कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक निर्माणमा लापरबाही

विराटनगर — विराटनगर महानगरपालिकाको रोडशेष चोक–रानी खण्ड निर्माणमा लापरबाही भएको पाइएको छ । सडकमा भएको धुलो र माटो नहटाई कालोपत्रेका लागि ‘प्राइमर कोट’ लगाएको पाइएको हो । सडक कालोपत्रे गरिनुअघि सडकमा ‘बेस’ तयार गर्नुपर्ने हुन्छ । त्यसपछि सडकमा रहेका धुलो र माटो सफा गरेर मात्रै ‘प्राइमर कोट’ लगाउने र त्यसमाथि पिच निर्माण गरिनुपर्ने हुन्छ । तर सघन सहरी विकास परियोजना विराटनगरअन्तर्गत निर्माण भइरहेको उक्त सडकमा निर्माण कम्पनी रमण कन्स्ट्रक्सनले धुलो सफा नगरि प्राइमर कोट लगाएपछि उपभोक्ताले विरोध गरेका छन् ।

सडक निर्माणमा लापरबाही

रोडशेष चोक–रानीसम्मको करिब ५ किमि कालोपत्र गर्ने ठेक्का लिएको रमण कन्स्ट्रक्सन कम्पनीले आफुहरूले पटकपटक अनुरोध गर्दा पनि गुणस्तरहिन काम गरिरहेको स्थानिय भीमबहादुर केसीले बताए । अनुरोध नमानेपछि मंगलबार स्थानियले महानगर मेयर भीम पराजुलीसहित प्राविधिकहरूको टोली बोलाएर उक्त सडकको अवस्थाबारे जानकारी गराए ।


अनुगमनको क्रममा १ हजार ३ सय मिटरमा गुणस्तरहिन काम भइरहेको भेटिएको हो । अनुगमन टोलीले कमसल काम भएकाले तत्काल सुधार गरि पुन: गुणस्तरीय काम गर्न कम्पनीलाई निर्देशन दिएको छ । निर्माण कम्पनीले प्राविधिक र सुपर भाइजरसँगै राखेर सडकको काम गुणस्तरीय गर्नुपर्ने स्थानियले माग गरेका छन् । महानगर प्रमुख पराजुलीले उक्त कंस्ट्रक्सन कम्पनिका कारण आफु आजित भइसकेको बताए ।


‘हामी आफै हैरान भइसक्यौं यो निर्माण कम्पनिसंग,’ उनले भने, ‘महानगरपालिकाको कार्य क्षेत्र भित्रपर्दैन त्यसैले हामिले पटक–पटक सहरी विकास परियोजनालाई भनेका छौं तर सुनुवाइ हुँदैन ।’ गुणस्तरहिन काम भइरहेको विषयमा आफुले प्रदेशका मुख्यमन्त्री शेधरन राईलाई जानकारी गराएको उनले बताए । साढे पाँच किलोमिटर सडक कालोपत्र गर्न रमण कन्स्ट्रक्सनले १७ करोड ९२ लाखमा ठेक्का लिएको छ । २०७४ जेठ २८ गतेदेखि निमार्ण सुरु गरेको कम्पनीले भर्खर १३ सय मिटर पिचको तयारी सुरु गरेको छ । रमण कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर प्रमोद साहले १ सय मिटरमा प्राइमकोट परीक्षणको रुपमा गरिएको र केहि गल्ती भएको बताए । मेसिन बिग्रीएकाले काम गुणस्तर नभएको बताउँदै उनले पुन:प्राइमर कोट गरिने उनले बताए ।


यसअघि पनि गुणस्तरहिन काम गरेको पाइएपछि रमण कन्स्ट्रक्सनका ५ कर्मचारीलाई पक्राउ गरि महानगरपालिकाले कारवाही गरेको थियो । रोडशेष चौक–रानी खण्डमा खानेपानीका पाइप फुटेर काम गर्न समस्या छ । सडकको बिचबिचमा खानेपानीको पाइप फुटेर पानी चुहिरहेको अवस्थामा सडक कालोपत्रे गर्दा गुणस्तर नहुने भन्दै स्थानीयले खानेपानीको समस्या समाधन गर्नसमेत माग गरेका छन् ।


साथै सडकभन्दा नाला होचो भएकाले कालोपत्रे निर्माणपछि नालामापानी र ढल पास हुन समस्या हुने देखिएको स्थानिय राधेश्याम कट्टेल बताउँछन् । आफूहरूले यस विषयमा ठेकेदार कम्पनिलाई पटक–पटक भनेको भए पनि कुनै सुनुवाइ नभएको उनले बताए । उक्त खण्डमा साढे ४ किमि नाला निर्माण गरिएको बताउँदै ठेकेदार कम्पनीका प्रमोद साहले होचो भएको ठाउँमा नाला उठाउने काम भइरहेको बताए ।


प्रकाशित : मंसिर ४, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?