कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वाधार निर्माणमा हेलचक्य्राइँ

डिल्लीराम खतिवडा

(उदयपुर) — स्थानीय तहमा पूर्वाधार अझै पूरा हुन सकेको छैन । विकासको पहिलो पूर्वाधार सडक र बिजुलीलाई नै मानेर करोडौं रकम खर्चिए पनि ती योजना अधुरै छन् । 

पूर्वाधार निर्माणमा हेलचक्य्राइँ

स्थानी तहको गठन भएको अढाई वर्ष बितिसकेको छ । पूर्वाधार अभावमा अहिले पनि सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको छ । विशेष नगरपालिका क्षेत्रमा सडक, बिजुली, पानी, सञ्चारलगायतका अत्यावश्यकीय सेवा हुनुपर्ने हो तर न्यूनतम आधारभूत सेवासमेत सर्वसाधारणले पाएका छैनन् ।


मुलुक संघीयतामा गएसँगै गठन भएको स्थानीय तहअन्तर्गतका नगरपालिका हचुवाकै भरमा बनाइएका छन् । संघीयतासँगै उदयपुरमा वेलका, चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका र रौतामाई, उदयपुरगढी, लिम्चुवुङ र ताप्ली गाउँपालिका समेत ८ स्थानीय तह गठन गरिएको हो । स्थानीय तहको गठनसँगै निर्वाचित जनप्रतिनिधिले कार्यभार समालेको झन्डै २९ महिना बितिसकेको छ । तर अहिलेसम्म यी स्थानीय तहमा रहेका ७५ वडामध्ये अपवादमा बाहेकका एउटा वडा पनि पूर्ण रूपमा पूर्वाधारको विकास हुन सकेको छैन । कतिपयमा सडक छ, बिजुली छैन । बिजुली छ, सडक छैन । सडक, बिजुली र पिउनेपानी भएको वडामा सञ्चार सुविधा छैन ।


प्राय: ८ वटै स्थानीय तहले विकासको पूर्वाधार भन्दै पहिलो प्राथामिकतामा सडक र बिजुलीलाई नै राखेका छन । ती पनि अपूरा, अधुरा र निर्माण भएको पनि प्रयोगहीन अवस्थामा रहेको सर्वसाधारण गुनासो गरेका छन् । ‘सर्वसाधारणलाई भन्दा जनप्रतिनिधिलाई बाटो (सडक) आवश्यक परेको छ,’ लिम्चुवुङ गाउँपालिकाका ७९ बर्षीय तिलकराम राईले भने, ‘सडक बनाउँदा आफ्नो मेसिन (स्काइभेटर) काम पाउने र आफूले भनेको मान्छे उपभोक्ता समितिमा बस्ने ।’ मेसिन र आफ्नो मान्छे दुवैले कमाउने भए पनि सर्वसारधणको आवश्यकताभन्दा पनि जनप्रतिधिको खुसी र दबाबमा सडक बनेको उनले बताए ।


पूर्वाधारका नाममा सर्वसाधारण जनप्रतिनिधिले आवश्यकताबिना र आवश्यकता भए पनि हचुवाका भरमा निर्माण गरिएका सडक अहिले कामै नलाग्ने अवस्थामा समेत छन् । हचुवाका भरमा खनिएका सडकका करण गत वर्षातमा आएको बाढीपहिरोले बगाउँदा लिम्चुवुङ गाउँपालिकाका सर्वसाधारणले खाद्यान्य संकट नै बेर्होनुपरेको थियो ।


सडक बगाउँदा प्रदेश सरकारले उपलब्ध गराएको राहत हेलिकप्टर चार्टर गरेर पुर्‍याउनुपर्ने अवस्था आएको थियो । त्यो सर्वसाधारणको आवश्यकताभन्दा पनि बढी निर्वाचित जनप्रतिनिधिले चासो राखेर सडक खन्दा भएको संकट भएको अहिले पनि उदाहरणको रूपमा प्रस्तुत गरिँदै आएको स्थानीयले बताए ।


रौतामाई, उदयपुरगढी, लिम्चुवुङ र ताप्ली गाउँपालिकाले विद्युतीकरणलाई पहिलो प्राथमिकतामा राख्दै सुरुदेखि नै करोडौं बजेट विनियोजन गरेका छन् । ती गाउँपालिकको कतिपय स्थानमा विद्युत् पोल गाडिए पनि तार टाँगिएको छैन । ‘पोल लगेर थुपारे पनि अहिलेसम्म गाडनेसम्म पनि काम गरिएको छैन,’ ताप्ली गाउँपालिकाका महेन्द्र कार्कीले भने, ‘थुपारेका पोल थुप्रिरहेका छन, गाडेका पोल लडिसक्दा पनि वास्ता हुँदैन ।’ विकास पूर्वाधार भन्दै बिजुली र सडकमा खर्चेको करोडौं रकम दुरुपयोग भएको उनले बताए ।


