कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ बाट पोखरा उडान

देवनारायण साह

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मंसिर १५ गतेदेखि भद्रपुर र विराटनगर विमानस्थलबाट पोखरका लागि उडान सुरु हुने घोषणा गरेका छन् । 

प्रदेश १ बाट पोखरा उडान

‘प्रदेश सरकारले बुद्ध एयरसँग मध्यस्थता गरेर भद्रपुर र विराटनगरबाट पोखर उडान सुरु गर्ने वातावरण निर्माण गरेको छ,’ उनले भने, ‘भद्रपुर र विराटनगरबाट पोखराका लागि सुरु भइरहेको उडानलाई नियमित गर्न सीमावर्ती भारतीय सहरहरुमा प्रदेश सरकारले प्रचारप्रसार अभियान सञ्चालन गर्न सहयोग गर्छ ।’


भारतीय पर्यटकहरुलाई प्रदेश १ का पर्यटकीय गन्तव्यहरु घुमाएर पोखर जान सहज बनाउनका लागि यो दुई वटा विमानस्थलबाट उडान सुरु गर्न लागिएको मुख्यमन्त्री राईको भनाइ थियो । यो दुई विमानस्थलबाट हुने पोखर उडानले पूर्वबाट आउने पर्यटकलाई पोखरासम्म पुर्‍याउन र पोखरा घुम्न आएका पर्यटकलाई प्रदेश १ का पर्यटकीय गन्तव्य हेर्न आकर्षित गर्न मद्दत पुग्ने उनले सुनाए ।


प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियैतले भारतका धेरै पर्यटक विराटनगरबाट काठमाडौं गएर पोखर घुम्न जाने गरेको बताए । ‘भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रदेश १ आउने पर्यटकलाई पोखरा र पोखरा आएकालाई प्रदेश १ ल्याएउन यो उडान आवश्यक थियो,’ उनले भने, ‘यो उडानलाई नियमित गर्नका लागि भारतको पटनासम्म मात्रै विराटनगर र भद्रपुरबाट पोखराका लागि उडान भइरहेको प्रचारप्रसार गर्न सकियौं भने प्रयाप्त यात्रु हुन्छ ।’


पोखरा, चितवन, मुक्तिनाथ भ्रमणका लागि आउने पर्यटकलाई कसरी प्रदेश १ का पर्यटकीय गन्तव्यहरुमा आकिर्षत गर्न सक्नु प्रदेश सरकारको पहिलो लक्ष्य रहेको कुसियैतको भनाइ थियो । प्रदेश १ का मनमोहक पर्यटकीय तथा धार्मिकस्थलहरुको प्रचारप्रसार गर्न सके पोखरा, चितवनलगायतका क्षेत्र घुम्न आउने पर्यटकलाई आकर्षित गर्न सकिने उनले विश्वास व्यक्त गरे ।


प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले भारतको सिक्कम, दार्जिलिङ आएका पर्यटक भद्रपुर र विराटनगरबाट पोखरा र मुक्तिनाथ जाने भएकोले यो उडान सफल हुने बताए । ‘विराटनगर विमानस्थललाई आधार बनाएर प्रदेश १ का सञ्चालनमा रहेका १३ वटा विमानस्थलका साथै माउण्टेन फ्लाइट सञ्चालन आवश्यक छ,’ उनले भने, ‘भारतको बागडोगराबाट दिल्ली जाने यात्रुहरुलाई विराटनगर विमानस्थलबाट दिल्लीको उडान सुरु गरेर आकर्षित गर्नु अहिलेको प्रमुख आवश्यक्ता हो ।’


बुद्ध एयरलायन्सका प्रबन्ध निर्देशक वीरेन्द्र बस्नेतले विराटनगर र भद्रपुर विमानस्थलबाट पोखरा जाने यात्रुहरुलाई काठमाडौं हुँदै लग्ने योजना रहेको बताए । ‘भद्रपुर र विराटनगरबाट काठमाडौं हुँदै पोखर ट्रान्जिट फ्लाइटमा यात्रु र लगेजको सम्पूर्ण जिम्मेवारी एयरलायन्सको हुन्छ,’ उनले भने, ‘भद्रपुर र विराटनगरबाट काठमाडौं गएपछि पोखराको उडान डिले भएको अवस्थामा चिया, नास्ताका साथै आराम गर्ने व्यवस्था र पोखराका लागि उडान हुन नसकेको अवस्थामा होटेलमा राख्नेसम्मको सुविधा यात्रुलाई दिन्छौं ।’


६ महिनासम्म ट्रान्जिट फ्लाईट भएपछि स्वतः एउटा प्रणालिको विकास हुने र त्यसपछि भद्रपुर र विराटनगरबाट सिधा पोखरा उडान भर्ने योजना रहेको बस्नेतले बताए । ‘अहिले विराटनगरबाट काठमाडौं हुँदै पोखरा दैनिक ३०/४० जनासम्म यात्रु जाने गरेका छन्,’ उनले भने, ‘विराटनगरबाट हप्तामा पोखरा जाने यात्रु २ सय भइदिए प्रत्येक साता ३ वटा सिधा पोखर उडान गर्न सक्छौं ।’


बुद्ध एयरलायन्सले हालै काठमाडौंदेखि भद्रपुर ३, विराटनगर ८ र पोखरा दैनिक १० वटा उडान गर्दै आएको छ । आउँदो मार्चदेखि काठमाडौंबाट विराटनगरका लागि थप एउटा उडान गरी दैनिक ९ वटा उडान हुने बस्नेतको भनाइ थियो ।


पर्यटन व्यवसायी भविश श्रेष्ठले प्रदेश १ स्थित बराह क्षेत्रलाई मुक्तिनाथसँग जोड्न सके भारतीय पर्यटक नै थामिनसक्ने अवस्था निर्माण हुने बताए । ‘भगवान विष्णुसँग नै मुक्तिनाथ जोडिएको र बराह क्षेत्र पनि भगवान विष्णुसँग जोडिएकोले यसबारे भारतमा प्रचारप्रसार आवश्यक छ,’ उनले भने, ‘प्रदेश १ को दुवै विमानस्थलबाट पोखरा हुने उडानलाई नियमित गर्नका लागि एयरलायन्स, पर्यटन व्यवसायी र प्रदेश सरकारले संयुक्त रुपमा भारतीय सहरमा प्रचार अभियान सुरु गर्नु आवश्यक छ ।’


प्रकाशित : मंसिर ९, २०७६ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?