पूर्वाधार अहिलेलाई राष्ट्रिय मान्यताका भए पनि त्यसलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय मान्यताको बनाउन मिल्ने गरी निर्माण भएका छन् । बनेका पूर्वाधार संरक्षणमा पनि ध्यान दिइनेछ ।

२०७४ मा तपाईले खेलकुद मन्त्रालयको जिम्मेवारी लिँदाको अवस्थामा १३ औं साग नेपालले गर्ने निश्चित थियो । तपाईको मन्त्रालयबाट यसको आयोजनाका लागि हुनुपर्ने सक्रियता समयमै हुन नसकेको हो ?
यो कुरालाई म शतप्रतिशत अस्वीकार गर्छु । मैले जिम्मेवारी लिएपछि साग आयोजनाको नेपालको जिम्मेवारी अन्तर्राष्ट्रिय क्षेत्रमा बक्यौता रहेछ भन्ने थाहा पाएँ । त्यही दिन मैले जुनसुकै हालतमा हामीले साग आयोजना गर्नुपर्छ भन्ने प्रण गरेको थिएँ । अहिलेको परिणाम त्यतिबेलाकै संकल्प हो । अगाडिका नेतृत्वले समयमै आफ्नो जिम्मेवारी बहन नगर्दा मैले आएर एकपल्ट सागको मिति सार्नुपर्‍यो । संस्थागत रूपमा भएका कामको जिम्मेवारी त लिनुपर्छ तर मेरा कारणले साग आयोजनाका लागि असहज परिस्थितिको निर्माण भएको छैन । गएको फागुनमा मिति सार्नुअगाडि हाम्रा पूर्वाधार र अन्य तयारी अस्तव्यस्त नै थिए । त्यतिबेलाको परिस्थिति बाध्यात्मक थियो ।

साग आयोजनामात्र होइन मन्त्रालयले अन्य व्यवस्थापकीय काम पनि सँगसँगै अगाडि बढाएको थियो । खेलसंघको विवाद, ओलम्पिक कमिटीको विवादलगायतको समस्या समाधान भएका छन् । पूर्वाधारका काममा परिणाम निस्कन ढिला भए पनि हामीले सुरुदेखि नै योजना बनाएर काम गरिरहेका थियौं । रंगशाला निर्माण गर्नेजस्तो काम रातारात गरेर हुने कुरा त होइन । यसको परिणाम बल्ल अहिले निस्किएको हो । मन्त्री नै रातिराति बसेर रंगशाला बनाए, आफूमातहतका कर्मचारी परिचालन गर्न सकेनन् भन्ने टिप्पणी मैले सुनिरहेको छु । मन्त्रीले कामको अनुगमन गर्नै नहुने भन्ने कतै लेखेको त छैन हो । अपनत्व लिएर आफूमातहतको जिम्मेवारी निर्वाह गर्न मलाई कसैले रोक्न सक्दैन । यस्ता टिप्पणीले मलाई अझै काम गर्न प्रोत्साहित गरेकै छ ।

अहिलेसम्म सबैको चिन्ता र चासो पूर्वाधारमा थियो । त्यो निराकरण भइसकेको छ । नेपालको नतिजा कस्तो आउँछ भन्ने चासो छ । तपाई राष्ट्रिय टिम तयारीलाई कसरी हेर्नुभएको छ र नेपालको पदक सम्भावना कस्तो देख्नुहुन्छ ?
साग आयोजनासँग सम्बन्धित सबै तयारी हाम्रै जिम्मेवारी हो । पूर्वाधार निर्माण, व्यवस्थापकीय जिम्मेवारीलगायत हामीले घरेलु मैदानमा आयोजना हुने सागमा पदक तालिकामा हाम्रो स्थान के हुने भन्नेबारे पनि चिन्तित थियौं । पछिल्लोपल्ट हामीले साग आयोजना गर्दा हामी दोस्रो भएका थियौं । यसपल्ट पनि हामीले त्यही विरासत फिर्ता ल्याउन डेढ वर्षदेखि नै हामीले सागलक्षित टिम तयारी गरेका छौं ।

गत वर्ष भदौमा १८ औं एसियाली खेलकुद, वैशाखमा आठौं राष्ट्रिय खेलकुदपछि जेठदेखि नै राष्ट्रिय टिम तयारी सुरु गरेका हौं । हामीले समावेश सबै खेलमा आफ्नो टिम समावेश गरेका छौं । धेरैजसो टिमलाई वैदेशिक तयारीमा पठायौं । कतिपय खेलका लागि विदेशबाट दक्ष प्रशिक्षक झिकाएर प्रशिक्षण गराएका छौं । यसकारण म आशावादी छु कि यसपल्ट पदकतालिकामा नेपालको स्थान निराशाजनक हुने छैन । यो खेलको समापनसँगै नेपाली खेलाडीले प्राप्त गरेको सफलताले नेपाली खेलक्षेत्रलाई उत्साह र उर्जा भर्ने काम गर्छ भन्ने विश्वास छ ।

सरकारको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा दोस्रो हुनुभएको छ, यो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिन भविष्यका योजना के के छन् ?
म एउटा आधारभूत परिवारमा जन्मेको मान्छे हो । आफूलाई प्राप्त भएको जिम्मेवारी निष्ठा र इमानसाथ निर्वाह गर्ने मेरो स्वभाव छ । त्यसैले खुरुखुरु काम गर्दा कति काम भए । कति काम गर्न सकिएन । कति बाँकी छ त्यो मलाइ थाहा छ । खेलक्षेत्रको विकास र विस्तारका लागि युवासँग सरोकारका धेरै काम गर्न बाँकी छन् । यसबीचमा धेरै काम गर्न सकियो जस्तो मलाई लाग्दैन । मैले मन्त्रालयको जिम्मेवारी लिएपछि केही समय त खेलकुद बुझ्न नै लाग्यो । कार्यसम्पादन मूल्यांकनको कुरा मन्त्रालयको नियमित कामको प्रतिफल हो, यो ठूलो कुरा वा उपलब्धि होइन ।

प्रकाशित : मंसिर १५, २०७६ ११:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×