पहिले जथाभावी बाटो खनियो, अहिले ती बाटा काम नलाग्ने अवस्थामा पुगेको स्थानीय युवराज मगरले बताए । ‘जननिर्वाचित पदाधिकारी स्थानीय तहमा आएसँगै सडक र बिजुलीलाई पहिलो प्राथमिकता भन्दै करोडौंको बजेट खर्चियो,’ मगरले भने, ‘तर पहिलो वर्ष निर्माण गरिएको सडकलाई दोस्रो वर्ष वास्तै गरिएन ।’ दोस्रो वर्ष पुन अर्को योजनामा बनाएर रकम खर्चियो, सडक निर्माण गरियो । तर ती सडकमध्ये पनि कतिपय सडक कामै लाग्ने अवस्थामा नरहेको उनले बताए ।


पहाडी क्षेत्रका स्थानीय तहमा खनिएका कतिपय सडक अहिले प्रयोगमा छैनन । सुरुमा ट्र्याक खोलिएका सडकलाई स्तरोन्नति गरिएन । स्तर उन्नति नहुँदा कतिपय काम नलाग्ने भए । भए पनि यातायात सञ्चालन हुने अवस्थामा नहुँदा अहिले पुन: गोरेटो (पैदलयात्री हिँड्ने) बाटोमा परिणत भएका छन् ।


दुई चार परिवार बसोबास रहेको दुर्गम गाउँमा बाटो र बिजुली पुर्‍याउन स्थानीय तहले रकम खर्च गरे । तर बाटो र बिजुलीले मात्रै ती बस्तीका सर्वसाधारणको आधारभूत आवश्यकता पूरा हुन सकेन । त्यहाँका सर्वसाधारणलाई बाटो र बिजुलीसँगै पिउनेपानीको पनि अतिआवश्यक थियो । पिउनेपानी नै नभएपछि स्थानीय अन्यत्र बसाइँसराइ गरेर गएपछि स्थानीय तहले खनेका ती सडक र गाडिएको बिजुलीको पोल अहिले काम नलाग्ने अवस्थामा छन् । सर्वसाधारणको अवश्यकता एकातिर खर्च अर्कोतिर हुदाँ बजेटको दुरुपयोग भएको स्थानीयले बताए ।


दुर्गमका स्थानीय तहमा पूर्वाधार पूरा हुने अवस्था नै छैन । सुगम भनिएका स्थानीय तह कटारी, त्रियुगा, चौदण्डीगढी र वेलका नगरपालिकाका पनि केन्द्र भएको स्थानमा सडक, बिजुली, खानेपानीको अवस्था दयनीय छ । कटारी नगरपालिकको केन्द्र रहेको कटारी बजारदेखि २ किलोमिटर पर गिद्धबर क्षेत्रमा सञ्चार सुविधा छैन । त्यहाँ दूरसञ्चार सेवाप्रदायक नेपाल टेलिकमकै नेटवर्क लाग्दैन । सिद्धिचरण राजर्मागको आसपासमा सडक पुगेको छैन । भएको सिद्धिचरण राजमार्गसमेत जीर्ण हुँदा सर्वसाधारणको आवगमनमा सास्ती खेप्नुपरेको कटारी नगरपालिका– ११ हर्देनीकी मीना केसीले बताइन् ।


‘९, १० र १३ वडामा पूर्वाधार विकास हुन सकेको छैन,’ कटारीका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, ‘यी वडामा बिजुली, पिउने पानी, सडकलगायतको सुविधा पुयाउन सकिएको छैन ।’ सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिका बनेको १८ वर्ष बितिसक्दा पनि आधारभूत पूर्वाधार अहिलेसम्म पूरा हुन सकेको छैन । ‘अहिले नै पूर्वाधार निर्माण गर्न नसक्ने अवस्था छैन,’ स्थानीय नरेन्द्र थापाले भने, ‘नगरपालिका बनाइनु मात्रै ठूलो कुरो होइन, नगरपालिका बनाइँदा पूर्वाधार निर्माण गरेर मात्रै बनाइएको भए राम्रो हुने थियो ।’ नगरपालिकाको मुख्य बजार क्षेत्र गाईघाट बजारमा पूर्णरूपले पूर्वाधार निर्माण भइनसकेको उनले बताए ।


चौदण्डीगढी नगरपालिको ६ र ७ वडा मात्रै पूर्वाधार भएका वडा हुन् । अन्य वडामा पूर्वाधार निर्माणको काम भए पनि अझै वर्षौं लाग्ने स्थानीयले बताए । पूर्वाधार भएको भनिएको बेल्टार बजार नजिकैको क्षेत्रमा सडक स्तरीय छैनन् । ‘दुई वर्षअघिसम्म बेल्टार बजारका बासिन्दा नै खानेपानी अभावमा छटपटिरहनुपरेको थियो’, स्थानीय उमाकान्त चौलागाईंले भने, ‘अहिले पिउनेपानी भए पनि दिगो हुन सकेको छैन ।’

प्रकाशित : मंसिर १४, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?